दशगजा छेउमै सर्यो छोटी भन्सार



नेपाल समाचारपत्र, बाँके। नेपालगन्ज भन्सार कार्यालयले यात्रु शाखा जमुनाहामा सारेको छ। दशगजामा रहेको जमुनाहामा यात्रु शाखा सारेकाले अब भारतबाट सामान लिएर आउने सबैले अनिवार्य जाँच पास गर्नुपर्ने भएको छ।

यात्रु शाखा जयसपुरमा रहँदा सामान लिएर नाका पार भइसकेका यात्रु विभिन्न बाटोबाट छिर्ने समस्या थियो। दशगजामै यात्रु शाखा राखिएपछि अब कोही पनि करको दायराबाट भाग्न नसक्ने भएका छन्।

शुक्रबार भन्सारको यात्रु शाखालाई जमुनाहामा राखिएपछि जाँच पास गर्ने ठूलो भीड लागेको थियो। बिहीबार भन्सार कार्यालयले दुई सय जनाको प्रज्ञापन पत्र काटेकोमा यात्रु शाखा जमुनाहामा सारेपछि शुक्रबार चार सय जनाको प्रज्ञापत्र पत्र काटेको नेपालगन्ज भन्सार कार्यालयका प्रमुख शान्तिराम निरौलाले जानकारी दिनुभयो।

‘जमुनाहामा यात्रु शाखा राख्दा राजस्वमा वृद्धि हुने निश्चित भएको छ। भारतबाट आउने जो कोही यात्रु शाखा भएर मात्रै निस्किन पाउँछन्, भन्सार प्रमुख निरौलाले भन्नुभयो, हिजोको आजै दोब्बरले प्रज्ञापन पत्र काटे।’

भन्सार प्रमुख निरौलाका अनुसार, जमुनाहामा रहेको यात्रु शाखा (छोटी भन्सार) ले पाँच हजारसम्मको जाँचपास गर्नेछ। जयसपुरमा रहेको मुख्य कार्यालयले ठूलो गाडीको जाँच पास गर्ने व्यवस्था मिलाइएको छ। निरौलाले सय रुपियाँदेखि पाँच हजारसम्मको सामानको जाँच पास छोटी भन्सारबाट हुने बताउनुभयो।

नाकाबाट ५÷६ सय मिटरको दूरीमा भन्सार कार्यालय रहँदा नाका पार भइसकेका यात्रु बीचका अरू बाटोबाट नेपालगञ्ज निस्किने गरेको गुनासो रहँदै आएको थियो।जमुनाहाबाट भित्र छिरेपछि जमुनाहा गाउँ, जयसपुरका विभिन्न बाटोबाट सामान ‘पास’ हुने गरेको थियो।

अब दशगजामै छोटी भन्सार राखिएपछि त्यसरी जाँच पास नभई सामान भित्रिने समस्या हटेको छ। दशगजा छेउमै राखिएको यात्रु शाखाका कारण लागेको ठूलो भीड दश गजासम्मै पुग्दा सुरक्षाको चिन्ता बढेको छ।

नेपालगञ्जको मुख्य नाकाबाट नै ‘क्यारिङ’ गर्नेले सामान ओसार्ने गरेको व्यापारीको गुनासो रहदै आएको छ। विगतमा नेपालगञ्जमा आधा दर्जन नाकामा भन्सार कार्यालय रहेका थिए। माओवादी द्वन्द्वकालमा ती सबै खाली भएका छन्।

ती आधा दर्जन छोटी नाकालाई सञ्चालन गर्नेतर्फ सरकारले ध्यान दिएको छैन। मुख्य नाकामा कडाई हुँदा छोटी नाकातर्फ तस्करको गन्तब्य हुन सक्ने जानकार बताउँछन्।

प्रतिक्रिया दिनुहोस्