राष्ट्रिय वाणिज्य बैंक र हेफर इन्टरनेसनलबीच सम्झौता



नेपाल समाचारपत्र, काठमाडौं।  राष्ट्रिय वाणिज्य बैंक र हेफर इन्टरनेसनल नेपालबीच सहुलियतपूर्ण कर्जामा सहकार्य गर्ने सम्बन्धमा सम्झौता भएको छ। हेफर इन्टरनेशनलका वरिष्ठ उपाध्यक्ष डा. महेन्द्रनाथ लोहनीको उपस्थितिमा भएको सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र हेफर इन्टरनेसनल नेपालका राष्ट्रिय निर्देशक डा. शम्भुनारायण महतोले हस्ताक्षर गर्नुभएको छ।

सम्झौतापछि हेफर इन्टरनेसनल नेपालको सिफारिसमा बाख्रपालन, डोरी व्यवसाय, तरकारी खेती र लोकल कुखुरा पालनमा संलग्न सहकारी सदस्यका कृषकलाई बैंकले नियमानुसार सहुलियपूर्ण कर्जाअन्तर्गत सहुलियत दरमा कर्जा लगानी गर्ने छ।

समारोहमा बैंंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले सम्झौतापश्चात राज्यले लिएको नीति तथा कार्यक्रममा सहयोग पुग्ने गरी जनताको जीवनस्तरमा परिवर्तन आउने गरी राष्ट्रिय वाणिज्य बैंकले कृषि उद्यमी गर्न चाहने कृषकलाई सहूलियत रुपमा कर्जा लगानी गरिने बताउनुभयो।श्रेष्ठले बैंकको ७ प्रदेश ७७ वटै जिल्लामा रहेको २२२ वटै शाखा कार्यालयहरूबाट यो कर्जा लिन सकिने बताउनुभयो।

हेफर इन्टरनेसनलका वरिष्ठ उपाध्यक्ष डा. लोहनीले यो सम्झौता नेपालको गरिबी निवारणमा कोशेढुंगा सावित हुने बताउँदै हेफर इन्टरनेसनल नेपालको सिफारिस बमोजिम लगानी भएको कर्जाको असुलीमा हेफरको पनि नैतिक दायित्व रहने बताउनुभयो। उहांँले हेफरले हालसम्म नेपालमा ४१ जिल्लाका २ लाख ५० हजार गरिब तथा पिछडिएका परिवारलाई सहयोग गर्दै आइरहेको बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्