उपनिर्वाचनको तयारीमा लाग्यो आयोग



सुनील महर्जन, काठमाडौं ।
निर्वाचन आयोगले आउँदो मंसिर १४ गते हुने उपनिर्वाचनका लागि तयारी शुरु गरेको छ ।

निर्वाचनको मिति तोकिएलगतै उपनिर्वाचनको मिति थालिएको आयोगले जनाएको छ । २०७४ सालमा सम्पन्न स्थानीय तह, प्रदेश र संघीय संसद्को निर्वाचनपछि रिक्त रहेको पदमा एकै दिन उपनिर्वाचन गराउने गरी आयोगले तयारी थालेको प्रवक्ता शंकरप्रसाद खरेलले नेपाल समाचारपत्रलाई जानकारी दिनुभयो ।

निर्वाचनको मिति घोषणासँगै उपनिर्वाचनका लागि मतदाता नामावली संकलन कार्य पनि आयोगले रोकेको छ । मतदाता नामावली ऐन, २०७३ बमोजिम निर्वाचनको मिति घोषणा भइसकेपछि सो निर्वाचनको प्रयोजनको लागि मतदाता नामावलीमा नाम दर्ता गरिने छैन भन्ने व्यवस्था रहेको छ ।
प्रवक्ता खरेलका अनुसार ७७ वटै जिल्ला निर्वाचन कार्यालय, जिल्ला प्रशासन कार्यालय र तोकिएको इलाका प्रशासन कार्यालयबाट मतदाता नामावली संकलन गरेको थियो । संकलन गरिएका मतदाता नामावलीलाई अन्तिम रुप दिने तयारी भइरहेको आयोगले जनाएको छ ।

मतदाता नामावलीलाई अन्तिम रुप दिएपछि आयोगले निर्वाचन कार्यतालिका सार्वजनिक गर्ने भएको छ । निर्वाचन अधिकृतको कार्यालय खोल्ने, कार्यालय खोलिसकेपछि मुख्य निर्वाचन अधिकृत कार्यालयले प्रतिनिधि उम्मदेवारको मनोनय दर्ता, चुनाव चिन्ह प्रदान, मतदाता नामावली र सवारीसाधनको अनुमति दिनेदेखि निर्वाचन आचारसंहिता अनुगमनसमेत गर्नेछ ।

कार्यालयले निर्वाचनलाई स्वच्छ र पारदर्शी बनाउन मतदान केन्द्रको उचित व्यवस्थापन, केन्द्रमा दक्ष कर्मचारी खटाउने, केन्द्रबाटै मतदाता परिचयपत्र वितरण गर्ने, आवश्यक निर्वाचन सामग्री र मतपत्र समेतको व्यवस्थापन गर्ने भएको छ ।

मतदान स्थल र केन्द्र तोक्नेलगायत निर्वाचनको तयारीहरु क्रमिक रुपमा अघि बढाउने पनि प्रवक्ता खरेलले जानकारी दिनुभयो । त्यसै गरी निर्वाचन आचारसंहिता लागू गर्ने, पर्यवेक्षणको प्रबन्ध मिलाउने कार्य पनि अघि बढाउने भएको छ ।

आयोगको विवरणअनुसार अहिले ५० ठाउँमा उपनिर्वाचन गराउनुपर्ने छ । प्रतिनिधिसभा सदस्यका लागि कास्की–३ मा उपचुनाव गराउनुपर्ने छ । कास्की–३ बाट चुनाव जितेका नेकपाका सांसद रवीन्द्र अधिकारीको हेलिकोप्टर दुर्घटनामा निधन भएपछि सो ठाउँ खाली भएको थियो ।

त्यस्तै बाग्लुङ २ ‘ख’ बाट गण्डकी प्रदेश सांसद भएका टेकबहादुर घर्ती, प्रदेश ५ को दाङ ३ ‘ख’ बाट निर्वचित उत्तरकुमार ओली र प्रदेश ३ को भक्तपुर १ ‘ख’ बाट निर्वाचित हरिशरण लामिछानेको निधन भएपछि प्रदेशसभाका तीन स्थान खाली भएको छ ।

त्यसै गरी, सुनसरीको धरान उपमहानगरपालिकामा प्रमुख तारा सुब्बाको निधन भएपछि सो नगरपालिका प्रमुखविहीन छ भने तीनवटा गाउँपालिका अध्यक्षको पदपूर्ति पनि उपचुनावबाटै गर्नुपर्ने भएको छ । एक ठाउँमा उपाध्यक्ष र ३६ जिल्लाका ४१ वटा वडा अध्यक्षका लागि उपनिर्वाचन गर्नुपर्ने आयोगका प्रवक्ता खरेलले जानकारी दिनुभयो ।

निर्वाचनमा विद्युतीय मतदानको प्रयोग गर्नेबारे छलफल भइरहेको आयोगले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्