नेपालको पुँजी बजार आधुनिकीकरणतर्फ

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं।नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा. रेवतबहादुर कार्कीले आफ्नो कार्यकालमा डिम्याट खाता र आस्बा प्रणाली लागू गरेर घन्टौ लाईन बस्नुपर्ने समस्या हटाएको दाबी गर्नुभएको छ।

बुधबार आफ्नो कार्यकालमा भएका १० काम सार्वजनिक गर्दै उहाँले आफूले एक नेपाली एक डिम्याट खाता सञ्चालन गर्नु आफ्नो कार्यकालको मुख्य काम भएको बताउनुभएको हो।चार वर्षे कार्यकाल सकिएर बिहीबारमा हुँदै गर्दा उहाँले पुँजी बजार सुधारका लागि विभिन्न कामहरू गरेको उल्लेख गर्नुभएको छ।

उहाँले न्यूनतम १० कित्ता शेयर पाउने व्यवस्थामार्फत बजार समावेशी गराएको, एकचोटी एफपीओ निश्काशन गरेपछि पँँच वर्षसम्म निष्काशन गर्न नपाउने व्यवस्था गरेको लगायतका काम सार्वजनिक गर्नुभयो।

पत्रकारहरूसँग कुरा गर्दै उहाँले अटोमेसनको शुरू गरी तीन दिनभित्र नामसारी राफसाफ हुने व्यवस्था, अनलाइन कारोबार, धितोपत्र कारोवारमा दलाल शुल्क ४० प्रतिशत घटाएको, लगानीकर्ताले मार्केट डेप्थ हेर्न सक्ने व्यवस्था गरेको पनि उल्लेख गर्नुभयो।

कतिपय सुधारका काम पाइपलाइनमा रहेका भन्दै उहाँले शेयर बजारलाई प्रविधिमैत्री बनाउने वास्तविक क्षेत्रलाई पुँजी बजारमा भित्र्याउने तथा हेज फन्ड, प्राइभेट इक्विटीलगायतका नयाँ लगानीका उपकरण खुला गरेको उहाँले उल्लेख गर्नुभयो।

आफ्नो कार्यप्रगतिमा उहाँले प्राथमिक बजार सुधार तथा विकास, दोस्रो बजार सुधार तथा विकास, लगानीकर्ताका प्रत्यक्ष समस्या समाधान लगायतका बुँदा उल्लेख गर्दै आफूले महत्वूर्ण सुधार गरेको बताउनुभएको छ।

उहाँले ब्रोकर र मर्चेन्ट बैंकिङ सेवा, क्षेत्र विस्तार सुदृढीकरण, बोर्डको संस्थागत क्षमता अभिवृद्धि, नयाँ वित्तीय उपकरणर सेवाको व्यवस्था गरेको, कानुनी संरचनाको विकास तथा सुदृढीकरणको साथै आर्थिक जरिवनासहितको कानुनी कारबाही गरेको बताउनुभएको छ।

उहाँले आफ्नो कार्यकालमा बास्तविक क्षेत्रका कम्पनीलाई धितोपत्र बजारमा ल्याउने प्रोत्साहनमुलक प्याकेज र सूचीकृत कम्पनीमा सुशासन निर्देशिका लागू गरेको, बोर्डलाई अन्तर्राष्ट्रिय मान्यता दिएको तथा अन्य सुधार र विकासका काम गरेको कार्यप्रगति प्रतिवेदनमा उल्लेख गर्नुभएको छ।

उहाँले बैंकको सहायक कम्पनीलाई ब्रोकर लाइसेन्स दिई प्रतिस्पर्धात्मक सेवा प्रदान गर्ने काम अन्तिम चरणमा रहेको जानकारी दिनुभयो। यस्तै बोर्डको प्रशिक्षण प्रतिष्ठान, प्रादेशिक कार्यालयको स्थापनालगायतको काम भइरहेको जनाउनुभयो।

यस्तै उहाँले ऋणपत्र बजारलाई आधुनिक र सक्रिय बनाउने काममा जटिलता रहेको बताउनुभयो। नियमन निकायसहित बजार सहभागीको क्षमता अभिवृद्धि गरी नेपालको धितोपत्र बजारलाई अन्तर्राष्ट्रिय रुपमा स्तरोन्नति गराउन मुख्य चुनौती रहेको उहाँको भनाइ छ।

 

Skip This