सडक सुरक्षामा प्रश्न



विनोद नेपाल
यातायात कुनै पनि मुलुकको समृद्धिको प्रमुख आधार र महत्वपूर्ण पूर्वाधार हो। त्यसमा पनि सडक यातायातको आफ्नै महत्व हुन्छ। हाम्रो जस्तो विकट एवं कठिन पहाडी भूबनोट भएको मुलुकका लागि सडक निर्माण निकै खर्चिलो हुन्छ, सँगसँगै जोखिमपूर्ण पनि।

तर लामो प्रयासपश्चात् हाल मुलुकका ७६ जिल्ला सदरमुकाम राष्ट्रिय सडक सञ्जालमा जोडिएका छन्। कर्णाली प्रदेशअन्तर्गतको हुम्ला जिल्लाको सदरमुकाम मात्र राष्ट्रिय सञ्जालमा जोडिन बाँकी छ।

यसबाहेक स्थानीय स्तरमा निर्माण भएका सडकहरू भने सबैजसो जिल्लामा गाउँ–गाउँसम्म विस्तार भइरहेका छन्। तर अझै पनि केही जिल्लामा नियमित यातायात सेवा सञ्चालन हुन सकिरहेको छैन। सडकको स्तरोन्नति तथा पुल निर्माण आदिका कार्य बाँकी नै भएकाले यसो भएको हो।

सडकको लम्बाइमा भएको वृद्धिसँगै सवारीसाधनको आयातमा पनि निकै वृद्धि भएको छ। अर्थात् सवारीसाधनको संख्या दिनदिनै बढिरहेको छ। सवारीसाधनको संख्यासँगै सवारी दुर्घटनाको क्रम पनि बढेको छ। ट्राफिक प्रहरीको पछिल्लो जानकारीअनुसार मुलुकभर सवारी दुर्घटनाबाट दैनिक ७ जनाको मृत्यु हने गरेको छ।

आर्थिक वर्ष २०७५/७६ मा मात्र सडक दुर्घटनामा परी २ हजार ७ सय ६२ जनाको मृत्यु भयो। अघिल्लो वर्षभन्दा गतवर्ष सवारी दुर्घटनामा मृत्यु हुनेको सख्ंया १ प्रतिशतले बढेको हो। आ.व. २०७४/७५ मा सडक दुर्घटनामा परी २ हजार ५ सय ४१ जनाको मृत्यु भएको थियो। चालू आर्थिक वर्ष प्रारम्भ भएयता पनि थुप्रै सवारी दुर्घटना भएका छन्।

पछिल्लो ठूलो दुर्घटना साउन २४ गते बिहान साढे ३ बजेको समयमा सर्लाहीको मलंगवाबाट काठमाडौं आउँदै गरेको यात्रुवाहक रात्रिबस धादिङ जिल्लाको सलाङघाटमा दुर्घटना हुँदा ठूलो मानवीय क्षति भयो।

सडक दुर्घटनामा सडकको दुरवस्था र चालकको लापरबाही प्रमुख का रण देखिन्छन्। गत आर्थिक वर्षमा कुल १३ हजार ४ सय २१ सडक दुर्घटना भएकोमा ९ हजार ९ सय ४० को कारण चालकको लापरबाही रहेको ट्राफिक प्रहरी निर्देशनालयको तथ्यांक छ। चालकको लापरबाही र सडकको दुरवस्थाले दुर्घटना अनुपात बढ्दै गएको प्रहरी अधिकारीहरू बताउँछन्।

चालकले सडकको अवस्थाको हेक्का नराखी ‘ओभर कन्फिडेन्स’मा गाडी हाँक्दा दुर्घटना हुने गरेको उनीहरूको धारणा छ। सडकको अवस्था ख्याल नगरी सवारीसाधन गुडाउँदा दुर्घटना बढेको हो भने अस्वस्थ प्रतिस्पर्धाले गर्दा पनि दुर्घटना बढेको प्रहरीको ठम्याइ छ।

यसरी एकातिर सडक पूर्वाधार नै कमजोर हुँदा त्यसले दुर्घटना बढाएको छ भने अर्कोतिर चालक दक्ष नहुनु, सडक संरचना गाडीमैत्री नहुनुका कारण दुर्घटना बढेकोले सडक संरचनामै ध्यान दिनुपर्ने आवश्यकता छ। हाम्रा राजमार्ग भनिएका सडकहरू नै नाममात्रका छन्। ती यात्रु बोकेर गुड्ने ठूला–ठूला गाडीहरू बल्लतल्ल वारपार हुने खालका छन्।

जिल्लास्तरका सडक र भित्री सडकको आफ्नै कथाव्यथा छ। पछिल्लो समय स्थानीय तहमा पनि सडकलाई प्राथमिकता दिइएका कारण गाउँ–गाउँ, टोल–टोल र घर–आँगनसम्म सडक पुगेका छन्। तर तिनको निर्माण कुनै मापदण्डमा भइरहेको छैन। सडक निर्माण सम्पन्न नहुँदै गाडीहरू गुड्न थाल्छन्। यसले गर्दा दुर्घटनाको क्रम बढेको छ।

तीव्र गतिमा कुदाउने, लामो दूरीका गाडीमा निश्चित दूरीपछि सवारीचालक फेर्नुपर्ने व्यवस्थाको पालन नगर्ने, सवारीसाधनको अवस्थाको नियमित परीक्षण नगर्ने जस्ता कारणबाट पनि दुर्घटना बढेको हो। सडक दुर्घटनाले एकातिर मृत्यु हुनेको संख्या बढ्छ भने अर्कोतिर अंगभंग र अशक्त हुनेहरूको संख्या पनि बढाउँछ। यसले परिवारलाई नै प्रभावित गर्छ। दुर्घटना आकस्मिक हुन्छ।
तर सडक दुर्घटनामा पर्ने अधिकांश यात्रु सक्रिय उमेरका नै हुन्छन्। सक्रिय उमेरका व्यक्ति र अभिभावक गुम्दा राज्य र परिवार दुवैलाई क्षति पुग्छ। यसैले एकातिर ट्राफिक नियमको पालन गर्ने र अर्कोतिर सुरक्षित सवारी सञ्चालन सुनिश्चित गर्नु राज्यको हितमा हुन्छ।
यातायात व्यवस्था कुनै पनि मुलुकको सभ्यताको परिचायक हो। व्यवस्थितरूपमा सवारी सञ्चालन भएको देख्नासाथ मानिसहरू प्रभावित हुन्छन्। तर हामी यसमा कमजोर छौं।

एकातिर शहरी यातायातको अवस्था लाज लाग्दो छ, अर्कोतिर राजमार्ग नामका सडकका धर्सामा बल्लतल्ल दोहोरो सवारी गुड्ने अवस्था छ। स्थानीय तहहरूमा सडक प्राथमिकतामा परेका छन् तर ती मापदण्ड र सुरक्षाभन्दा पनि कस–कसलाई सहज बनाउने भन्ने हिसाबले मात्र खनिएका छन्। यसरी खनिएका अधिकांश सडकको अवस्था जोखिमपूर्ण भए पनि तिनको अवस्था निरीक्षण नै नगरी यातायात सञ्चालन गर्ने गरिएको छ, जसले विभिन्न स्थानमा भयंकर दुर्घटना भएका छन्।

यसै गरी सवारीसाधनको अवस्था पनि दुर्घटनाको एक प्रमुख कारक हो। सवारीसाधनको नियमित परीक्षण गराउने प्रचलन छैन। यसले गर्दा दुर्घटना बढेको र जनधनको क्षति भइरहेको छ। यस्ता सडकमा अनुभवहीन र सिकारु चालकहरू धेरै पाइन्छन्। जोखिमपूर्ण सडकमा यस्ता चालकले सवारी चलाउँदा पनि दुर्घटना र मृत्यु बढेको हो।

यदि यात्रुको सुरक्षामा राज्यका सम्बन्धित पक्षको जिम्मेवारी र चासो छ भने तिनले दुर्घटनामा सहानुभूति दर्शाएर वा उद्धारका कुरा गरेर मात्र हुँदैन, दुर्घटनाको वास्तविक कारण पहिल्याई त्यस्ता अप्रिय घटना पुनः नदोहोरिऊन् भन्नका लागि सार्थक प्रयास थाल्नुपर्छ। सुरक्षित यात्रा गर्न पाउने नागरिकको हकको रक्षा र सुनिश्चितता गर्नुपर्छ।

 

लामो रुटमा चल्ने सवारीसाधनको हकमा निश्चित दूरीभन्दा बढी लगातार एकै चालकले गाडी हाँक्नु नहुने कानुनी व्यवस्था छ। तर त्यसको पालना भएको छैन। यदाकदा चालक नफेरिने होइनन् तर अधिकांशमा फेरिँदैनन्। यसो गर्दा थकावट महसुस हुने, निद्रा लाग्ने जस्ता कारणबाट पनि दुर्घटना हुन जान्छ। एउटा चालकले आफ्नो सवारीसाधनमा यात्रारत सम्पूर्ण यात्रुको जीवनरक्षाको जिम्मेवारी लिएको हुन्छ। उसकै अवस्था ठीक छैन, ऊ सामाजिक, पारिवारिक र मानसिक समस्या र तनावमा छ भने वा सवारीसाधन हाँकिरहेकै क्रममा तनाव सिर्जना गर्ने कुनै किसिमको जानकारी प्राप्त हुन आएमा उसको ध्यान अन्यत्रै मोडिन सक्छ। तर सवारीसाधन गुडाउँदा ध्यान एकाग्र गर्नुपर्ने र सानो त्रुटिबाट पनि भयंकर दुर्घटना निम्तिन सक्छ। यसैले पनि लामो दूरीका साधनमा दुई जना सवारीचालकको अनिवार्यता हुन्छ।

यसै गरी सवारीसाधनहरू तीव्र गतिमा गुडाउनु पनि दुर्घटनाको अर्को काराण हो। अस्वस्थ प्रतिस्पर्धा र अनावश्यक दौडधुपका कारण पनि दुर्घटना हुन्छन्। मानिसहरू सडकमै हिँड्ने र जनावरहरूसमेत सडकमै हिँड्दा त्यसबाट पनि दुर्घटना हुन सक्छ। हाम्रो सडकको अवस्थाको आफ्नै समस्या छ। एकातिर निर्माणमै लापरबाही र कमसल काम हुने, अर्कोतिर नियमितरूपमा मर्मत–सम्भार नहुने समस्या छ।
स–साना खाल्डाखुल्डी देखिनासाथ मर्मत नगर्ने र तिनलाई ठूलो बनाएर धेरै खर्च हुने गरी काम गराउँदा त्यसबाट अनुचित लाभ प्राप्त हुने भएर हो वा किन त्यस्तै गर्ने परम्परा नै बसेको छ, जसले सडक दुर्घटनालाई बढाउन सहयोग पुगेको छ।

हरेक दुर्घटनापछि सडक सुरक्षाको विषयलाई लिएर चर्चा–परिचर्चा हुन्छ तर न सवारीसाधनको अवस्थाको नियमित जाँचको व्यवस्था हुन्छ, न त चालक फेरिए÷नफेरिएको, अधिक बोझ बोके÷नबोकेको, गति सीमा पालन गरे÷नगरेको जस्ता कुराहरूको नै परीक्षण गर्ने गरिन्छ। कहिलेकाहीँ राजधानीभित्र देखाउनकै लागि यस्ता प्रयास भए पनि यी केवल चर्चामा आउनका लागि मात्र काम लाग्छन्। लामो दूरीमा यात्रा गर्ने यात्रुहरू जो विभिन्न उद्देश्यले सवारीमा बस्छन् तिनले चालकको विश्वास गरेका हुन्छन्, चालककै भरमा गन्तव्यमा पुग्ने विश्वासमा यात्रा गर्छन्।

ती गन्तव्यमा पुग्नै नपाई बीचैमा जीवनलीला समाप्त गर्न पुग्छन्। यसले परिवार, समाज सबैमा नपुरिने चोट लाग्छ। यसैले यस्तो अवस्थाप्रति राज्यको विशेष चासो र सजगता आवश्यक छ।

पछिल्लो ठूलो दुर्घटनाको कुरा गर्दा साउन २४ गते बिहानमात्रै सर्लाहीबाट काठमाडौं आइरहेको बस धादिङको बेनीघाट रोराङ–३, सलाङघाटस्थित त्रिशूली नदीमा खस्दा झन्डै एक दर्जनको ज्यान गयो, कतिपय अझै बेपत्ता छन्। घाइतेहरूको उपचार भइरहेको छ। विगतका अन्य दुर्घटनाको जस्तै यस दुर्घटनापछि पनि सडक सुरक्षाको विषयलाई लिएर विभिन्न चर्चा–परिचर्चा भए र हुँदै पनि छन् तर सुरक्षाका लागि थप सजगता अपनाइँदैन।

हवाई क्षेत्रमा कुनै दुर्घटना भएमा त्यसको जाँचबुझका लागि आयोग गठन हुन्छ, प्रतिवेदन तयार हुन्छ, कारण पत्ता लगाउने प्रयास गरिन्छ।

तर गाडीहरूको दुर्घटनामा ठूलै मानवीय क्षति भए पनि के कारणले दुर्घटना भयो भन्ने कुरा पहिल्याउने प्रयास गरिँदैन। किनकि सम्भवतः दुर्घटनाका कारण प्रायः उनै हुन्छन् जुन सबैले बुझेको कुरा हो– अधिक गति, थकित चालक, अन्यत्र ध्यान पुग्नु, आकस्मिक अवरोध अनि निद्रा र प्राविधिक समस्या।

यदि यात्रुको सुरक्षामा राज्यका सम्बन्धित पक्षको जिम्मेवारी र चासो छ भने तिनले दुर्घटनामा सहानुभूति दर्शाएर वा उद्धारका कुरा गरेर मात्र हुँदैन, दुर्घटनाको वास्तविक कारण पहिल्याई त्यस्ता अप्रिय घटना पुनः नदोहोरिऊन् भन्नका लागि सार्थक प्रयास थाल्नुपर्छ। सुरक्षित यात्रा गर्न पाउने नागरिकको हकको रक्षा र सुनिश्चितता गर्नुपर्छ।

सवारीसाधनको अवस्था र चालककै अवस्थाको समेत आकस्मिकरूपमा परीक्षण गर्ने गर्नुपर्छ। चालकको अनुभव र योग्यताको परीक्षण गर्नुपर्छ। लामो दूरीको सवारीसाधनको हकमा चालक फेरिए÷नफेरिएको र सवारी सञ्चालनप्रति यात्रुको कुनै गुनासो भए त्यस्तो गुनासोको सम्बोधन गर्नेतर्फ पनि प्रयास गर्नुपर्छ। सवारी चाप बढेको बढ्यै गर्ने, सडकको अवस्था उस्तै रहने र चालक पक्षमा ध्यान नपुर्याउने हो भने सवारी दुर्घटना अझ बढिरहन्छ।

तसर्थ ठूला घटनामा चासो देखाउने र फेरि उसै गरी भुल्ने चलन अन्त्य गर्नुपर्छ। सडक सुरक्षासँग जोडिएका सबै पक्षको सुधार नै दुर्घटना न्यूनीकरणको पहिलो सर्त हो। यसतर्फ जिम्मेवार निकायको ध्यान जानुपर्छ। अन्यथा सवारी दुर्घटनासँगै मृत्यु र अंगभंगको क्रम जारी नै रहनेछ।

प्रतिक्रिया दिनुहोस्