भीमसेन मन्दिर पुनर्निर्माणको लागि पदयात्रा



नेपाल समाचारपत्र, ललितपुर। ललितपुर उद्योग वाणिज्य संघको आयोजनामा असोज ४ गते सम्पदा क्षेत्रको पदयात्रा हुने भएको छ। ‘हाम्रो सम्पदा, हामी आफैं बनाऔं’ भन्ने नाराका साथ सो पदयात्रा आयोजना गर्न लागिएको हो।

संघको अगुवाईमा विश्वसम्पदा सूचीकृत भीमसेन मन्दिर पुनर्निर्माण भइरहेको सन्र्दभमा सो नारा तय गरिएको संघले जनाएको छ। पुनःनिर्माणमा यथोचित सहयोगका लागि सार्वजनिक आह्वान गर्न सो कार्यक्रम तय गरिएको अध्यक्ष कृष्णलाल महर्जनले पत्रकार भेटघाटमा बताउनुभयो।

सो पदयात्रा पाटन दरबार क्षेत्रबाट शुरु हुनेछ। सो यात्रामा सहभागीले ग्वार्काे, इमाडोल, सानागाउँ लुभू, हरिसिद्धि, धापाखेल, सुनागुठी, बुङमती हुँदै खोकनामा पुगी समापन गरिने छ। पदयात्राको दूरी करिब १९ किलोमिटरको रहेको छ। यसले पर्यटन वर्ष प्रवद्र्धन सन् २०२० को प्रचारात्मक अभियानमा टेवा पुर्याउने पनि संघको विश्वास रहेको छ।

पदयात्रामा सहभागी हुन दर्ता शुल्क वापत ५ सय रुपियाँ तिनुपर्ने र सो रकम पुनर्निर्माणको कोषमा राखिने पनि संघले जनाएको छ। सहभागीलाई कुमारी बैंकले प्रयोजन गरेको टिर्सट प्रदान गरिने संघका महासचिव मनोजबहादुर न्याछ्योले जानकारी दिनुभयो।

पुनर्निर्माणको लागि अहिलेसम्म बिके श्रेष्ठबाट १ करोड रुपियाँ, ललितपुर महानगरपालिकाबाट १ करोड रुपियाँ, प्रदेश सरकारबाट ५० लाख र विभिन्न दाताको तर्फबाट ५० लाख रुपियाँ गरी तीन करोड रुपियाँ सकलन भइसकेको छ।

त्यसैगरी मन्दिरको छानाको जिम्मा कल्याणकृष्ण ताम्रकार, दाँची इँटाको जिम्मा तीर्थलाल महर्जनले लिएको पनि समितिले जनाएको छ। पुनर्निर्माणको लागि सुन लेपन बाहेक ४ करोड ९३ लाख रुपियँँ लाग्ने अनुमान गरिएको छ।

ललितपुर उद्योग वाणिज्य संघले ‘सिड मनि’ को रुपमा संघले १० लाख रुपियाँ राखेर पुनर्निर्माण कार्य शुरु गरिएको थियो। निर्माणक्रम सँगै सहयोगी हात जुट्दै गएको समितिका अध्यक्ष कृष्णलाल महर्जनले जानकारी दिनुभयो।

प्रतिक्रिया दिनुहोस्