दशैलाई बसको अग्रिम टिकट खुला



परिवर्तन देवकोटा, काठमाडौं। दशैंमा घर जानका लागि बसको अग्रिम टिकट खुला भएसँगै दशैंको माहोल बढेको छ। आउँदै गरेको विशेष चाड दशैंका लागि घर जाने यात्रुलाई मध्यनजर गर्दै आइतबारबाट बसको अग्रिम टिकट खुला भएको छ।

आइतबारबाट दशैंमा घर जानका लागि बसको अग्रिम टिकट खुलाएको यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादुर हमालले जानकारी दिनुभयो।

उहाँका अनुसार यात्रुहरूको सहजताका विभिन्न माध्यमबाट अनुगमन तथा १४ स्थानमा सहायता कक्ष समेत स्थापना गरिएको छ।

यातायात व्यवस्था विभागमा एक साताअघि यातायात व्यवसायी र ट्राफिक प्रहरी समेतको सहभागितामा बसेको बैठकले आजबाट अग्रिम टिकट बुकिङ खुलाउने निर्णय गरेको थियो।

पहिलो दिन नै टिकट काउन्टरमा भीड

दशैंमा घर जानका लागि दिन गन्दै बसेकाहरूले अब भने केही आनन्द महशुस गर्दैछन्। आइतबारदेखि बसहरूको अग्रीम टिकट खुला भएपछि यात्रुहरूको ध्यान त्यसतर्फ खिचिएको छ।

काठमाडौंमा रहेका विभिन्न टिकट काउन्टरहरूमा यात्रुहरूको बाक्लो भिड देखिएको छ। अग्रिम टिकट खुलेको पहिलो दिन नै काउन्टरमा बाक्लो भिड देखिएको हो।

यातायात विभागका अनुसार दशैंमा घर जानका लागि अग्रिम टिकट लिनका लागि गोंगबुस्थित नयाँ बसपार्क, कलंकी, बल्खु, पुरानो बसपार्क, कोटेश्वर, चाबहिल, स्वयम्भू, सुन्धारा, लगनखेल लगायतका स्थानमा काउन्टर रहेको छ।

घुम्ती अनुगमन

दशैंमा घर जाने यात्रुको सुविधाका लागि सरकारले अनुगमन समेत थालिसकेको छ। यातायात व्यवस्था विभागले असोज १ गतेदेखि नै अनुगमन शुरू गरेको हो।

यो अनुगमन असोज १८ गते फूलपातीको दिनसम्म चल्ने महानिर्देशक हमालले बताउनुभयो। अनुगमनमा क्रममा यात्रुले टिकट नपाएको, टिकटमा भन्दा बढी भाडा लिएको, सीट नपाएको, ठगिएको तथा अभद्र व्यवहार गरेकोलगायतका समस्या बुझ्ने र तत्काल समस्याको समाधान गरिने उहाँले बताउनुभयो ।

यातायात व्यवस्था विभागका महानिर्देशकको संयोजकत्वमा गठित केन्द्रीय यातायात व्यवस्थापन अनुगमन समितिले यात्रुको बढी चाप हुने तथा टिकट काटिने काठमाडौंका विभिन्न स्थानहरूमा अनुगमन गर्नेछ।

हवाईको पनि अग्रिम टिकट खुला

दशैंतिहारलाई लक्षित गर्दै हवाई टिकटको पनि अग्रिम बूकिङ खुला भएको छ। वायु सेवा सञ्चालक संघ नेपालले १० प्रतिशत छूटसहित हवाई टिकटको बूकिङ खुला गरेको हो।

संघले यही असोज १२ गतेदेखि कात्तिक २७ गतेसम्म यात्रा गर्ने यात्रुहरूले आन्तरिक उडानमा १० प्रतिशत छुट पाउने पनि जनाएको छ।

प्रतिक्रिया दिनुहोस्