भारतीय अर्थव्यवस्थामा गिरावट अर्थव्यवस्थाको स्थिति चिन्ताजनक ः मनमोहन सिंह



नयाँदिल्ली (एजेन्सी)। भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंहले भारतीय अर्थव्यवस्थाको स्थिति अत्यन्त चिन्ताजनक रहेको बताएका छन्। प्रधानमन्त्री नरेन्द्र मोदीको कुप्रबन्धनका कारण अर्थव्यवस्था मन्दीमा गएको उनले बताए। भारत सरकारले २ दिन अगाडि जारी गरेको तथ्यांकले अर्थव्यवस्थानको वृद्धिदर विगत ६ वर्ष यताकै सबैभन्दा तल झरेको देखाएको छ।

वर्तमान आर्थिक वर्षको पहिलो ३ महिनाको कुल गार्हस्थ उत्पादन (जीडीपी) दर ५ प्रतिशतमा झरेको छ। यसअघिको ३ महिनाको यो आंकडा ५ दशमलव ८ प्रतिशत थियो र सन् २०१८ जुनमा यो वृद्धीदर ८ प्रतिशत थियो। डा. मनमोहन सिंहको पहिचान एक अर्थशास्त्रीका रूपमा लिइन्छ। उनले भने– ‘लगातार गिरावट जारी रहेमा भारतका लागि अत्यन्तै कठिन स्थिति हुनेछ। त्यसैले म सरकारसँग प्रतिशोधको राजनीतिबाट बाहिर आउन र दिमागले काम लिँदै सबैलाई सुन्न आग्रह गर्दछु। अर्थव्यवस्थाको यो स्थिति सरकारको गल्तीले बनेको छ।’

जीडीपी पाँच प्रतिशत हुनुले भारतीय अर्थव्यवस्था लामो अवधिको मन्दीको बीचमा रहेको संकेत मिलेको उनले बताए। भारतको अर्थव्यवस्थामा तीव्र गतिमा वृद्धि गर्ने क्षमता रहेको पनि पूर्वप्रधानमन्त्रीले बताए। पछिल्लो पाँच त्रैमासिक देखि अर्थव्यवस्थामा गिरावट देखिएको छ। यसअघि सन् २०१३ मा भारतको अर्थ व्यवस्थाको वृद्धिदर ४ दशमलव ३ प्रतिशत पुगेको थियो।

अटो इन्डस्ट्री देखि एफएमसीजीसम्ममा आएको मन्दीको प्रभाव र त्यसबाट हजारौं राजगारी गुमेको छ। केन्द्रमा रहेको मोदी सरकारले विगत केही दिनमा अर्थव्यवस्थालाई स्थिर गर्न कयौं कदम उठाएको छ। सरकारले एफडीआईको नियमलाई थप सहज बनाएको छ। शुक्रबार अर्थमन्त्री निर्मला सीता रमणले सरकारी बंैकमा सुधारका लागि कैयौं घोषणा गरेकी थिइन्। मनमोहन सिंहले एक भिडियो सन्देशमा भने– सबैभन्दा धेरै चिन्ताजनक स्थिति उत्पादन क्षेत्रको हो, जहाँ वृद्धिदर शून्य दशमलव ६ प्रतिशतमा झरेको छ।

यसले हाम्रो अर्थव्यवस्था सरकारको गल्तीका कारण माथि उठ्न नसकेको प्रस्ट हुन्छ। घरेलु मागमा गिरावट आइरहेको छ। खपत वृद्धिदर विगत १८ महिनामा सबैभन्दा तल्लो स्तरमा पुगेको छ। करलाई जटिल बनाइदिएको छ। लगानीकर्ता निरास भएका छन्। मोदी सरकारको खराब नीतिका कारण बेरोजगारी वृद्धिलाई प्रोत्साहन भइरहेको सिंहले बताए।

अटोमोबाइल सेक्टरमा ३ लाख ५ हजार नागरिक रोजगारबाट बञ्चित हुनु परेको र ठूलो संख्यामा मानिसहरू असंगठित क्षेत्रमा पनि बेरोजगार भइरहेको उनले बताए। ग्रामीण स्तरमा नागरिकको स्तर झन खराब रहेको, किसानले उचित मू्ल्य नपाएको बताउँदै ग्रामीण आयमा पनि लगातार गिरावट आइरहेको पूर्वप्रधानमन्त्रीले बताए। संस्थानको स्वायत्तता समाप्त पारिरहेको पनि उनले आरोप लगाए। सरकारले जारी गरेको आंकडाको विश्वसनीयता पनि प्रश्नको घेरामा रहेको सिंहको दाबी छ।

 

प्रतिक्रिया दिनुहोस्