नेपालमा पोषणसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन हुने



काठमाडौं, (नेस)।‘मानव र पृथ्वीलाई सँगै पोषित गर्दै’ भन्ने नाराका साथ पोषण बिस्तार अभियान ‘स्केलिङ अप न्युट्रिशन – सन मुभमेन्ट’ को अन्तर्राष्ट्रिय सम्मेलन आगामी कात्तिक १८ देखि २१ सम्म काठमाडौंमा हुने भएको छ।

नेपाल सरकार र सन मुभमेन्टको संयुक्त आयोजनामा हुन लागेको यस सम्मेलनमा ८० भन्दा बढी देशका प्रतिनिधि सहभागी हुनेछन्। सम्मेलनमा संयुक्त राष्ट्रसंघीय निकायका प्रमुखहरू र क्षेत्रीय सँगठन, नागरिक समाज, विकास साझेदार र निजी क्षेत्रका प्रतिनिधि पनि सहभागी हुनेछन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने सम्मेलनमा युनिसेफकी कार्यकारी निर्देशक र सन लिड ग्रुपकी अध्यक्ष हेन्रिता एच फोर, संयुक्त राष्ट्रसँघकी सहायक महासचिव तथा सन मुभमेन्टकी संयोजक गेर्डा भर्बर्ग र विभिन्न देशका राष्ट्र तथा सरकार प्रमुख र मन्त्रीले प्रमुख भूमिका निर्वाह गर्नेेछन्।

सन मुभमेन्टको शुरुवाती चरणको सदस्यकै रुपमा सन् २०११ मा सहभागी भएपछि नेपालले कुपोषण घटाउने कार्यमा उल्लेख्य प्रगति हासिल गरेको छ। नेपाल सरकारको नेतृत्वमा हुने यो अन्तर्राष्ट्रिय सम्मेलनमा संसारभरका सयभन्दा बढी सहभागीले न्युनपोषण र मोटोपनसहित कुपोषण अन्त्य गर्न विश्वभरि प्रभावकारी भइरहेका प्रयासबारे छलफल गर्नेछन्।

यो सम्मेलनले मानव र पृथ्वीलाई नै सुपोषित गर्ने रुपान्तरणकारी सरकारी प्रतिबद्धताहरूलाई सन् २०२० डिसेम्बरमा हुने ‘वृद्धिका लागि पोषण टोकियो शिखर सम्मेलन’लाई समेत दृष्टिगत गरी छलफल गर्ने अवसर उपलब्ध गराउनेछ।

आर्थिक र सामाजिक विकासको मुटु नै पोषण हो। असमानता घटाउने र सबैको लागि गरिबी उन्मुलन गर्ने प्रमुख उपाय पनि पोषण नै हो। यी तथ्यका बाबजुत संसारभर मर्ने बालबालिकामध्ये आधा जति कुपोषणका कारण आफ्नो जीवन गुमाउन पुग्छन्।

कमसल आहार नै मृत्युको प्रमुख कारण हो जसले सुर्ती सेवन, उच्च रक्तचाप वा अन्य स्वास्थ्य समस्याले भन्दा बढी ज्यान लिन्छ। नेपालको नेतृत्वमा हुने पोषण बिस्तार अभियानको यो अन्तर्राष्ट्रिय सम्मेलनले पोषणक्षेत्रमा काम गर्ने प्रमुख सरोकारवालाहरूलाई एक ठाउँमा ल्याई सबै प्रकारका कुपोषणलाई इतिहासमा सीमित गर्दै दीगो विकास लक्ष्य प्राप्तितर्फ उन्मुख गराउन महत्वपूर्ण योगदान गर्नेछ।

प्रतिक्रिया दिनुहोस्