विकासका निम्ति काम गर्ने पद्दती र शैलीमा परिवर्तन गर्न आग्रह



काठमाडौं, (नेस)।पूर्वअर्थमन्त्री डा. रामशरण महतले पूर्वाधार क्षेत्रमा सरकारी नीति लगानीमैत्री हुनुपर्नेमा जोड दिनुभएको छ।

नेपाल उद्योग परिसंघले आयोजना गरेको पूर्वाधार सम्मेलनको दोस्रो दिन आयोजित निजी क्षेत्रका लागि लगानीको अवसर विषयक सत्रमा बोल्दै उहाँले अहिलेको सरकारी काम गर्ने पद्दती र शैलीमा परिवर्तनको आवश्यकता रहेको बताउनुभयो।

उहाँले भन्नुभयो–‘सर्वप्रथम सरकारले सुशासनमा सुधार गर्नुपर्छ।’ त्यस्तै, समयमा निर्णय हुनुपर्ने, काम गर्न गर्न प्रतिस्पर्धी क्षमता लगानीको लागि आवश्यक सर्त रहेको उहाँको भनाइ छ। उहाँले निजी क्षेत्रलाई कानुनद्वारा नै सुविधा दिइने नीतिको आवश्यकतमा जोड दिनुभयो।

‘एउटा पदमा रहेको व्यक्तिले मनलाग्दी सुविधा दिने वा नदिने निर्णय गर्दा त्यसले निजी क्षेत्रको विश्वास जगाउँदैन। पूर्वाधारका लागि के सम्भावना छ भन्नेबारे गहिरो अध्ययनको आवश्यकता रहेको उहाँले बताउनुभयो।

‘योजना एकातिर, सम्भावना अर्कोतिर र बोली अन्यत्रतिर हुनु हुँदैन,’ उहाँले भन्नुभयो–‘जबकी अहिले चीनबाट रेल ल्याउने विषयमा त्यस्तै भइरहेको छ।’ उहाँले नेपालमा निर्माण हुने सडक गुणस्तरीय हुनुपर्नेमा जोड दिनुभयो।

विश्व बैंकको प्रतिवेदनलाई उदृत गर्दै पूर्वअर्थमन्त्री डा. महतले नेपालका सडक संसारमै गुणस्तरहीन हुने गरेको बताउनुभयो। उहाँले नेपालमा ऊर्जाको ठूलो सम्भावना रहेको उल्लेख गर्दै निजी क्षेत्रलाई ऊर्जा उत्पादनमा आमन्त्रण गर्नुपर्ने बताउनुभयो। स्वच्छ ऊर्जाको उल्लेख्य माग रहेको बताउँदै डा. महतले नेपालको बढ्दो व्यापार घाटा ऊर्जाबाट पूर्ति गर्न सकिने बताउनुभयो।

सोही सत्रमा बोल्दै नेपाल उद्योग परिसंघका पे्रसिडेन्ट इमिरेटस् तथा उद्यमी विनोद चौधरीले दशकांैको उत्पीडनपछि देशमा आएको परिवर्तनले लगानीको वातावरण सिर्जना गरेको बताउनुभयो। यतिखेर नेपाललाई विश्वव्यापी रूपमा लगानी गरेर सहयोग गर्नुपर्ने आवश्यकता रहेको उहाँको भनाइ छ।

‘शिक्षा, स्वास्थ्य, ऊर्जा, हवाई क्षेत्र, वित्तीय संस्था, सडक लगानीका प्रमुख क्षेत्र हुन, उहाँले भन्नुभयो–‘त्यस्तै प्रदेश सरकार पनि पूर्वाधारको क्षेत्रमा लगानी गर्न उतिकै उत्साहित छन्।’ सन् १९९२ यता नेपालमा निजी क्षेत्रको सक्रियता वृद्धि हुँदै गएको विषय उल्लेख गर्दै चौधरीले खुला अर्थतन्त्र र उदारीकरणको लागि पूर्व अर्थमन्त्री डा. महत योजनाकारका रूपमा रहेको बताउनुभयो।

उहाँका अनुसार अहिले देशको कुल ग्राहस्थ उत्पादनमा निजी क्षेत्रको सहभागिता ३२ प्रतिशत पुगेको छ। हवाई क्षेत्रमा आमुल परिवर्तन निजी क्षेत्रले गरेको उद्यमी चौधरीको भनाइ छ।

उहाँले विकासका लागि जुन ठाउँमा जे सम्भावना छ। त्यसैअनुसार काम गर्नुपर्ने सुझाव दिनुभयो। प्रकृतिले नै ठाउँअनुसार फरकफरक विशेषता दिएको हुन्छ। त्यसैले योजना बनाउँदा पनि सोहीअनुसार बनाइनुपर्छ।

उदाहरणको लागि सबै प्रदेशमा विशेष आर्थिक क्षेत्र चाहिन्छ भन्ने छैन। सम्भावना र आवश्यकता अनुसार पूर्वाधार विकास गरिनुपर्छ।

भारतमा डा. मनमोहन सिंह अर्थमन्त्री हुँदा जसरी आर्थिक परिवर्तन सम्भव भएको थियो। त्यस्तै सफलतालाई हाम्रो देशमै दोहोर्याउन सक्छौं।

अहिलेको समय कसले कुन क्षेत्रमा लगानी गर्ने भन्ने बारे निर्णय गर्ने सही समय भएको उहाँको भनाइ छ।

विश्व बैंक गु्रपका एन्ड्रयू गुडल्याण्डले गुणस्तरीय जीवनका लागि पनि पूर्वाधारको विकासले सहयोग पुर्याउनु बताउनुभयो। उहाँले ऊर्जाको विकास गरी आम्दानी वृद्धि गर्ने सकिने सम्भावना रहेको दोहोर्याउनुभयो।

एसियाली विकास बैंकका शन्तनु चक्रवर्तीले जलविद्युत्को विकासले सिंगो जैविक प्रणालीलाई सघाउने बताउनुभयो। उहाँले नेपाललाई ऊर्जा क्षेत्रमा सन् १९९६ देखि नै सहयोग गर्न थालेको बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्