सार्ककै पहिलो अन्तरदेशीय पाइप लाइन



श्रीमन्नारायण

बहुप्रतिक्षित एवं बहुउपयोगी नेपाल–भारत पेट्रोलियम पाइपलाइन परियोजना सञ्चालनमा आएको छ। प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्तरूपमा पाइपलाइन आयोजना शुभारम्भ गरेसँगै व्यावसायिकरूपमा यो सञ्चालनमा आएको छ।

दक्षिण एसियाकै यो पहिलो अन्तरदेशीय पाइप लाइन हो। यस परियोजनाको सञ्चालनबाट वार्षिक २ अर्ब ढुवानी खर्च जोगिनेछ।

साथै विनाकुनै अवरोध र चुहावट सहज एवं सरलरूपमा तेलको आपूर्ति पनि हुन सक्नेछ। यो नेपालको आर्थिक विकासमा पनि सहयोगी साबित हुनेछ।

दक्षिण एसियाकै यो पहिलो अन्तरदेशीय पाइप लाइन हो। यस परियोजनाको सञ्चालनबाट वार्षिक २ अर्ब ढुवानी खर्च जोगिनेछ। साथै विनाकुनै अवरोध र चुहावट सहज एवं सरलरूपमा तेलको आपूर्ति पनि हुन सक्नेछ। यो नेपालको आर्थिक विकासमा पनि सहयोगी साबित हुनेछ।

निकट भविष्यमा नेपालमा पाइप लाइनमार्पmत प्राकृतिक ग्यास तथा खाना पकाउने ग्याससमेत उपलब्ध गराउने तयारी भइरहेको जानकारीसमेत भारतीय आयल निगमले गराएको छ।

पाइप लाइनको उद्घाटन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले निर्धारित समयको आधा अवधिमै सम्पन्न भएको अन्तर्देशीय पाइप लाइन उद्घाटनको अवसर हामी दुवै मुलुकका प्रधानमन्त्रीलाई प्राप्त हुनु उत्साहजनक विषय भएको बताउनुभयो।

यो परियोजनाले भारतबाट नेपालमा पेट्रोलियम पदार्थ ढुवानीमा समय बचत गर्ने, लागत घटाउने, सवारी यातायात कम गर्ने र वायु प्रदूषणलाई कम गर्नेछ।

प्रधानमन्त्री ओलीले यसप्रकारका पाइप लाइनहरूको विस्तारमा नेपालले अरू अवसरको खोजी गर्नेछ। यसले नेपाली उपभोक्ताहरूमा सकारात्मक प्रभाव परेको छ।

यसबाहेक परियोजनाले दुई देशका बीचमा परस्पर सम्बन्ध र पारस्परिक निर्भरता बढाउनेछ। प्रधानमन्त्री ओलीले यस परियोजनालाई नेपाल र भारतको व्यापार तथा पारवहन पूर्वाधारको सम्बन्धमा कनेक्टिभिटीको सर्वश्रेष्ठ उदाहरण साबित हुने विश्वास व्यक्त गर्नुभयो।

भारतसँगको साझेदारी केही आयोजनामा मात्रै नभई जलविद्युत् उत्पादन, एकीकृत भन्सार जाँच चौकी, पर्यटन र कृषिलगायतका क्षेत्रमा समेत विस्तार भएको उहाँले बताउनुभयो। प्रधानमन्त्री ओलीले नेपाल र भारत दुवै स्पष्ट बहुमतको सरकारका साथै राजनीतिक स्थायित्वको स्थितिमा रहेको छ।

बढ्दो आर्थिक वृद्धिदर, गतिशील र सक्षम मानव संसाधनको उपलब्धताले हामीलाई विकास र समृद्धिका लागि आशाजनक वातावरण तयार गरेको बताउनुभएको छ।

यसले आपसी लाभका लागि दुई मुलुकबीच साझेदारी र सहयोगलाई थप सुदृढ पार्न सक्षम वातावरण सिर्जना गरेको बताउँदै उहाँले नेपाल–भारत सम्बन्धका लागि नयाँ जोश, गतिशीलता र दिशा प्रक्षेपण गर्नुपर्ने आवश्यकतामा जोड दिनुभएको छ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पछिल्लो समय नेपाल र भारतबीच अभूतपूर्व निकटता कायम भएको बताउनुभयो। भिडियो कन्फ्रेन्समार्फत् द्विदेशीय पेट्रोलियम पाइप लाइन उद्घाटन गर्दै उहाँले दुई देशबीच अझ राजनीतिक तहमा संवाद र भेटघाट बढेको बताउनुभयो।

यसलाई उपलब्धिको रूपमा लिनुपर्ने हुन्छ। जनस्तरको सम्बन्ध नै द्विपक्षीय सम्बन्धको आधार भएकोमा जोड दिँदै उहाँले निर्धारित समयभन्दा अघि नै पाइप लाइन निर्माण कार्य सम्पन्न भएकोमा नेपाल सरकार र नेपालका प्रधानमन्त्रीको प्रशंसा गर्नुभयो।

पाइप लाइन उद्घाटनसँगै पेट्रोलियमको मूल्य घटाउने नेपाल सरकारको निर्णयको पनि उहाँले प्रशंसा गर्नुभयो। यस किसिमको संयुक्त अभ्यासको मूल उद्देश्य नै जनताको लाभ र विकास भएकाले परियोजनाहरू समयमै सम्पन्न हुनु दुवै सरकारको प्राथमिकता भएको भन्दै मोदीले नेपालको प्राथमिकताअनुसार विकासमा सहयोग गर्न पछिल्लो पाँच वर्षमा पशुपतिनाथ धर्मशाला र वीरगन्ज एकीकृत जाँच चौकीको निर्माणलगायतका महत्वपूर्ण परियोजना सम्पन्न भएकोमा सन्तोष व्यक्त गर्नुभयो।

चार वर्षअघि शक्तिशाली भूकम्पपछि नेपालले पुनर्निर्माण अघि बढाएको र भारतले पनि सहयोगको हात बढाएको बताउँदै उहाँले भारतीय सहयोगमा गोरखा र नुवाकोटमा भूकम्पपीडितले बास पाएकोमा खुशी व्यक्त गर्नुभयो। मोदीले आफ्नो साझेदारीलाई थप व्यापक र गाढा बनाउँदै तीव्ररूपमा अघि बढ्ने र द्विपक्षीय सम्बन्धलाई झन् बलियो बनाउने विश्वास व्यक्त गर्नुभएको छ।

सन् २०१८ अप्रिल ७ मा प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदीले औपचारिकरूपमा यस पाइप लाइनको शिलान्यास गर्नुभएको थियो। निर्माण कार्य शुरू भएको ३० महिनामा सम्पन्न हुने भनिए पनि १५ महिनामै यो सम्पन्न भएका कारण नेपाल आयल निगमको सक्रियताको पनि भारतीय आयल निगमले प्रशंसा गरेको छ।

पाइप लाइनले औपचारिकता पाएपछि नियमितरूपमा आवश्यक परिमाणमा पहिलो चरणमा डिजल आपूर्ति गरिनेछ। नेपाल आयल निगमका अनुसार यो पाइप लाइनमार्फत् प्रतिघण्टा २ सय ९४ किलोलिटर (२ लाख ९४ हजार लिटर) इन्धन पाइप लाइनबाट आपूर्ति हुनेछ।

भित्र्याइने इन्धनको विषयमा आईओसीबीचको सम्झौता प्रत्येक ५–५ वर्षमा नवीकरण गर्ने व्यवस्था गरिएको छ। पाइप लाइनको सुरक्षा जिम्मेवारी नेपालतर्फ नेपाली सेनालाई दिइएको छ भने भारतले आफ्नो सुरक्षाकर्मीलाई दिएको छ।

मोतीहारी–अमलेखगन्ज पाइप लाइनबाट प्रतिघण्टा २ लाख ९४ हजार लिटर तेल ल्याउने क्षमता रहेको छ तर हाल प्रतिघण्टा १ लाख ९२ हजार लिटर मात्रै ल्याइनेछ।

चाँडै यो पूर्णरूपेण सञ्चालनमा आएपछि आफ्नो क्षमताअनुसार तेलको आपूर्ति गर्नेछ। हाल हाम्रो देशमा दैनिक १६ लाख लिटर पेट्रोल र ४७ लाख लिटर डिजेलको माग छ।

यसको निम्ति पाइप लाइनको सञ्चालन दैनिक १८ घण्टा हुनुपर्नेछ। राजधानी काठमाडौंमा मात्रै दैनिक ५ लाख लिटर पेट्रोल र ७ लाख लिटर डिजेलको खपत हुने गरेको छ। हाल पाइप लाइनबाट डिजेलको आपूर्ति मात्रै हुँदैछ तर यस पाइप लाइनबाट नै पेट्रोलको पनि आपूर्ति हुनेछ।

पाइप लाइनबाट पठाइएको तेलको मात्रा पढ्न सकिने गरी दुवै देशमा भन्सार नाकामा मिटर जडान गरिएको छ। उक्त मिटरमा कति परिमाणमा तेल आपूर्ति भएको छ, सो आधारमा भन्सार कार्यालयले पेट्रोलियमको शुल्क निर्धारण गर्नेछ। मोतीहारी–अमलेखगन्ज पाइप लाइनलाई चितवनको लोथरसम्म विस्तार गरिने योजना नेपाल आयल निगमको छ।

निगमले छिट्टै भारतको सिलिगुढीदेखि झापाको चारआलीसम्मको विस्तृत परियोजना प्रतिवेदन पनि सार्वजनिक गर्नेछ। भारततर्फ ३२.७ किलोमिटर र नेपालतर्फ३६.२ किलोमिटर दूरी रहेको मोतीहारी–अमलेखगन्ज पाइप लाइनको निर्माणमा आईओसी र निगमको गरी रु. ५ अर्ब १८ करोडभन्दा बढी लगानी भएको छ।

भण्डारणस्थल निर्माणका लागि निगमले करिब ७५ करोड भारू लगानी गर्ने प्रतिबद्धता जनाए पनि अहिलेसम्म भारतीय पक्षले नै लगानी गरेको छ।

हाल भारतको बरौनीबाट अमलेखगन्जमा दैनिक १ सय ६० वटा ट्यांकरबाट इन्धन ढुवानी गरिन्थ्यो। ढुवानी खर्च प्रतिलिटर २ रूपियाँ ५० पैसा पर्छ।

पाइप लाइनबाट आयात गर्दा यो रकम बचत हुनेछ। पाइप लाइनबाट वार्षिक २० लाख मेट्रिक टन पेट्रोलियम आपूर्ति हुनेछ। यसका लागि पाइप लाइन चौबीसै घण्टा सञ्चालन हुनेछ। यसबाट पेट्रोलियम पदार्थको शुद्धता कायम राख्न र चुहावट नियन्त्रणमा सहयोग पुग्नेछ।

ट्यांकरबाट हुने प्रदूषण तथा वातावरणमा पुग्ने क्षति कम हुनुका साथै रक्सौलमा हुने जाम तथा बन्द र हडतालको जोखिम पनि अब रहनेछैन। अमेरिकी मापदण्डको यो अन्तर्देशीय पाइप लाइन नेपाल–भारत द्विपक्षीय सम्बन्धको एउटा सुन्दर र उपयोगी उदाहरण साबित हुनेछ।

चाँडै ग्यास पाइप लाइनको निर्माण होस् तथा आमनेपालीलाई सहज एवं सुलभरूपमा उपलब्ध भइरहोस् भन्ने हाम्रो चाहना छ। ओली सरकारको यो ठूलो सफलता हो भने दक्षिणी छिमेकीको सहयोग र सदासयतालाई पनि बिर्सन सकिँदैन।

 

 

प्रतिक्रिया दिनुहोस्