वीरगन्जमा मधेसकै पहिलो महोत्सव शुरू



वीरगन्ज, (नेस)।

तराई, पहाड, हिमालको उत्सव भन्ने नारासहित मधेसकै पहिलो बृहत् महोत्सव नेपाली चलचित्र स्वर्णिम महोत्सव–२०७६ बिहीबारबाट वीरगन्जमा शुरू भएको छ।

महोत्सव राष्ट्रपति विद्यादेवी भण्डारीले एक समारोहका बीच शुभारम्भ गरेकी हुन्। कार्यक्रममा प्रदेश–२ का नवनियुक्त प्रदेश प्रमुख तिलक परियार, सूचना प्रविधि तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटा, नेपाल उद्योग वाणिज्य संघकी अध्यक्ष भवानी राणालगायत दर्जन बढी नेपाली कलाकार तथा बलिउड अभिनेता गोविन्दाको समेत सहभागिता रहेको थियो।

वीरगन्जस्थित आदर्शनगर रंगशालामा आयोजित महोत्सव ३ दिनसम्म चल्नेछ। बिहीबार महोत्सव शुभारम्भका दिन बिहान घण्टाघर चोकदेखि महोत्सवस्थल रंगशाला चोकसम्म प्रभातफेरीसमेत गरिएको थियो।

प्रभातफेरीमा कलाकर्मीहरू नीर शाह, भुवन केसी, झरना थापा, सुनील थापा, वसुन्धरा भुसाल, सरोज खनाल, निरुता सिंह, दीपकराज गिरी, दीपाश्री निरौला, वर्षा राउत, वर्षा शिवाकोटीलगायतका कलाकार सहभागी थिए।

कार्यक्रमको शुभारम्भ गर्दै राष्ट्रपति भण्डारीले चलचित्र महोत्सवले नेपाली चलचित्रको विकासका लागि सहयोग पुग्ने विश्वास व्यक्त गरिन्।

प्रतिक्रिया दिनुहोस्