समानुपातिक समावेशिताका साथ आयो ‘गणतन्त्रको यात्रा’



नेपाल समाचारपत्र, काठमाडौं ।
लोकतन्त्रका परिवर्तित मूल्य–मान्यतालाई समयमै आत्मसात् गर्ने अगुवाका रुपमा परिचित नेपाली कांग्रेसका नेता नरहरि आचार्यले ‘गणतन्त्रको यात्रा’ नामक ६ सय ३८ पृष्ठको पुस्तक प्रकाशित गर्नुभएको छ ।

दायाँ हात र गोडामा परेको पक्षाघातको असरसँग विगत साढे तीन वर्षदेखि लड्दै आएका आचार्यले शनिबार आयोजित पुस्तक विमोचन कार्यक्रममा भन्नुभयो, नेपाली कांग्रेसले स्वीकार गरेका राष्ट्रियता, प्रजातन्त्र र समाजवाद मेरा मान्यताहरु हुन्, गणतन्त्र समयको माग थियो, हामीले स्वीकार ग¥यौं, लोकतन्त्रको विकसित स्वरुपमा समानुपातिक समावेशितालाई व्यवहारमा उतार्नैपर्छ, मैले यस्तै विश्वासका साथ गणतन्त्रको यात्रा लिएर आएको छु ।
गणतन्त्रका शुरुवातकालीन अभियन्तासमेत रहेका नेता आचार्यको गणतन्त्रको यात्रा जेल दैनिकी हो । दोस्रो जनआन्दोलन शुरु हुनुभन्दा अघिदेखि नै गणतन्त्रका पक्षमा अभियान चलाएका आचार्य बौद्धिक समुदायलाई सामयिक खुराक पस्किने थोरै नेतामध्ये एक हुनुहुन्छ ।

गणतन्त्रको यात्रा पुस्तकको विश्लेषण गर्दै पत्रकार धर्मेन्द्र झाले भन्नुभयो, २०६१ सालको राजा ज्ञानेन्द्रको कूपछि नेपाली राजनीतिको कोर्स कसरी परिवर्तन भयो, नेता–कार्यकर्ताको धरपकड कसरी गरियो, बन्दीहरुमाथि कस्तो व्यवहार भयोआदि प्रसंग मात्र यस किताबमा छैनन्, नेपाली लोकतान्त्रिक आन्दोलनको सम्पूर्ण वृत्तान्त यसमा समेटिएको छ ।

२०६१ माघ २१ गते पक्राउ परेका आचार्य कितावका सम्बन्धमा भन्नुहुन्छ, ‘पुस्तक एक समयको मेरो बन्दी जीवनको वृतान्त हो । म बन्दी रहेको त्यही कालखण्डले नै नेपालमा गणतन्त्रको आगमनलाई थप सुनिश्चित ग¥यो र परिवर्तनको आधार तयार भयो ।’

नेपाली लेखक संघको आयोजनामा सम्पन्न किताब विमोचन कार्यक्रममा डा. तुलसी भट्टराई, नेका प्रवक्ता विश्वप्रकाश शर्मा, लेखक कृष्ण धरावासीलगायतले आ–आफ्ना धारणा राख्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्