नेपाल–चीन सम्बन्ध नयाँ उचाइमा

२० बुँदामा सम्झौता/समझदारी, विकास अभियानमा साझेदारी



नेपाल समाचारपत्र, काठमाडौं। चीनका राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणका क्रममा भएको सम्झौता/समझदारीले नेपाल–चीन सम्बन्ध नयाँउचाइमा पुगेको छ।

राष्ट्रपति सीको नेपाल भ्रमणका क्रममा नेपाल र चीनबीच भएका २० बुँदे सम्झौता/समझदारी र विकास अभियानका साझेदारीले दुई देशबीचको विकासमा थप टेवा पुग्ने विश्वास बढेको छ।

उक्त भ्रमणका क्रममा दुई देशबीच विभिन्न सम्झौता/समझदारी भएका हुन्। दुई देशबीच औपचारिक वार्ता सम्पन्न भएपछि प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति सीको उपस्थितिमा उक्त सम्झौता/समझदारीहरू भएका थिए।

नेपाल सरकार र चीन सरकारका उच्च अधिकारीले सोमबार नै हस्ताक्षर गरी ती सम्झौता/समझदारीपत्र आदानप्रदान गरेका थिए।

यस्तै नेपालको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र चीनको यातायात मन्त्रालयबीच नेपाल–चीन सीमापार रेल्वे परियोजनाको सम्भाव्यता अध्ययन गर्ने सम्झौता भएको छ।

भूपरिवेष्टित होइन, भू–जडितनेपाललाई भूपरिवेष्टित देशबाट भू–जडित देश बन्ने सपना पूरा गराउन सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै चिनियाँराष्ट्रपति सी जिनपिङ आइतबार स्वदेश फर्किनुभएको छ। नेपालको दुईदिने राजकीय भ्रमणका क्रममा राष्ट्रपति सी नेपालको भविष्यप्रति आशा जगाउने, दुई देशबीचको मित्रता बढाउने र सडक सञ्जाल विस्तारमा केन्द्रित रहनुभएको विश्लेषकहरूले बताएका छन्।
पहिलोपटक नेपाल आउनुभएका राष्ट्रपति सीको राष्ट्रपति भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली र प्रमुख प्रतिपक्ष दलका नेता शेरबहादुर देउवासँगको अलगअलग भेट सोही विषय केन्द्रित रहेको थियो।
नेपालको भविष्य जगाउने, मित्रता भावना बढाउने सञ्जाल विस्तारको हिसाबले भ्रमण महत्वपूर्ण रहेको परराष्ट्रविद् हिरण्यलाल श्रेष्ठको भनाइ छ। राष्ट्रपति सीको अभिव्यक्तिमा यी तीन विषयलाई निकै जोड दिइएको पनि उहाँले बताउनुभयो।

नेपाल र चीनबीच भएको सम्झौतामा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र चीनको यातायात मन्त्रालयबीच नेपाल चीन सीमापार रेल्वे परियोजनाको सम्भाव्यता अध्ययन गर्ने सम्झौता भएको छ।

शनिबार नेपाल आएका राष्ट्रपति सीले रात्रीभोजलाई सम्बोधन गर्ने क्रममा रेल्वेको सम्भाव्यता अध्ययन गरिने बताउनुभएको थियो।चीनको केरुङबाट काठमाडौंसम्म ल्याउने भनिएको रेलमार्गको पूर्वसम्भाव्यता अध्ययन भने यसअघि नै भइसकेको छ।

पूर्वसम्भाव्यता अध्ययन टोलीले भौगोलिक कठिनाइ र खर्चिलो हुने भए पनि रेलमार्ग बनाउन असम्भव भने नभएको निष्कर्ष निकालेको बताइएको छ।

‘राष्ट्रपति सीको भ्रमण र भएका सहमतिले नेपालले पूर्वाधार विकासमा लाभ लिन सक्ने माहोल बनेको छ।’ –चीनका लागि नेपालका पूर्वराजदूत महेश मास्केले भन्नुभयो।

‘राष्ट्रपति सीको नेपाल भ्रमणले दुई देशबीचको सम्बन्धले नयाँउचाइ र गतिशीलता प्रदान गरेको छ।’ –प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै भन्नुभयो।आइतबार दिउँसो राष्ट्रपति सीलाई त्रिभुवन विमानस्थलमा बिदाइ गरेलगत्तै सामाजिक सञ्जाल ट्वीटरमा प्रधानमन्त्री ओलीले सो भनाइ लेख्नुभएको हो।

प्रधानमन्त्री ओलीले लेख्नुभएको छ ‘मित्रराष्ट्र जनवादी गणतन्त्र चीनका महामहिम राष्ट्रपति सी चिनफिङको दुई दिवसीय ऐतिहासिक नेपाल भ्रमण भव्यरूपमा सम्पन्न भएको छ।’

प्रधानमन्त्री ओलीले नेपाल भ्रमण गरी नेपाल र नेपाली जनताप्रति देखाउनुभएको सद्भाव र सदिच्छाका लागि सीप्रति आभार व्यक्त गर्नुभयो।‘भ्रमणलाई अभूतपूर्वरूपमा सफल पार्न लागिपर्नुहुने सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइप्रति हार्दिक धन्यवाद ज्ञापन गर्दछु।’ –प्रधानमन्त्रीले भन्नुभएको छ।

यसअघि प्रधानमन्त्री ओली र चीनका राष्ट्राध्यक्षको तहमा प्रतिनिधिमण्डलस्तरीय औपचारिक वार्ता भएको थियो। चीनका राष्ट्रपति सी र प्रधानमन्त्री ओलीले आआफ्नो मुलुकको प्रतिनिधित्व गर्नुभएको उक्त वार्तामा नेपाल–चीन सम्बन्धका सबै पक्षमा केन्द्रित रहेर विचारविमर्श भएको थियो। वार्तापछि दुई देशबीच २० बुँदे सहमति भएको थियो।

शनिर अपराह्न पौने ५ बजे काठमाडौंमा ओर्लिनुभएका सी आइतबार दिउँसो सवा २ बजेपछि स्वदेश फर्किनुभएको हो। राष्ट्रपति भण्डारीले आफ्ना चिनियाँसमकक्षी सीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा बिदाइ गर्नुभयो।

यसैगरी चिनियाँविशिष्ट अतिथिलाई उपराष्ट्रपति नन्दबहादुर पुन र प्रधानमन्त्री केपी शर्मा ओलीले बिदाइ गर्नुभयो।चिनियाँराष्ट्रपतिको बिदाइका लागि विमानस्थलमा राष्ट्रियसभाका अध्यक्ष, उपप्रधानमन्त्रीद्वयसहित मन्त्रिपरिषद्का सदस्य, उपसभामुख, प्रदेश नं ३ का मुख्यमन्त्री, संवैधानिक अंगका प्रमुख तथा पदाधिकारी, सरकारका विशिष्ट श्रेणीका अधिकृत, चीनका लागि नेपाली राजदूत र नेपालका लागि चिनियाँराजदूत तथा यहाँस्थित चिनियाँदूतावासका उच्च अधिकारी उपस्थिति थियो।राष्ट्रपति सीलाई नेपाली सेनाको एक टुकडीले राष्ट्रपतीय सम्मान गारत प्रदान गरेको थियो। भारत चेन्नाइको अनौपचारिक भ्रमण सकेर राष्ट्रपति सी नेपाल आउनुभएको थियो।

२० बुँदा

१. नेपाल र जनवादी गणतन्त्र चीनबीच सीमा व्यवस्थापन प्रणाली सुदृढ गरिने

२. नेपाल र जनवादी गणतन्त्र चीनबीच शासकीय क्षमता अभिवृद्धि तथा आदानप्रदानसम्बन्धी समझदारी

३. नेपाल र जनवादी गणतन्त्र चीनबीच आपराधिक गतिविधि नियन्त्रणसम्बन्धी कानुनी सहायता सन्धि

४. नेपाल र जनवादी गणतन्त्र चीनबीच सगरमाथा क्षेत्रको पर्यावरणीय संरक्षणसम्बन्धी समझदारी

५. नेपाल र जनवादी गणतन्त्र चीनबीच राष्ट्रिय योजना आयोग र चीनको राष्ट्रिय विकास तथा सुधार आयोगबीच लगानी तथा सहयोग अभिवृद्धिसम्बन्धी समझदारी

६. नेपाल र जनवादी गणतन्त्र चीनबीच सिचुआन प्रान्तको राजधानी छन्दुमा नेपालको महावाणिज्य दूतावास स्थापना गर्नेसम्बन्धी पत्र आदानप्रदान (लेटर अफ एक्सचेन्ज)

७. नेपालको भौतिक तथा यातायात मन्त्रालय तथा जनवादी गणतन्त्र चीनको यातायात मन्त्रालयबीच चीन–नेपाल सीमापार रेल परियोजनाको सम्भाव्यता अध्ययनसम्बन्धी समझदारी

८. नेपालको काठमाडौं महानगरपालिका र जनवादी गणतन्त्र चीनको नान्जिङ शहरबीच भगिनीसम्बन्ध स्थापनाको सम्झौता

९. नेपालको बुटवल उपमहानगरपालिका र जनवादी गणतन्त्र चीनको सियान नगरबीच भगिनीसम्बन्ध स्थापनाको सम्झौता

१०. नेपालको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र जनवादी गणतन्त्र चीनको परम्परागत औषधि व्यवस्थापन राष्ट्रिय प्रशासनबीच परम्परागत उपचार पद्धतिमा सहयोगसम्बन्धी समझदारी

११. नेपालको गृह मन्त्रालय र जनवादी गणतन्त्र चीनको आपत्कालीन व्यवस्थापन मन्त्रालयबीच दैवीविपत्ति न्यूनीकरण तथा आपत्कालीन द्रुत उद्धारका लागि सहयोगसम्बन्धी समझदारी

१२. नेपालको महान्यायाधिवक्ताको कार्यालय र जनवादी गणतन्त्र चीनको सर्वोच्च महान्यायाधिवक्ताको कार्यालयबीच सहयोगसम्बन्धी समझदारी
१३. नेपालको त्रिभुवन विश्वविद्यालय र कन्फ्युसियस अध्ययन संस्थानको मुख्यालयबीच त्रिभुवन विश्वविद्यालयमा कन्फ्युसियस अध्ययन संस्थान स्थापन गर्नेसम्बन्धी सम्झौता
१४. नेपालको कृषि विभाग र जनवादी गणतन्त्र चीनको सामान्य भन्सार प्रशासनबीच अमिला वर्गका फलफूल चीन निर्यात गर्नेसम्बन्धी फाइटो स्यानेटरी आवश्यकतासम्बन्धी प्रोटोकलमा सम्झौता

 

१५. नेपालको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र जनवादी गणतन्त्र चीनको वाणिज्य मन्त्रालयबीच व्यापारसम्बन्धी संयुक्त कार्यदल गठनसम्बन्धी समझदारी

१६. चिनियाँसहयोगमा नेपालमा भूकम्प अनुगमन सञ्जाल परियोजना आपूर्ति तथा स्वीकार प्रमाणपत्र

१७. नेपालको अर्थ मन्त्रालय र जनवादी गणतन्त्र चीनको वाणिज्य मन्त्रालयबीच लगानी सहयोग कार्यदल गठनसम्बन्धी समझदारी

१८. नेपालको अर्थमन्त्रालय र चिनियाँअन्तर्राष्ट्रिय विकास सहयोग नियोगबीच सुरुङ निर्माण सहयोगसम्बन्धी समझदारी

१९. सीमा सुरक्षा तथा कार्यालय उपकरणका लागि पत्र आदानप्रदान (लेटर अफ एक्सचेन्ज)

२०. चीनको सहयोगमा काठमाडौं उपत्यकाका नगर क्षेत्रमा खानेपानी आपूर्ति सुधार परियोजनाको सम्भाव्यता अध्ययनसम्बन्धी बैठकका निर्णय सार्वजनिक

प्रतिक्रिया दिनुहोस्