निगमले भ्रमण वर्षको प्रवद्र्धनात्मक कार्यक्रम चलाउने



काठमाडौं, (नेस)।
नेपाल वायुसेवा निगमले नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी रणनीतिक कार्ययोजनालाई परिणाममुखी बनाउने भएको छ। निगममको कार्यकारी समितिको बैठकले निगमका सम्पूर्ण विमान र निगमको स्वामित्वमा रहेका सबै सवारी साधनमा नेपाल भ्रमण वर्ष २०२० का लोगो अंकित गर्ने निर्णय गरेको छ।
भ्रमण वर्षलाई उपयोग गर्न निगमले विज्ञसहितको डिजिटल मिडिया एवम् कन्टेन्ट बनाई पर्यटक आकर्षित गर्ने कार्यनीति तयार गरेको छ। नेपाल भ्रमण वर्ष २०२० को लक्ष्य र व्यावसायिक प्रवद्र्धनलाई केन्द्रित गरी निगमले डिजिटल मिडिया सेलबाट फेसबुक, ट्वीटर, इन्स्ट्रग्राम र यूट्युवमा पर्यटन प्रवद्र्धनसम्बन्धी सामग्री प्रसारण गर्नेछ।
निगमले गुणस्तरीय सेवासहित पर्यटक आकर्षण गर्न केन्द्रीय कार्यालयस्थित बिक्री कक्ष रातिको ८ बजेसम्म खुल्ला राख्ने भएको छ। काठमाडौंका होटेल तथा टुर अपरेटर व्यवसायीसंँग सम्झौता गरी विदेशबाट आएका यात्रुलाई निगमका बाह्य स्टेसनबाट प्याकेजमा टिकट बिक्रीको व्यवस्था गरिने निगमले जनाएको छ।
भ्रमण वर्ष २०२० लक्षित गरी निगमले थप कार्यक्रम बनाउन पाँच जना निर्देशक सम्मिलित समिति गठन गरेको छ भने मिडिया/पर्यटक सहजिकरणका लागि एक उपसमिति निर्माण गरी पाक्षिक प्रगति मूल्यांकन गरी थप कार्यक्रम बनाउन निगमले निर्णय गरेको छ।

प्रतिक्रिया दिनुहोस्