सडक जीर्ण हुँदा मुस्ताङ जाने पर्यटकलाई सास्ती



नेपाल समाचारपत्र, पर्वत।

सडक स्तरोउन्नतीको काम समयमा नै सम्पन्न नहुँदा हिमालपारिको जिल्ला मुस्ताङ जाने पर्यटकले सास्ती बेर्होदै आएका छन्।

चीनको सिमाना कोरल्ला नाकासम्म पुग्न बेनी–जोमसोम सडक निर्माण भएको भए पनि स्तरोन्नतिमा भएको ढिला हुँदा पर्यटकले सास्ती बेर्होन बाध्य भएका हुन्।

असोज–कार्तिक मुस्ताङ घुम्ने सबैभन्दा व्यस्त सिजन हो। मुक्तिनाथको दर्शन गर्ने, कागबेनीमा पितृलाई पिण्डदान गर्नेदेखि मुस्ताङको प्राकृतिक सौन्र्दय अवलोकन गर्न यो सिजन उपर्युक्त मानिन्छ। मुक्तिनाथ दर्शनका लागि वार्षिक ३ लाखभन्दा बढी पर्यटक पुग्ने गर्दछन्।

साँघुरो, जीर्ण तथा घुम्ती नमिलेको सडकमा जोखिम मोलेर यात्रा गर्नुपर्ने बाध्यता रहेको मुस्ताङ पुगेर फर्किएका आन्तरिक पर्यटक हेटौंडाका प्रविण कटुवालले गुनासो गर्नुभयो।

‘मुस्ताङ पुगेपछि स्वर्गमै पुगेको अनुभूति हुन्छ,’ उहाँले भन्नुभयो–‘सडकको अवस्थाका कारण मुस्ताङ पुग्नै धेरै सास्ती बेर्होनुपर्दोरहेछ।’

विभिन्न ठाउँमा पहिरो खसेर दैनिक तीन/चारपटक सडक अवरुद्ध हुन्छ। घन्टौंसम्म जाम हुँदा यात्रु समयमा गन्तव्यमा पुग्न सकेका छैनन्। ठाउँ)ठाउँमा गाडी परिवर्तन गरेर गन्तव्यमा पुग्नु परेको यात्रुको गुनासो छ।

पर्यटकीय हिसाबले काठमाडांै, पोखरापछि धेरैको रोजाईमा पर्ने ठाउँ हो। सडक सहज हुने हो भने मुस्ताङमा अहिलेको भन्दा दोब्बर पर्यटक एक वर्षकै अन्तरालमा भित्रिन सक्ने पर्यटन व्यवसायी कृष्णप्रसाद श्रेष्ठ बताउनुहुन्छ।

पर्वतको कुस्माका होटल व्यवसायीसमेत रहनु भएका श्रेष्ठका अनुसार पर्वतका होटल व्यवसायदेखि पर्यटकीय क्षेत्र पनि मुस्ताङ जाने पर्यटकको ट्रान्जिट भएकै कारण भरिभराउ छन्।

‘मुस्ताङमा पर्यटकको संख्या बढाउन मध्यपहाडी लोकमार्गको पोखरा बागलुङ खण्ड र कालीगण्डकी करिडोरको मालढुंगादेखि कोरल्लासम्मको सडक समयमा नै सम्पन्न गर्न जरुरी छ।’ उहाँले भन्नुभयो–‘सडकमात्रै सहज भए पर्यटक दोब्बर भैहाल्छन्।’

म्याग्दीको गलेश्वरदेखि मुस्ताङको लेतेसम्मको सडक जोखिमयुक्त छ। बेनी–जोमसोम–कोरला १ सय ८६ किलोमिटर सडकमध्ये बेनी–जोमसोम ७६ किमिलाई ४ प्याकेज र जोमसोम–कोरला खण्डको १ सय १० किमिलाई ११ प्याकेज बनाई सडक विस्तारको काम भइरहेको कालीगण्डकी करिडोर बेनी–जोमसोम–कोरला सडक आयोजनामन प्रमुख मुकुन्द अधिकारीले बताउनुभयो।

बेनी देखि जोमसोमको ३५ किलोमिटर क्षेत्रमा सडक कालोपत्रे गर्नुपर्ने भएपनि पहिरोका कारण सामान्य मर्मत गरेर बस्नुपरेको र अन्य क्षेत्रमा भने काम सन्तोषजनक भएको बताउनुभयो।

गत वर्ष हिउँदमा हिमपात भएको र वर्षा याममा निरन्तर बर्षा भएका कारण दुई महिना पनि राम्रोसंँग काम गर्ने वातावरण बन्न नसकेको भनाइ उहाँको थियो।

‘म्याग्दी खण्डमा भूगोलकै कारण पनि काम गर्न कठिन छ,’ उहाँले भन्नुभयो–‘मुस्ताङ खण्डमा केही स्थानमा बाहेक सडक निर्माण कार्य सहज रुपमा नै अघि बढेको छ।’

प्रतिक्रिया दिनुहोस्