गाडीको व्यापार सोचे जस्तो भएन



परिवर्तन देवकोटा, काठमाडौं। सवारी साधनको कुम्भमेला ‘नाडा अटो शो–२०१९’ सम्पन्न भएको छ। नाडा अटोमोबाइल्स एसोसियसन अफ नेपालको आयोजनामा भएको सो मेलामा अवलोकनकर्ताको उलेख्य सहभागिता देखिएको छ। अटो शोमा यस वर्ष ८५ हजारभन्दा बढी अवलोकनकर्ताको सहभागिता रहेको नाडाका सचिव एवम् मेला व्यवस्थापन समितिका प्रवक्ता अनुप बरालले जानकारी दिनुभयो।

‘सवारी साधनमा पहिलेको तुलनामा दिनानुदिन रुची र चासो बढ्दै गएको छ,’ नेपाल समाचारपत्रसँग कुरा गर्दै उहाँले भन्नुभयो– ‘अझ विद्यार्थी वर्गको उल्लासमय सहभागिताले हामी पुलकित भएका छौं।’ गत वर्षको तुलनामा अटो शोले १० हजारभन्दा बढी अवलोकनकर्ता भित्र्याउन सकेको उहाँले भन्नुभयो।

अवलोकनकर्ता बढे पनि पछिल्लो समय कारोबार भने सोचेजस्तो हुन नसकेको प्रवक्ता बराल बताउनुहुन्छ। सरकारको नीति नियम तथा बैंकले ‘डाउन पेमेन्ट’मा ५० प्रतिशतको सिमा तोकेकाले सवारी साधनको कारोबार नफस्टाएको उहाँले बताउनुभयो।

विद्युतीय सवारीसाधनमा बढ्दो आकर्षण

पछिल्लो समय विदेशमा मात्रै नभएर नेपालमा पनि विद्युतीय सवारी साधनको आकर्षण बढ्दो देखिएको छ। ’नाडा अटो शो–२०१९’ मा विद्युतीय सवारीप्रतिको आकर्षण उच्च देखिएको प्रवक्ता बराल बताउनुहुन्छ।

उहाँले भन्नुभयो–‘पछिल्लो समय सवारी साधनहरूमा चासो बढ्दै गएको छ, विद्युतीय सवारी साधनमा अझ बढी आकर्षित भएको पाइन्छ,’ उहाँले भन्नुभयो। विद्युतीय सवारी साधनको सहजताका कारण पनि उपभोक्ता त्यसतर्फ आकर्षित भएको उहाँको भनाइ छ। यससँगै हाइब्रिड गाडीमा पनि अवलोकनकर्ताको भीड लागेको उहाँले सुनाउनुभयो।

सरकारी नीतिका कारण कारोबारमा ब्रेक
पछिल्लो समय सरकारको सोचाइ र बैंकको नीतिका कारण सवारी साधनको कारोबारमा भने ब्रेक लागेको छ। जसका कारण अटो व्यवसायी सरकारसँग असन्तुष्ट देखिन्छन्। नाडा अटो शो २०१९ मा पनि कारोबार सन्तोषजनक मात्रै छ।

बैंकले डाउन पेमेन्टमा ५० प्रतिशतको सिमा राखेका कारण अलि कम आय आर्जन गर्ने वर्गमा सवारी साधनको पहुँच नपुगेको प्रवक्ता बरालले बताउनुभयो। त्यस्तै सरकारले पनि सवारी साधनलाई विलासिताको साधनमा राख्ने साँघुरो सोचका कारण बजार नफस्टाएको उहाँको भनाइ छ। पछिल्लो समय सवारी साधन विलासिता नभई आवश्यकता भएको उहाँले बताउनुभयो।

विगतको भन्दा भव्य
विगतमा भन्दा भव्य ढंगले अटो शो सम्पन्न भएको व्यवस्थापकको दाबी छ। अहिलेको डिजाइन, अन्तर्राष्ट्रियस्तरको स्टल निर्माणलगायतका कारण पनि अहिले उल्लासमय भएको उनीहरूको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्