आफूखुशी बैंक नचलाउन गभर्नरको उर्दी



नेपाल समाचारपत्र, काठमाडौं। नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले जनताको निक्षेप राखेर सञ्चालकले आफूखुशी बैंक चलाउन नपाउने बताउनुभएको छ। बिहीबार नेसनल बैंकिङ इन्स्च्यिुटले आयोजना गरेको सञ्चालक सम्मेलनको उद्घाटन गर्दै उहाँले यस्तो बताउनुभएको हो।

उहाँले आफू गभर्नर भएर आउँदा कतिपय बैंक सञ्चालक ल्याप्चे युगमा रहेको भन्दै गभर्नर नेपालले वृद्ध उमेरसम्म बैंकमा सञ्चालक नबन्न सुझाव दिनुभयो। जनताको पैसामा ९०÷९५ वर्षसम्म पद ओगटेर ह्वीलचियरमा बसेर बैंक सञ्चालन गर्न खोज्न नहुने बताउनुभयो।

उहाँले आफ्नो व्यवसाय वृद्ध भएँ भनेर छोरा नातीलाई जिम्मा लगाउने जनताको लगानी रहेको बैंकमा वृद्ध हुँदासम्म बसिरहेने भन्ने बैंकरहरूलाई प्रश्न गर्नुभयो। गभर्नरले पछिल्लोपटक राष्ट्र बैंकको नीतिका बारेमा सर्वोच्च अदालतको अन्तरिम आदेशमा समेत असन्तुष्टि जनाउनुभयो।

गभर्नर नेपालले राष्ट्र बैंकले दिएको निर्देशन उल्टाउन १० वटा सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत १० ठाउँमा कुदेर हारगुहार गरी राष्ट्र बैंकको निर्देशन फितलो बनाएको बताउँदै बैंकर र सञ्चालकसँग असन्तुष्टि जनाउनुभयो।

सर्वोच्च अदालतले बैंकका सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृतहरूको उमेरहद सम्बन्धि निर्णय तत्काल रोक्न राष्ट्र बैंकलाई अन्तरिम आदेश जारी गरेसँगै गभर्नर नेपालले असन्तुष्टि जनाउनुभएको हो ।

उताअर्थमन्त्री डा. युवराज खतिवडाले पूर्ण सरकारी लगानीको राष्ट्रिय वाणिज्य बैंकलाई ब्याजदर बढाउन सुझाव दिनुभएको छ। वाणिज्य बैंकको १४ वटा शाखाको उद्घाटनको क्रममा अर्थमन्त्री खतिवडाले बचतकर्तामाथि अन्याय नगर्न वाणिज्य बैंकलाई सुझाव दिनुभयो।

‘वाणिज्य बैंकको बेसरेट नै साढे ५ प्रतिशत भएपछि म खुशी हुने कि दुःखी हुने, बचतकर्ताको ब्याजदर मूल्य वृद्धिदरभन्दा कम हुनु हुँदैन,’ उहाँले भन्नुभयो। कार्यक्रममा उहाँले गाडी खरिदको लागि सस्तो ब्याजदरको योजना ल्याएकोमा बैंकरसँग असन्तुष्टि समेत जनाउनुभयो।

अल्पकालीन अवधिको लागि ऋणको ब्याजदर सस्तो गर्ने र पछि बढाउने योजना बैंकहरूले ल्याएको भन्दै उहाँले असन्तुष्टि जनाउनुभएको हो। ‘मैले हिजो नाडा अटो शोको उद्घाटनमा देखेको थिए, बैंकहरूले सिंगल डिजिटमा गाडी किन्ने सकिने ऋणको योजना ल्याएका छन्, ऋणीको लागि राम्रो भए पनि अहिले आकर्षित गर्न सस्तो ब्याजदरमा ऋण दिने र पछि ब्याजदर बढाउन भएन, उहाँले भन्नुभयो।े

 

प्रतिक्रिया दिनुहोस्