भिल्लाको देशमा मणि



कमल ढकाल

एक कथाबाट कुरा सुरु गरौ ।
एकपटक देवराज इन्द्र यमराजलाई विशेष कामले भेट्न गएछन् । बाटोमा नदी थियो । नदीको किनारमा यमराज उभिए । हिँड्दै जाँदा इन्द्रले बाटोमा सुनको कमलको फूल देखे । त्यो पनि उल्टो गतिमा गइरहेको देखे । मनमा प्रश्नले लखेट्यो । कहाँ जान्छ यो फूल आज पछ्याऊँ न त । फूलको पछिपछि जाँदा इन्द्र हिमालयको छेउमा पुगे ।

त्यो एकलासको ठाउँमा अत्यन्त रुपवती केटी रोइरहेको देखे । फेरि जिज्ञासा भयो यी को हुन् ? किन रोइरहेकी छन् ? सोधी पनि हाले । केटीले आऊ मेरो पछि लाग म बताउँछु भनेर इसारामा भनिन् । इन्द्र रुपवतीको पछि लुरुलुरु लागे । त्यस्तो हिमालको टुप्पो नजिक एक जोडी प्रेमी आलिङ्गनमा चुर्लुम्म डुबेको देखे । उनीहरु रति क्रियामा मस्त हुन थाले ।

इन्द्रलाई रिस उठ्यो । म त इन्द्र पो हँु । मेरो अगाडि यस्तो । इन्द्र चिच्याए । ए को हो तिमीहरु ? जब त्यस जोडीले इन्द्रलाई हेरे । सातोपुत्लो उड्यो इन्द्रको । जोडी त शिव–पार्वती पो रहेछन् । शिवजीले आफ्नो रति क्रिया बिथोलेको भनेर श्राप दिए । देव योनीबाट मानव योनीमा जन्म हुनु परोस् तिम्रो इन्द्र भनेर ।
कहाँ हिँडेका इन्द्र कहाँ गएर फसे । कारण एउटै थियो । लक्ष्यबाट बिचलित भई अन्य आकर्षित कुरामा भुल्दै गएका कारण न किनारपारिका यमराजलाई भेटे, न अरु देखिएका कुराबाट नै सन्तोष मिल्यो ।

चालीस वर्षदेखि एउटै क्षेत्रमा लागेर सफलताको मीठो फल चाखेका डाक्टर ऋषि कोइरालाले यो कथा पढे पनि नपढे पनि व्यवहारमा लक्ष्यबाट कहिल्यै बिचलित भएका रहेनछन् । त्यसैले त आयुर्वेदिक औषधिलाई मान्छेले त्यति मतलब नगरेको वर्तमान समयमा डाक्टर ऋषि भने विदेशीलाई लाइन लगाएर नेपालमा उपचार गर्दै छन् । वर्तमान हीनताबोधग्रस्त राजनीतिले गोरो छाला देख्नेबित्तिकै जी हजुरी गर्ने बीच डाक्टर ऋषि त्यस्ता नेपाली हुन् उपचार गराउन विदेशीहरुले उनलाई खर्च दिएर बोलाउँछन् । उपचारकै लागि डाक्टर ऋषि क्यानडा, अस्ट्रिया, जापान, जर्मनलगायतका २४ देश गइरहन्छन् ।

सुन्नेलाई अचम्म लाग्न सक्छ उपचार गराउन नेपाली आयुर्वेदका डाक्टर विदेशमा । हीन मनोग्रन्थीले ग्रसित नेपालीका बीचमा डाक्टर ऋषि एक ग्लुकोज हुन्, जसको नामले पनि नेपाली हुनुको आनन्द आउँछ । संसारका विभिन्न मुलुकमा गई वर्षाैंदेखि चुपचाप हजारौं विदेशीलाई उपचार गराइसकेका रहेछन् ।

युट्युबमै हेरे उनको विदेशी र स्वदेशीसँगको प्रश्नोत्तरको भिडियो प्रशस्त छ । विभिन्न देशमा एक विज्ञको हैसियतमा जाने उनलाई अस्ट्रियाको भियनास्थित लेडी गाइड म्यागाजिनकी चिफ इडिटर सिल्भिया सिमा कार्लले नेपालमा किन जाने आयुर्वेदका लागि भारत र श्रीलंका पनि त राम्रो छ नि ? भन्ने प्रश्न गरेकी रहिछन् । यस्तो प्रश्नमा देशभक्तिले भरिपूर्ण डाक्टर ऋषिले नेपाल हेल्थ टुरिजमका लागि राम्रो ठाउँ रहेको बताएका रहेछन् । साथै भनेका रहेछन्– आयुर्वेदिक औषधिको इतिहास वेदसँग जोडिएको छ । त्यसमा प्राचीन ऋषिमुनिहरुले हिमालका जडीबुटीबाट आयुर्वेदिक औषधि बनाउने लेखिएको छ । नेपाल हिमालयन कन्ट्री भएकाले नेपालमा जानु विशेष महत्व राख्छ । तर्कपूर्ण तथ्यसहितको उत्तरले हो नेपाल जानैपर्ने रहेछ भनेर उनले भनेकी रहिछन् ।

सरकारलाई भने डाक्टर ऋषिजस्तो मान्छे भिल्लाको देशमा मणिझैं भएको छ । माल पाएर पनि चाल नपाएपछि डाक्टर ऋषिको स्वास्थ क्षेत्रमार्फत देश नै धनी बनाउन सकिने सपना थाँथी रहेकोे छ ।

ऋषिको आयुर्वेदिक ज्ञान बाहिरकोलाई जति महत्व राखेको छ, नेपालीलाई भने धेरै कम । धापासीको सहन्साह होटल नजिकै रहेको उनको आयुर्वेदा होममा नेपलीको भन्दा विदेशीको ताँती देख्दा आफैं पनि चकित परियो । डाक्टर कोइरालाले भन्दै थिए– भर्खर गएकी ती गोरी जर्मनकी नामुद प्रोफेसर हुन् । लाग्यो हीराको महत्व नजिक बस्नेले थाहा नपाउने रहेछ । टाढाबाट नै टल्कन पर्ने रहेछ । एक सय बढी राष्ट्रका मान्छे एक दिनदेखि ३५ दिनसम्म उपचार गरेका छन् उनको क्लिनिकमा । नेपालीलाई त्यत्ति सुइँको नै छैन ।
प्राइभेटमा नेपालको पहिलो मानिएको आयुर्वेदा होमले दिनदिनै तरक्की गर्दै छ, चुपचाप सँग । जापानका तथा विभिन्न देशका प्रोफेसर अनि विदेशका मन्त्री आउँदै जाँदै गर्छन् । संसारका प्रख्यात ती हरेक मान्छेलाई उनी पनि केवल विमारीको ढंगमा समान व्यवहार गर्दै पठाउँछन् । आएका बिरामीले थप प्रचार गर्दा भीड बढ्दै गएको छ ।

जन्मँदै जर्नेल हुने परिवार हैन ऋषिको । लमजुङ किरिचेको दुराडाँडा पारिपट्टिको मध्यम परिवारमा जन्मेका उनका बाबुआमा सानैमा बिते । दाजुको काखापोल्टामा हुर्केका ऋषिको नवलपरासी सरेपछि त्यही नै शिक्षादीक्षा भयो । ६ भाइमध्ये काइँलो थिए ऋषि । जेठो दाजु हेमराज कोइराला प्रजातान्त्रिक आन्दोलनका कारण जेलनेल परे । राजनीतिक संस्कार बोकेको परिवार भएकाले पनि पढ्नै पर्छ भन्ने ऋषि परेको थियो ।

उमेरले कसलाई पो छोड्छ र काम गरे पनि नगरे पनि बढ्छ । स्कलरसिप लिएर नरदेवीमा पढेका ऋषि आयुर्वेदमै तानिँदै गए । जहाँ गरे पनि राम्रो गर्न सक्छु भन्ने जब मान्छेले सोच्छ मान्छे स्वतः राम्रो बन्दै जान्छ । दश वर्षको इतिहासमा सबभन्दा बढी मार्क ल्याएको मान्छेमा उनी नै गनिए । कोलोम्बो प्लानबाट ग्वालिअरको युनिभर्सिटी पढे । पढेर फर्केपछि आयुर्वेदमा अधिकृत भए । नरदेवी आर्युवेदिक अस्पतालमा काम गर्न थाले । १३ वर्ष खाएको सरकारी जागिर छाडे । छ दशक प्लसका ऋषिका छोरा दुवै आ आफ्नो काममा लागिसके ।

राम्रो गर्न पर्छ जैले पनि दिन आउँछ । बनारसमा पढ्दा मेहनत गरेर रिसर्च गरेका थिए डाक्टर ऋषिले । रिसर्च देखेर बनारसबाट जर्मनीहरु उनलाई लिन नेपाल आए । जर्मनीलाई उपचार गराउन जान आउने गर्छन् उनी । अहिले आयुर्वेदा होममा जर्मनको सहयोग छ । विगत डेढ दशकदेखि आयुर्वेदा होम मज्जाले चलिरहेको छ । चार जनाबाट सुरु गरेको ठाउँमा अहिले ६० प्लस स्टाफ छन् । राजधानी बाहिर पोखरामा पनि खोलिएको छ । सरुवा रोग र चौबीस घन्टा एटेन्सन दिन पर्ने रोगबाहेक अरु सब उपचार हुन्छ ।

अस्पताल, एकेडेमी, रिसर्च सेन्टर बनाउन ऋषिमार्फत ८२ करोडको प्रोजेक्ट आएको थियो विदेशी सहयोगमा । आफ्नो देशमा आउने कामलाई पनि सरकारी तवरबाट असहयोग हँुदा त्यतिकै तुहियो । जापानी प्रोजेक्ट हार खाएपछि फेरि ६२ करोडको नेसनल आयुर्वेद रिसर्च सेन्टरको प्रपोज आयो त्यो पनि असहयोगका कारण बन्न सकेन । ऋषि आफैंमा आयुर्वेद क्षेत्रको एक कल्पवृक्ष हुन् । जसको फेदमा बसेर सरकारले र जनताले धेरै फाइदा लिन सक्छ । विदेशीले अहिले पनि उनलाई ६० मिलिनियमको प्रोजेक्टको इन्टरनेसनल कन्सल्टेन्ट बनाउँदै छ । सरकारलाई भने डाक्टर ऋषिजस्तो मान्छे भिल्लाको देशमा मणिझैं भएको छ । माल पाएर पनि चाल नपाएपछि डाक्टर ऋषिको स्वास्थ क्षेत्रमार्फत देश नै धनी बनाउन सकिने सपना थाँती नै बसेको छ ।

जैबिक बिबिधताले भरिपूर्ण यो देशमा हेल्थ टुरिजम गर्न सकिने । आर्यबेदको विश्वविद्यालय र रिसर्च सेन्टर डेभलप गरेर संसारलाई आकर्षित गर्न सकिने उनका कुरा कसैले सुनिरहेका छैनन् । अरुले नसुने पनि भाइ बद्रिलाई लिएर अनि केही जर्मन सहयोगीलाई लिएर गरेको धिपधिपे दियो आयुर्वेदा होमले भए पनि नेपालको नाम विश्वभर चिनाएको छ । श्रीमती रेखा कोइरालाले हातमा हात राखेकी छन् ।

प्रतिक्रिया दिनुहोस्