युएईमा कार्यरत नेपालीको पारिश्रमिक वृद्धि गर्न आग्रह



काठमाडौं, (नेस)।श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्णराज विष्ट र संयुक्त अरब ईमिरेटस (युएई) का मानव संशाधन मन्त्री नासीर बिन थानी अल हमालीबीच बैठक भएको छ।

बुधबार युएईको दुबईमा सम्पन्न बैठकमा नेपालबाट युएई जाने नेपाली श्रमिकको हित प्रवद्र्धन गर्ने विविध विषयमा छलफल भएको छ।

यसका साथै नेपाल र युएईबीच गत जुनमा सम्पन्न भएको श्रम सम्बन्धी समझदारीपत्रलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न सो समझदारी पत्रमा उल्लेख भए बमोजिमको संयुक्त कार्यदलको पहिलो बैठक आगामी नोभेम्बरको पहिलो साता हुने भएको छ।

बैठकमा युएईमा कार्यरत नेपालीको पारिश्रमिकलाई समयानुकुल वृद्धि गर्ने विषयका साथै युएईमा आउने नेपाली कामदारको सीप विकासका लागि नेपाल सरकार र युएई सरकारबीच सहकार्य गर्ने विषयमा समेत कुराकानी भएको छ।

उक्त बैठकमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव विनोद केसी, यूएईका लागि नेपाली राजदूत कृष्णप्रसाद ढकाललगायत प्रतिनिधिमण्डलका अन्य अधिकारी सहभागी हुनुभएको थियो।

मन्त्री विष्ट अक्टोबर १६–१७ मा युएईमा आयोजित अबुधाबी डाइलगको पाँचौ मन्त्रीस्तरीय बैठकमा भाग लिन तीन सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै दुबई हुनुहुन्छ।

प्रतिक्रिया दिनुहोस्