कागज उद्योग स्थापना गर्ने प्रदेश सरकारको तयारी



नेपाल समाचारपत्र, हेटौंडा।पश्चिमी मकवानपुरको मनहरीमा प्रदेश सरकारले कागज उद्योग स्थापना गर्ने भएको छ। आफ्नो पूर्व घोषणाअनुसार प्रदेश सरकारले एकीकृत नमूना बस्ती निर्माण गरी बसोबास व्यवस्थित गर्ने तयारी थालेर काम अगाडि बढाउँदा जग्गा पाउन नसकेको अवस्थामा यस्तो नयाँ योजना सार्वजनिक भएको हो।

प्रदेश–३ सरकारले प्रदेशका ६६ वटै प्रदेश निर्वाचन क्षेत्रमा उद्योगग्राम निर्माण गर्ने बताएको बेला प्रदेश सरकारले निजी क्षेत्रसँगको साझेदारीमा कागज उद्योग स्थापनाको तयारी गरेको हो।

बहुवर्षीय योजनामा राखेर काम गर्ने तयारी गरिएको छ। चालू आर्थिक वर्षमा उद्योगको डीपीआरका लागि ५० लाख छुट्याइएको छ। यसका लागि डीपीआरसहित काम अगाडि बढाइएको छ।

करिब दुई अर्ब रुपियाँ लगानीमा उद्योग स्थापनाको तयारी गरिएको प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री अरूणप्रसाद नेपालले बताउनुभयो।

मन्त्री नेपालले सरकार मात्रैले उद्योग खोल्दा अन्य सरकारी उद्योगको जस्तो हालत हुने भएकाले निजी क्षेत्रसँगको साझेदारीमा उद्योग खोल्ने मोडालिटी बनाइएको स्पष्ट पार्नुभयो।

सरकार र निजी क्षेत्रको शेयर रहने गरी कम्पनी स्थापनाको तयारी गरिएको हो। प्रदेश सरकारले निर्माण गर्न लागेको उद्योगका लागि जग्गा अभाव नहुने मनहरी गाउँपालिका अध्यक्ष एकराज उप्रेतीले विश्वास दिलाउनुभयो।

मनहरीमा सरकारी जमिन नापजाँच गरिएको छ। अन्य सरकारी जमिन अतिक्रमण भएका स्थानमा हटाउने तयारी भएको उहाँले बताउनुभयो। उद्योगको स्थापना कहाँ गर्ने भन्ने टुंगो भइसकेको छैन।

उहाँले सरकारी संरचना मनहरीमा निर्माण गर्न गाउँपालिकामा अतिक्रमित जग्गा खोजी गरेर अतिक्रमण हटाइने बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्