एसईई पछिको शिक्षाः खुल्यो ढोका



ईश्वरराज ढकाल,
विद्यार्थी आफ्नो जीपीएको आधारमा भर्ना हुन विद्यालय खोज्न भौतारिरहेका छन्। कहाँ पढ्ने र कुन विषय लिएर पढ्ने भन्ने विषयमा विभिन्न विद्यालय खोज्दै हिँड्न थालेका छन् किशोरकिशोरी।

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले कक्षा १ देखि १२ सम्मलाई माध्यमिक तह घोषणा गरिसकेको छ। नाम चलेका विद्यालयमा विद्यार्थीको भीड बढ्न थालेको छ। कक्षा ११ र १२ तहमा उत्कृट नतिजा ल्याउन सफल विद्यालयमा विद्यार्थीको भीड बढ्नु स्वाभाविक रहेको ट्रिनिटी इन्टरनेसनलका सञ्चालक उमेश थापाको भनाइ छ।

‘नाम चलेका त्यस्ता उमाविले यो वर्ष भर्ना हुनका लागि विज्ञापन खोलेका छैनन्। अब विज्ञापन गर्नुभन्दा पनि उत्कृटताको परिचय दिनु हाम्रो उद्देश्य हो।’ –थापा भन्नुहुन्छ। तर, नयाँ खुलेका केही माविले विद्यालयले विद्यार्थीलाई आकर्षित गर्न विभिन्न विज्ञापन गरिरहेका छन्। ४ जीपीए ल्याएका उत्कृष्ट विद्यार्थीलाई आफ्नो विद्यालयमा तान्न होडबाजी गरिरहेका छन्।

ठूला माविमा विद्यार्थीको चाप बढ्न थालेको छ। कक्षा ११ र १२ मात्र अध्ययन गराइरहेका केही विद्यालयले १२ कक्षासम्म सञ्चालन गर्न पाउनुपर्ने माग गर्दै आइरहेका छन्। त्यसो भए कक्षा ८ सकेका विद्यार्थी ९ देखि १२ सम्म अध्यापन गराउने विद्यालयमा भर्ना हुने बाटो खुल्छ।

जेभियर्स इन्टरनेसनल माविमा सञ्चालक लोकबहादुर भण्डारीले विद्यार्थीलाई उत्कृष्ट शिक्षा दिएका कारण विद्यालयमा विद्यार्थीको भीड लाग्नु स्वाभाविक भएको बताउनुहन्छ। तर, विद्यालयका बारेमा केही जानकारी गराउनुपर्ने भएकाले न्यून मात्रामा विज्ञापन गर्नुपरेको उहाँको तर्क छ।

कहाँ कुन विषय लिएर पढ्ने भन्ने विषयमा छनोट गर्ने अधिकार विद्यार्थीकै भएको तर्क राख्दै विज्ञापन हेरेर विद्यालय छनोट गर्ने प्रवृत्ति गलत भएको अभिभावक महासंघका अध्यक्ष सुप्रभात भण्डारीको तर्क छ। उहाँ भन्नुहुन्छ– ‘विज्ञापन हेरेर होइन, विद्यालयको विगतको अवस्था हेरेर विद्यालय छनोट गर्नु उचित हुन्छ।’

कसैको लहलहैमा भन्दा पनि विद्यार्थीको चाहनाअनुसार विद्यालय छनोट गर्नु उचित हुने उहाँको तर्क छ। विद्यार्थी पनि प्रवेश परीक्षामा सहभागी हुँदा एसईई परीक्षामा पढेका विषयलाई ध्यान दिनुपर्छ। विद्यार्थीले प्राप्त गरेको जीपीएको आधारमा कलेजले विद्यार्थी छनोट गर्ने गरेका छन्। त्यसको अलावा प्रवेश परीक्षा दिँदा विद्यार्थीले अनिवार्य विषय अध्ययन गर्नु आवश्यक हुन्छ। निजी विद्यालय सञ्चालकहरू विद्यालयमा विद्यार्थीलाई काउन्सिलिङ गर्न थालेका छन्। जुनविद्यालयले उत्कृष्ट शिक्षा दिँदै आएका छन्। त्यही विद्यालयमा भर्ना हुन सबैलाई आग्रह गर्दै हिसानका महासचिवसमेत रहेका जेभियर्सका सञ्चालक भण्डारीको भनाइ छ। एसईई पछिका दुई वर्ष अर्थात् ११ र १२ कक्षाको पढाइ विद्यार्थीका लागि धेरै महत्वपूर्ण तह र अवधि हो। यसले विद्यार्थीको भावी अध्ययन मार्गदर्शन गर्दै उनीहरूको भावी पेसा, क्षेत्र र करियरको निक्र्योल पनि गर्छ।

अहिले विद्यालयले विज्ञान, व्यवस्थापन, मानविकी, शिक्षा, कानुन, फाइन आट्र्स तहका लागि भर्ना खुला गरेका छन्। कतिपय विद्यालयले प्राविधिक शिक्षामा समेत भर्ना खोलेका छन्।

विद्यार्थीले कुन तह पढ्ने मात्र होइन ती तहभित्र पनि कुन–कुन विषय पढ्ने र आफ्नो करियर बनाउने भन्ने विषयमा विद्यार्थीले ध्यान दिनुपर्छ। कसैको लहलहैमा भन्दा पनि विद्यालय र शिक्षकको सल्लाहमा विद्यालय छनोट गर्न आग्रह गर्दै एम्स एकेडेमीका प्राचार्य टीआर ढकाल भन्नुहन्छ– ‘कस्तो विद्यालय छनोट गर्ने विषय विद्यार्थीमा भर पर्ने भन्दा पनि विद्यालयको विगतको अवस्थाको आधारमा भर्ना हुनुपर्छ। ठूलो भवन, बढी शुल्क लिने विद्यालय छनोट गर्ने परम्परा भन्दा पनि विगत इतिहास हेरेर भर्ना हुनु उचित रहेको बताउनुहुन्छ।

कस्तो विषय लिँदा भविष्यमा मा राम्रो अवसर पाउन सकिन्छ भन्ने चाहना बोकेका विद्यार्थीले विद्यालय छनोट गर्नुपर्ने उहाँको धारणा छ। कक्षा १२ सम्मको विद्यालय शिक्षाको पठनपाठन पूरा भएपछि स्नातक तहमा थुप्रै विषय छनोट गर्न पाइन्छ। तर, माध्यमिक तहमा मानविकी विषय लिएकाले स्नातक तहमा विज्ञान विषय लिन पाइँदैन।

त्यसैले स्नातक तहमा धेरै संकायले खास–खास विषयको अध्ययन गरेकालाई मात्र प्रवेश दिने व्यवस्था गरेकाले कक्षा ११ मा भर्ना हुँदा आफूले उच्च माध्यमिक तह पूरा गरेपछि स्नातक तहमा कुन कुन विषय अध्ययन गर्न पाइनेछ भन्ने बारेमा शिक्षकसित सल्लाह गर्नु बढी राम्रो हुनेछ। नेपालमै पनि केही राम्रा निजी विद्यालयहरूले विद्यार्थीलाई परामर्श दिने गरेका छन्।

तर, अधिकांश माविले आफ्ना छोराछोरीको चाहनाअनुसार भर्ना गरेको पाइन्छ। क्षणिकरूपमा त्यो ठीक भए पनि कालन्तरमा असर पर्ने भएकाले ठोस परामर्शको आधारमा भर्ना हुनु महत्पूर्ण हुन्छ। स्नातक तहमा कुनै विषयमा विशिष्टीकरण (स्पेसिलाइजेसन) गर्नुपर्ने हुने भएकाले मावि तहमामा इच्छाधीन विषय छनोट गर्दा बुद्धि पुर्याउनु जरुरी छ। विद्यालयतहमा पहिलो वर्ष अर्थात् कक्षा ११ मा नेपाली र अंग्रेजी अनिवार्यबाहेक इच्छाधीनका रूपमा तीन वटा विषय छनोट गर्न पाइन्छ। विभिन्न ६ वटा समूह विभाजन गरिएको छ र तीमध्येबाट कुनै तीन वटा विषय छनोट गर्नुपर्ने हुन्छ।

यो वर्षसम्म कक्षा ११ र १२ मा ५७ वटा विषयका पाठ्यक्रम लागू गरेको छ। भौतिकशास्त्र, प्राणीशास्त्र, रसायनशास्त्र, होटल व्यवस्थापन, इतिहास, भूगोल, संस्कृति, अर्थशास्त्र, संगीत, कृषि, गृहविज्ञान, आमसञ्चार, ग्रामीण विकास, गणित, वाणिज्य शिक्षा, सहकारी व्यवस्थापन, राजनीतिशास्त्र, जनसंख्या शिक्षा, कम्प्युटर शिक्षा, ज्योतिष, साहित्य, पेन्टिङलगायतका विषयहरू छनोट गर्न सकिन्छ।

भाषाका विषयहरूका रूपमा अंग्रेजी, हिन्दी, मैथली, नेवारी, जर्मन, जापानी, उर्दू, फ्रेन्च र नेपालीको पाठ्यक्रम तयार छ। तीमध्ये जापानी र फ्रेन्चमा भने हालसम्म कुनै शिक्षण संस्थाले पठनपाठन गरेको छैन। कक्षा १२ मा विज्ञान विषय लिएका विद्यार्थीबाहेकका लागि इच्छाधीन चौथो विषयका रूपमा १७ वटा विषय पनि समावेश छ।

तीमध्ये मार्केटिङ, साधारण गणित, साधारण विज्ञान, सामाजिक शिक्षा, ग्रामीण अर्थशास्त्र, खाद्य र पोषण, कलाको इतिहास, प्राथमिक शिक्षा, प्रयोगात्मक शिक्षा, विशेष आवश्यकता शिक्षा, संस्कृत व्याकरण र रचनालगायतका विषयमध्येबाट एउटा छनोट गर्नुपर्ने हुन्छ ।

प्रतिक्रिया दिनुहोस्