निगमद्वारा जापानको ओसाका उडान शुरू



नेपाल समाचारपत्र, काठमाडौं। नेपाल वायुसेवा निगमले बिहीबारदेखि जापानको ओसाका उडान पुनः शुरु गरेको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई, राज्यमन्त्री धनबहादुर बुढा र मन्त्रालयका सचिव केदार बहादुर अधिकारीले यात्रुलाई बोडिङ पास दिई बिदाई गर्नु भएको थियो। निगमले हप्ताको तीन दिन बिहीबार, शनिबार र मंगलबार ओसाकाको नियमित उडान गर्नेछ। हाललाई निगमले प्रवद्र्धनात्मक भाडादर दुईतर्फी ७२ हजार ८ सय र एकतर्फी ३७ हजार निर्धारण गरेको छ।

काठमाडौंबाट बिहान २ः३० बजे उडेको विमान ६ घण्टा पछि स्थानीय समय अनुसार ११ः५५ बजे पुगेको थियो। उक्त विमान अपरान्ह ओसाकाबाट उडान गरी बिहीबार अपरान्ह ६ बजे काठमाडौं आइपुग्ने छ।

पहिलो उडानमा काठमाडौं – ओसाका बीच १४६ जना यात्रुले यात्रा गरेका थिए। निगमले नेपाल जापानको सिधा उडानलाई थप व्यावसायिक प्रवद्र्धन गर्न सेप्टेम्बर महिना भर प्रत्येक उडानमा यात्रुहरू बीच गोलाप्रथा गराइनेछ र एक जनालाई उपहार स्वरुप एक निःशुल्क नेपाल जापान उडानको टिकट प्रदान गर्नेछ।

 

प्रतिक्रिया दिनुहोस्