पाइपबाट इन्धन आउन थाल्यो, हिजैबाट मूल्य घट्यो



नेपाल समाचारपत्र, वीरगन्ज। मंगलबार बिहानैबाट बाराको अमलेखगन्जस्थित आयल निगमको कार्यालयमा चहपपहल बढी थियो।

आयल निगमका कर्मचारी खुशी थिए। लामो समयदेखि चर्चामा रहेको मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइप लाइनले पूर्णता पाएसँगै मंगलबारदेखि पाइप लाइनबाट डिजेल आपूर्ति गर्ने कार्य शुरु भएकाले उनीहरूमा हर्ष छाएको हो।

बाहिरी देशबाट आयात हुने वस्तु वा पदार्थमा सबैभन्दा ठूलो हिस्सा अगटेको पेट्रोलियम पदार्थ पाइप लाइनबाट आपूर्ति गर्दा ठूलो मात्रामा ढुवानीको लागत घटेको नेपाल आयल निगमले जनाएको छ।

गत वर्ष पेट्रोलियम पदार्थको आयातमा नेपालले दुई खर्ब रुपियाँखर्चिएको छ। मंगलबार दिउँसो रिमोरटबाट नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले पाइप लाइन उद्घाटन गरेसँगै निरन्तर पाइप लाइनबाट डिजेल आउन थालेको छ।

ओलीले सिंहदरबारबाट र मोदीले हैदरावाद हाउसबाट बटन दबाएपछि आयल निगमको अमलेखगन्ज डिपोमो डिजेल झरेको हो।पाइपलाइनबाट डिजेल आउन शुरु गरेसँगै यसको असर उपभोक्ताको मूल्यमा समेत देखिएको छ।

नेपाल आयल निगमले मंगलबारदेखि नै लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलमा २/२ रुपियाँमूल्य घटाएको छ। नेपाल आयल निगमका अनुसार अहिलेको अवस्थामा पाइप लाइनबाट डिजेलको आपूर्तिले ८० करोड ढुवानी लागत बचत हुनेछ।

वि.सं. २०७३ सालमा नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पाइप लाइनको शिलान्यास गर्नुभएको थियो।

मंगलबार दिउँसोबाट सहज रुपमा डिजेल आइरहेको र बिस्तारै पेट्रोल पनि झार्ने योजना रहेको नेपाल आयल निगम अमलेखगन्ज डिपोका प्रमुख प्रदीप यादवले जानकारी दिनुभयो।

बहुप्रतिक्षित अन्तर्देशीय पेट्रोलियम पाइप लाइन परियोजनाको उद्घाटन गरिएको छ। भारतको मोतिहारीबाट अमलेखगन्जसम्म बिछ्याइएको सो पाइप लाइन परियोजनाको नेपाल र भारतका प्रधानमन्त्रीले संयुक्त रूपमा आफ्नो मुलुकबाट स्वीच थिचेर उद्घाटन गर्नुभयो।

नेपालको तर्फबाट प्रधानमन्त्री केपी शर्मा ओलीले सिंहदरबारबाट र भारतको तर्फबाट प्रधानमन्त्री नरेन्द्र मोदीले नयाँदिल्लीस्थित हैदरावाद हाउसबाट भिडियो कन्फरेन्समार्फत एकैसाथ स्वीच थिचेर सो परियोजनाको उद्घाटन गर्नुभयो।

यो पाइपलाइन दक्षिण एसियाकै पहिलो क्रस बोर्डर परियोजना हो। मोतिहारी–अमलेखगञ्ज पाइप लाइनको दूरी ६९ दशमलव २ किलोमिटर रहेको छ।

जसमा नेपालतर्फ ३६ दशकलव २ र भारततर्फ ३३ किलोमिटर रहेको छ। पाइप लाइनबाट दैनिक झण्डै चार हजार किलोलिटर पेट्रोलियम पदार्थ ल्याउन सकिने परियोजनाले जनाएको छ।

पाइप लाइनबाट पेट्रोलियम पदार्थ ल्याउँदा वार्षिक दुई अर्बभन्दा बढी ढुवानी खर्च बचत हुनेछ। देशभित्र खपत हुने डिजेलमध्ये ७० प्रतिशत अमलेखगञ्जबाट आपूर्ति हुँदै आएको निगमले जनाएको छ।

परियोजनाको उद्घाटनका क्रममा निगमका कार्यकारी निर्देशकसहितको उच्च प्राविधिक टोली अमलेखगञ्जमा रहेको छ।

निगम र भारतीय आयल कर्पोरेशनबीच अन्तरदेशीय पेट्रोलियम पाइप लाइन परियोजना निर्माणका लागि सन् २००४ मा सम्झौता भएको थियो।

सन् २०१५ को अगष्टमा तत्कालीन वाणिज्य तथा आपूर्तिमन्त्री सुनिलबहादुर थापा र उहाँका भारतीय समकक्षी धर्मेन्द्र प्रधानले हस्ताक्षर गरेसँगै परियोजना निर्माण शुरु भएको हो। परियोजनाको लागत दुई अर्ब ७५ करोड भारतीय रुपियाँरहेको छ।

प्रतिक्रिया दिनुहोस्