कुम्भ मेला काठमाडौंमा  एक अंक ब्याजदरमै पाइन्छ सवारी कर्जा



परिवर्तन देवकोटा, काठमाडौं । सवारी साधनको कुम्भ मेला ‘नाडा अटो शो–२०१९’ मंगलबारबाट शुरू हुँदैछ। नाडाका तर्फबाट मेलाको सबै तयारी पूरा भएको प्रवक्ता अनुप बरालले जानकारी दिनुभयो। अटो शोको उद्घाटन अर्थमन्त्री डा. युवराज खतिवडाले गर्ने कार्यक्रम छ।
टाटा, बजाज, महिन्द्रालगायतको विभिन्न चर्चित अटोमोबाइल कम्पनीले विभिन्न सवारी साधन प्रदर्शनको तयारीमा छन्। छ दिनसम्म चल्ने १४औं संस्करणको नाडा अटो शोमा २३ वटा चार पांग्रे र १९ वटा दुई पांग्रे सवारी बिक्रेता कम्पनीले सहभागिता जनाउँदै छन्।
अटो शोमा यी बाहेक १२ ब्रान्डका लुब्रिकेट, ९ ब्रान्डका टायर, ५ ब्रान्डका ब्याट्री, १४ वटा पार्टपूर्जा एवम् ग्यारेज उपकरणका कम्पनी तथा १३ वित्तीय संस्थाको सहभागिता रहने छ।
नाडाका प्रवक्ता बरालका अनुसार यस वर्ष पनि नाडा अटो शोमा बैंक तथा बीमा कम्पनीले समेत स्टल राख्दै छन्। गत वर्ष आयोजक संस्था नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले स्थान अभावको कारण देखाउँदै बैंकलाई स्टल राख्न दिएको थिएन।
यस वर्ष भने १२ वटा बैंक तथा एक बीमा कम्पनीले स्टल बुकिङ गरिसकेको प्रवक्ता बरालले जानकारी दिनुभयो। ‘गत वर्ष ठाउँको अभावका कारण हामीले नै स्टल राख्न दिएनौं, यस वर्ष भने हामीले स्टल खुला गरेका थियौं, जसमा १२ बैंक तथा एउटा बीमा कम्पनीले स्टल बुक गरिसकेका छन्,’ उहाँले भन्नुभयो
प्रवक्ता बरालका अनुसार ग्लोबल आइएमई बैंक, सानिमा बैंक, एनआईसी एसिया बैंकलगायतका बैंकले स्टल बुक गरेका छन्। त्यस्तै सिद्धार्थ इन्स्योरेन्सले पनि स्टल बुक गरेको छ। बैंकहरूले सवारी साधनमा लगाउने ब्याजदर र डाउन पेमेन्टमा कडाइ गरेसँगै कारोबारमा केही प्रभाव पर्ने भए पनि अटो शोमा समग्र अटो व्यवसायी तथा निर्माता कम्पनी आशावादी रहेको उहाँले बताउनुभयो।

उहाँले भन्नुभयो–‘बैंक तथा वित्तीय संस्थाको कडाइका कारण केही प्रभाव त पर्छ, तर पनि हामी आशावादी नै छौं।’गत वर्ष ५ अर्ब बराबरको कारोबार गरेको बताउँदै उहाँले अहिले पनि त्यसकै हाराहारीमा कारोबार गर्ने लक्ष्य लिएको बताउनुभयो।

उहाँले भन्नुभयो–‘गत वर्षको अटो शोमा हामीले ५ अर्बको कारोबार गरेका थियौं, अहिले पनि त्योभन्दा कम गर्दैनौं, बढी नै गर्छौं।’ व्यवसायीले सवारी साधनको कर्जामा एक अंक ब्याजदर लगाउनुपर्ने माग राख्दै आएका थिए। त्यसैलाई सम्बोधन गर्दै बैंकहरूले १० प्रतिशतभन्दा कम ब्याजदरमा सवारी साधन खरिदका लागि कर्जा उपलब्ध गराउने घोषणा गरेका छन्।

प्रतिक्रिया दिनुहोस्