गत वर्षभन्दा मूल्यवृद्धि बढ्यो



नेपाल समाचारपत्र, काठमाडौं।

चालू आर्थिक वर्षको पहिलो दुई महिनामा काठमाडौं उपत्यकामा ७.९० प्रतिशत, तराईमा ५.६९ प्रतिशत, पहाडमा ५.०९ प्रतिशत र हिमालमा ५.०२ प्रतिशत मुद्रास्फीति रहेको छ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति (आर्थिक वर्ष २०७६/७७ को दुई महिनाको तथ्यांकमा सो तथ्य उल्लेख छ।

भदौमा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ६.१६ प्रतिशत रहेको छ। अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ३.८६ प्रतिशत रहेको थियो। समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ६.५१ प्रतिशत र गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति ५.८९ प्रतिशत रहेको छ।

समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूह अन्तर्गत मुख्यतः तरकारी, फलफूल, मासु तथा माछा र मसला उपसमूहको मूल्य वृद्धि उच्च रहेको छ।त्यसैगरी गैरखाद्य तथा सेवा समूह अन्तर्गत मुख्यतः लुगा तथा जुत्ता, घरायसी उपयोगिताका वस्तु तथा सेवा र शिक्षा उपसमूहको मूल्य वृद्धि उच्च रहेको छ।

समीक्षा महिनामा नेपालको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ६.१६ प्रतिशत रहेकोमा भारतमा सेप्टेम्बर महिनामा यस्तो मुद्रास्फीति ३.९९ प्रतिशत रहेको छ। अघिल्लो वर्षको सोही महिनामा नेपालको मुद्रास्फीति ३.८६ प्रतिशत र भारतको ३.७० प्रतिशत रहेको थियो।

२०७६ भदौमा वार्षिक बिन्दुगत थोक मुद्रास्फीति ४.६५ प्रतिशत रहेको छ।अघिल्लो वर्षको सोही महिनामा उक्त मुद्रास्फीति ८.७० प्रतिशत रहेको थियो। समीक्षा महिनामा प्राथमिक वस्तु समूहको थोक मुद्रास्फीति उच्च रहेको छ।

समीक्षा महिनामा यातायात, उपकरण तथा पार्ट्स, रासायनिक वस्तु र खाद्य पदार्थ उपसमूहको थोक मूल्य वृद्धि उच्च रहेको छ। बृहत् आर्थिक वर्गीकरणको आधारमा हेर्दा, समीक्षा महिनामा उपभोग्य वस्तु, मध्यवर्ती वस्तु र पँुजीगत वस्तुको थोक मूल्यवृद्धि क्रमशः ७.४१ प्रतिशत, ३.४० प्रतिशत र २.४६ प्रतिशत रहेको छ।

प्रतिक्रिया दिनुहोस्