राष्ट्रिय गौरवको बूढीगण्डकी जलविद्युत् आयोजना, १ रोपनीको १ करोड १२ लाख रुपियाँ मुआब्जा निर्धारण



सीताराम अधिकारी, धादिङ ।

ष्ट्रिय गौरवको योजनाका रूपमा रहेको बूढीगण्डकी जलविद्युत् आयोजनाको डुबान क्षेत्रमा पर्ने जग्गाको आज (सोमबार) धादिङतर्फको आरुघाट बजार र खहरे बजार क्षेत्रको मुआब्जा निर्धारण गरिएको छ।

१ हजार २ सय मेगावाट क्षमतामा निर्माण गर्ने योजनाका साथ थालिएको योजनाको डुबान क्षेत्रमा पर्ने बजार क्षेत्रको मुआब्जा विवादका कारण यस अघि निर्धारण हुन सकेको थिएन।

मध्यपहाडी लोकमार्गमा पर्ने आरुघाट बजारको जग्गाको प्रतिरोपनी १ करोड १२ लाख निर्धारण गरिएको छ। यो आरुघाट बजारको मुख्य बजारमा पर्ने जग्गाको रकम हो।

प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा हुने जग्गा प्राप्ति ऐन २०३४ दफा ३ बमोजिम प्रमुख जिल्ला अधिकारी आसमान तामाङको अध्यक्षतामा बसेको बैठकले स्थलगत निरीक्षण, स्थानीय वासीसंगको छलफल, र यसअघि गठित उपसमितिले दिएको प्रतिवेदनका आधारमा बजार क्षेत्रको जग्गाको मुआब्जा निर्धारण गरिएको हो।

आरुघाट बजार र खहरे बजारलाई छुट्टाछुट्टै वर्गिकरण गरी यसभित्र पनि मुख्य बजार, सहायक सडक गोरेटोबाटो र अन्य जग्गाको मुआब्जा निर्धारण गरिएको प्रमुख जिल्ला अधिकारी आसमान तामाङले राससलाई बताउनुभयो।

यसैगरी मदनराज थापा टोलदेखि पानी जाँच्ने घरसम्मको डक र विशालनगर चोकदेखि रामबहादुर ढकालको घरसम्मको सडकको जग्गालाई प्रतिरोपनी ९६ लाख रुपियाँ रिङने चौतारादेखि स्वामीचौतरा जानेबाटो पक्की पुलसम्मको बाटोको ८० लाख रुपियाँ प्रतिरोपनी जग्गाको मुआब्जा निर्धारण गरिएको छ।

मुख्य सडकको स्वामीचौताराको अन्तिम घरसम्मको घडेरी, शाखा सडकका घडेरी प्रतिरोपनी ४० लाख, नक्सामा गोरेटो बाटो भएको घडेरी जग्गाको प्रतिरोपनी २४ लाख रुपियाँ घडेरीबाट बाहिर भएका वा ६० फिट बाहिर भएका जग्गाको ८ लाख रुपियाँ प्रतिरोपनी मुआब्जा दिनेगरी आरुघाट बजारको मुआब्जा टुङ्ग्याइएको छ।

यता खहरे बजारको मध्यपहाडी लोकमार्गमा पर्ने मुख्य सडकबाट ६० फिटसम्मको जग्गालाई प्रतिरोपनी १७ लाख ६० हजारदेखि १९ लाख २० हजारसम्मका र सडकबाट ६० फिट पछाडिको ४० फिटसम्मको जग्गालाई १४ लाख ४० हजारदेखि १७ लाख ६० हजारसम्म मुआब्जा निर्धारण गरिएको छ।

दुई दशमलब ५ आनासम्म जग्गा रहेको र सम्पूर्ण जग्गा डुबानमा पर्ने भएमा निर्धारित मूल्यको १५ प्रतिशत र २ दशमलब ५ आनादेखि ५ आनासम्म जग्गा भइ सबै जग्गा डुबानमा परेका जग्गाधनीलाई निर्धारित मूल्यको १० प्रतिशत थप रकमसमेत हुने गरी मुआब्जा विरण गर्ने गरी निर्धारण समितिले मुआब्जा टुंग्याएको छ।
बनेका संरचनाहरु र घरहरुको मूल्यांकन गर्ने, ह«ास कट्टी नगरी क्षतिपूर्ति दिनका लागि मन्त्रिपरिषद्मा पठाइएको छ। ऊर्जा मन्त्रालयले मुआब्जा छिटो निर्धारण गर्न पत्र लेखेको र बूढीगण्डकी जलविद्युत् परियोजनाले पत्र लेखी मुआब्जा निर्धारण समितिलाई आग्रह गरेलगत्तै मुआब्जा टुंग्याइएको थियो।

मुआब्जा निर्धारण गर्न आरुघाट बजारमा ९ सय १६ रोपनी र खहरे बजारमा २ सय ४५ रोपनी जग्गा गरी १ हजार १ सय ६१ रोपनी जग्गाको मुआब्जा एक वर्षदेखि निर्धारण हुन सकेको थिएन। अहिले यो जग्गाको मुआब्जा निर्धारण गरेपछि करिब मुआब्जामा ४ अर्ब खर्च हुने अनुमान गरिएको छ।

प्रतिक्रिया दिनुहोस्