डोल्पामा नेपाल लाइफको शाखा



नेपाल समाचारपत्र, काठमाडौं।

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले डोल्पाको दुनैमा शाखा कार्यालय उद्घाटन गरी कारोबार शुरु गरेको छ। बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागार्इंले उक्त शाखाको उद्घाटन गर्नुभयो। उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष चापागाईंले जीवन बीमाले जोखिम बहन गर्नुका साथै बचत गर्ने बानीको पनि विकास हुने भएकाले जोखिम बहनको साथै बचतसमेत हुने बताउनुभयो।

देशव्यापी रुपमा जीवन बीमा क्षेत्रको बजार विस्तारमा नेपाल लाइफले महत्वपूर्ण योगदान पुर्याएको र डोल्पा जस्ता नेपालका अन्य दुर्गम क्षेत्रमा पनि आप्mनो सेवा पुर्याइरहेकोमा नेपाल लाइफलाई धन्यवाद व्यक्त गर्नुभयो। अध्यक्ष चापागार्इंले हिमाली जिल्लाको दुरदराजमा पुगेर न्यून आय भएका जनतालाई पनि बीमाको दायरामा ल्याउन सुझाउनु भयो।

अध्यक्ष चापागाईंले बीमाको महत्वबारे हिमाली क्षेत्रका बासिन्दालाई बुझाउन आवश्यक रहेको भन्दै डोल्पामा नेपाल लाइफको सेवा प्रवाहले हिमाली क्षेत्रमा बीमाको उपस्थिति बलियो हुने विश्वास व्यक्त गर्नु भयो।

कार्यक्रममा नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत विवेक झाले तिब्र गतिले बीमा व्यवसाय विस्तार भइरहेको परिपेक्षमा एक तिहाई बजार हिस्सा नेपाल लाइफले ओगट्न सफल भई देशको बीमा व्यवसायलाई बढाउन महत्वपूर्ण योगदान पुर्याउन सफल भएको जनाउनुभयो।

साथै यो सफलता प्राप्त हुनुमा सबैको विश्वास र भरोसा रहेको बताउँदै, सो विश्वास र भरोसा सदैव कायम राख्न नेपाल लाइफ हरपल लागि पर्ने प्रमुख कार्यकारी अधिकृत झाले प्रतिवद्धता व्यक्त गर्नुभयो।कम्पनीको चुक्तापुँजी ५ अर्ब ५० करोड रहेको छ भने लगानी ७७ अर्ब ५४ करोड रुपियाँ रहेको छ।

त्यस्तै कम्पनीको जीवन बीमा कोष ७२ अर्ब २४ करोड रुपियाँ र शेयरधनी कोष ८ अर्ब ५७ करोडभन्दा बढी रहेको छ। कम्पनीले यस आर्थिक वर्षको पहिलो तीन महिनामा जम्मा ७ अर्ब ९० करोड बीमा शुल्क संकलन गरेको छ।

१ लाख ३४ हजार ५ सय ६३ प्रशिक्षित अभिकर्ता रहेको कम्पनीका १ सय ९३ शाखा तथा उप शाखा रहेका छन्। हालसम्म कम्पनीबाट स्वदेश र विदेश गरी २६ लाख ६३ हजार ९ सय ८१ व्यक्ति यस कम्पनीमा बीमित भइसकेका छन्।

प्रतिक्रिया दिनुहोस्