पूर्व बैंकरलाई एक करोड धरौटीमा छोड्न आदेश 



नेपाल समाचारपत्र, काठमाडौं।

कर्जा दुरूपयोग गरेको आरोपमा पक्राउ परेका बैंक अफ काठमान्डूका पूर्वप्रमुख कार्यकारी अधिकृत अजय श्रेष्ठलाई सर्वोच्च अदालतले धरौटीमा रिहा गर्न आदेश दिएको छ। आइतबार न्यायाधीशद्वय सपना मल्ल प्रधान र कुमार रेग्मीको संयुक्त इजलासले एक करोड रुपियाँ धरौटीमा रिहा गर्न आदेश दिएको हो।

सो मुद्दामा श्रेष्ठसँगै पक्राउ परेका बैंकका पूूर्वकर्मचारी किरण बोहरालाई पनि एक करोड रुपियाँ धरौटीमा छोड्न आदेश दिएको छ। दुवैले धरौटीवापतको रकम बुझाएपछि मात्रै रिहा हुने छन्।

श्रेष्ठ बैंक अफ काठमाण्डूको प्रमुख कार्यकारी अधिकृत हुँदा श्रेष्ठले नक्कली फाइलमा हस्ताक्षर गरेर ऋण दिएको आरोपमा उच्च अदालत पाटनले पुर्पक्षमा थुनामा राख्ने आदेश दिएको थियो। सो आदेशका विरुद्ध श्रेष्ठ सर्वोच्च गएका थिए। सर्वोच्च अदालतले उच्च अदालत पाटनको आदेशसमेत खारेज गरेको छ।

२०७१ सालमा सुरेन्द्र श्रेष्ठले बैंक अफ काठमान्डूबाट झापाको बिरिङखोलामा पर्ने जग्गालाई धितोमा राखी ५ करोड रुपियाँ ऋण लिएको घटनामा श्रेष्ठ मुछिएका थिए। ऋणको साँवा ब्याज भुक्तानी नहुँदा खोजीनीति हुँदा खोलाको जग्गा धितोमा रहेको खुलासा भएको थियो।

जसका कारण आठ वर्ष बीओकेको सीईओ भएका श्रेष्ठ मुछिएका हुन्। तीन दशकभन्दा बढी बैंकिङ क्षेत्रमा कार्य गरेका श्रेष्ठ २०७४ असारमा बीओकेबाट बाहिएका थिए।

बैंकिङ क्षेत्रमा जोखिम व्यवस्थापनमा दक्ष मानिएका श्रेष्ठ नै नक्कली धितोमा ऋण प्रवाह गरेको आरोपमा जेल गरेपछि बैंकिङ क्षेत्रमा तरङ मच्चिएको थियो। श्रेष्ठलाई छुटाउन मुद्दा लड्नका लागि बैंकरहरुले आर्थिक संकलनसमेत गरेका थिए।

प्रतिक्रिया दिनुहोस्