समिट एयरको विमान दुर्घटना: ३ जनाको मृत्यु २ घाईते



बुद्धवीर बाहिङ, सोलुखुम्बु । सोलुखुम्बुको तेञ्जिङ हिलारी विमानस्थल लुक्लामा आइतबार भएको विमान दुर्घटनामा ३ जनाको मृत्यु भएको छ । समिट एयरको विमान लुक्लाबाट रामेछापको मन्थलीका लागि उडान भर्ने क्रममा धावनमार्गबाट चिप्लिएर दायाँतिर मोडिदा मनाङ एयरको हेलिकोप्टरसँग ठोक्किएपछि दुर्घटनामा परेको थियो ।

मृत्यु हुनेमा विमानस्थल सुरक्षाका लागि खटिएका प्रहरी प्रहरी सहायक निरीक्षक रुद्रबहादुर श्रेष्ठ, पर्यटक प्रहरी सहायक निरीक्षक रामबहादुर खड्का र समिट एयरका कोपाईलट सुजित ढुंगानाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्वुका प्रहरी निरीक्षक देउप्रसाद लिम्बुले जानकारी दिनुभयो । घाईते हुनेमा मनाङ एयर हेलिकोप्टरको क्याप्टेन टेकबहादुर गुरुङ र समिट एयरका क्याप्टेन रविन्द्रबहादुर रोकाया र मनाङ एयरका कर्मचारी लाक्पा शेर्पा रहेको प्रहरी निरीक्षक लिम्बुले जानकारी दिनुभयो । घाइतेको उपचारका लागि काठमाडौं पठाइएको छ । घाईते मध्ये मनाङ एयरका क्याप्टेन गुरुङ र समिट एयरका क्याप्टेन उपचार पछि घर फर्कनु भएको छ । बिमान परिचारिका भने शकुसल हुनुहुन्छ ।

https://youtu.be/toGXKnARHsE

नाइन एन एएमएच कल साइनको विमान तीब्र बेगमा पंखा घुमाएर उच्च गतिमा गुड्न थालेको ५ सेकेण्डमै दुर्घटनामा परेको थियो । धावनमार्गमा करिब १०० मिटर जत्ति गुड्न नपाउँदै जहाज दायाँतिर मोडिएर दुर्घटनामा परेको थियो । हवाई उड्डयन सँग सम्बन्धित यस्ता कयौं आश्चर्यचकित घटनाहरु भएका छन् । जुन नेपालको कुनै पनि एयरपोर्टमा नभई ती सबै लुक्लामै मात्र भएका छन् । विमानस्थल मै पुगेर मात्र ४÷५ वटा दुर्घटना भइसकेका छन् ।

अन्तराष्ट्रिय नागरिक उडड्यन प्राधिकरण (आइकाओ) को सूचीमा समेत लुक्ला विमानस्थललाई संसारकै सबैभन्दा खतरा र जोखिमपूर्ण विमानस्थलमा राखिएको छ ।


लुक्लासँग जोडिएका आश्चर्यजनक हवाई दुर्घटनाहरु 
१८ जना हवाईयात्रुको ज्यान जाँदा पनि पाईलट शकुसल
सन २००८ को अक्टोबर ८ तारिखको दिन काठमाडौबाट सोलुखुम्बुका लागि बिहान ६ बजेर ५१ मिनेटमा उडेको नाइन एन एफएई ट्वीअटर विमान ७ बजेर ३३ मिनेटमा लुक्ला विमानस्थलमा दुर्घटना भएको थियो ।

जसमा १४ जना विदेशी र ४ जना नेपालीको ज्यान गएको थियो । चालक दलका २ जनाको ज्यान गए पनि जहाजका क्याप्टेन सुरेन्द्र कुवँर बाँच्न सफल भएका थिए । राम्रै भिजिबिलिटि रहेका बेला काठमाडौबाट उडेको उक्त विमान अवतरणका क्रममा मौसम प्रतिकुलताका कारण धावनमार्गमा चिप्लिएर दुर्घटना भएको थियो ।

अवतरण गर्दा होटलको गेटमा छि¥र्यो
सन् २०११ को अक्टोबरमा पिलाटस पोर्टरको विमान लुक्ला विमानस्थलमै अवतरण गर्ने क्रममा दुर्घटनामा भएको थियो । उक्त विमान अवतरणका क्रममा होटल ला भिल्लाको गेटमा ठोक्किएर दुर्घटना भएको थियो ।

तारजालीमा हेलिकोप्टर अल्झियो
सन् २०१३ को सेप्टेम्बर २५ मा एयर डाइनेष्टीको होलिकप्टर लुक्ला विमानस्थलमै दुर्घटना भएको थियो । विमानस्थल सुरक्षाका लागि लगाइएको तारजालीमा अल्झिएर दुर्घटना हुँदा हेलिकप्टरमा आगो लागेको थियो ।

कार्गो विमान खस्यो
२०१७ मे २७ मा सामान बोकेर लुक्ला पुगेको नाइन्एन एकेवाइ गोमा एयरले विमानस्थलमा चक्का टेक्नै पाएन । गोमाको कार्गो विमान तेन्जिङ हिलारी विमानस्थलमा अवतरण गर्ने क्रममै नजिकैको माटोको ढिस्कोमा ठोक्किएर दुर्घटना भएको थियो ।

लुक्ला विमानस्थलसँग जोडिएर भएका अन्य हवाई दुर्घटनाहरु  
लुक्ला विमानस्थलमा अवतरण हुने क्रममा दुर्घटना भएका र लुक्ला विमानस्थल सँग जोडिएर भएका हवाई दुर्घटनाहरु धेरै छन् । आन्तरिक वायु सेवामा सबैभन्दा बढी हवाई दुर्घटना भएको स्थानमा सोलुखुम्बु र लुक्लाकै नाम अगाडि आउने गरेको छ । लुक्ला विमानस्थलमा हवाई उडान हुन थाले यता हेलिकप्टर सहित २० भन्दा बढी हवाई दुर्घटना भईसकेका छन् ।

सन् १९७३ मा तत्कालीन शाही नेपाल वायु सेवा निगमको विमान लुक्ला विमानस्थलमा दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको थियो । सम्भवतः यो नै लुक्लामा भएको पहिलो हवाई दुर्घटना थियो । त्यसको ठीक १८ वर्ष पछि सन् १९९१ मा नेपाल वायुसेवा निगमकै अर्को विमान लुक्लामै दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको थियो । त्यस्तै १९९७ मा कर्णाली एयरको विमान सोलुखुम्बुमा दुर्घटना हँुदा १ जनाको मृत्यु भएको थियो । सन् १९९८ मा एसियन एयरको विमान सोलुखुम्बुमै दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको थियो ।

त्यस्तै सन् १९९८ मै तत्कालीन शाही नेपाल वायु सेवा निगमको विमान सोलुखुम्बुमा दुर्घटना हुँदा १ जनाको मृत्यु भयो । सन् २००३ मा सिम्रिक एयरको हेलिकोप्टर एभरेष्ट बेस क्याम्पमा दुर्घटना हुँदा २ जनाको मृत्यु भएकोे थियो । सन् २००४ मे २५ मा यति एयरलाइन्सको विमान लुक्ला विमानस्थल पुग्नै लाग्दा लाम्जुराको पहाडमा ठोक्किएर दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको थियो । सन् २००४ को अक्टोबर १ मा सीता एयरको विमान लुक्ला विमानस्थलमै दुर्घटना भएको थियो ।

सन् २००५ को जुन ३० मा गोरखा एयरलाइन्सको विमान लुक्लामै दुर्घटना भयो । यस्तै सन् २००८ मा लुक्लामा यती एयरलाइन्सको विमान दुर्घटनामा १८ जनाको मृत्यु भएको थियो । सन् २०११ को अक्टोबरमा पिलाटस पोर्टरको विमान लुक्ला विमानस्थलमै अवतरण गर्ने क्रममा दुर्घटनामा परेको थियो ।

इता सन् २०१३ को सेप्टेम्बर २५ मा एयर डाइनेष्टीको होलिकप्टर विमानस्थलमै दुर्घटना भयो । विमानस्थल सुरक्षाका लागि लगाइएको तारजालीमा ठोक्किएर दुर्घटना हुँदा हेलिकप्टरमा आगो लागेको थियो ।२०१७ मे २७ को दिन सामान बोकेर लुक्ला पुगेको गोमा एयरले विमानस्थल धावनमार्ग पुग्नै लाग्दा दुर्घटना भएको थियो । २०१९ अप्रिल १४, समिट एयरको ट्वीनअटर विमान दुर्घटना हुदा ३ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन ।

त्रिभुवन विमानस्थलबाट सोलुखुम्बुको लुक्लाका लागि उडेको विमान एकपछि अर्को गर्दै दुर्घटनामा पर्दै आएका घटना बारम्बार दोहोरिएका छन् । लुक्ला विमानस्थलबाटैै खुम्बु र सगरमाथा आधार शिविर (एभरेस्ट बेस क्याम्प)को पैदलयात्रा शुरु हुने भएकाले पनि लुक्ला पर्यटकीय दृष्टिकोणले अत्यन्त महत्वपूर्ण स्थानको रुपमा परिचित छ ।

पर्यटकको सिजनका बेला त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलपछि धेरै व्यस्त विमानस्थलमा पर्ने यो विमानस्थलमा दैनिक ७० भन्दा बढी उडान अवतरण हुने गर्दछ । काठमाडौंबाट ३५ मिनेटको हवाई यात्रापछि लुक्ला विमानस्थलमा पुगिन्छ ।

लुक्लामै धेरै हवाई दुर्घटना हुनुको ६ कारण
नेपालको हवाई उड्डयनको इतिहासमा लुक्ला बाहेकका विमानस्थलमा भएका हवाई दुर्घटना र लुक्लामै मात्र भएका दुर्घटनाको तथ्याङ्क केलाउँदा सम्भवतः लुक्लामै भएका दुर्घटनाको संख्या बढी देखिएको छ ।

तेञ्जिङ हिलारी विमानस्थल लुक्ला समुद्री सतहदेखि २ हजार ८ सय मिटरको उचाईमा छ । यो विमानस्थल पहाडको भिरालो ठाउँमा रहेको छ । विमानस्थल तलतिर गहिरो खोंच छ । यसको लम्बाइ ४ सय ५० र चौडाइ २० मिटर छ । धावनमार्ग छोटो रहेकाले जहाज अवतरणका क्रममा धावन मार्ग अपुग भई भित्तामा ठोक्किने संभावना अत्याधिक रहेको छ । सीता एयरको एउटा विमान त्यसरी नै दुर्घटनामा परेको थियो ।

लुक्लाको मौसम क्षण क्षणमा बदलिरहन्छ । विमानस्थल भन्दा तल खोंचमा दुधकोशी नदी बग्छ भने माथितिर ठूलो पहाड रहेको छ । दुधकोशीबाट बादलको थुम्का उडेर आएपछि क्षणभरमै विमानस्थल बादलले ढाकिने गर्दछ । दुवैतिर पहाडको खोचमा रहेको विमानस्थलमा अवतरण गर्ने तयारी गरेपछि फर्काउने ठाउँको समेत अभाव रहेकाले जबरजस्ती अवतरण गराउनै पर्ने बाध्यता हुने पाइलटहरु बताउँछन् ।

मौसम प्रतिकुलताका बाबजुत पनि नीजि हवाई कम्पनीहरु जबरजस्ती जहाज उडाउन उद्दत देखिन्छन । जसका कारण विमान दुर्घटना भइरने गरेको नेपाल एयरलाइन्सका प्रवक्ता सिनियर क्याप्टेन विजय लामाको तर्क छ । ‘आज नउडे भोलि उड्छ, प्रतिकुल मौसममा त उडाउन मिलेन नि ? तर निजी हवाई कम्पनीहरुले उडान तालिका राखेपछि उडाउनै पर्छ भन्ने जस्तो तरिकाले उडाउँछन् यो पनि एउटा कारण हो’ लामाले भन्नुभयो ।

लुक्ला विमानस्थलमा पर्याप्त सूचना संकलन गरी प्रवाह गर्न आधुनिक उपकरणको अभाव रहेको छ । मौसमी अवस्थाबारे जानकारी लिन सकिने अत्याधुनिक प्रविधि आइसकेको भएपनि नेपाल नागरिक उड्डयन प्राधिकरणले हवाई सुरक्षाका लागि खासै ध्यान नदिएको नेपाल एयरलायन्सका प्रवक्ता लामाले बताउनुभयो । लामा भन्नुुहन्छ ‘नागरिक उड्डन प्राधिकरणलाई पूर्ण अधिकार दिनुप¥यो, पैसाको लोभ गर्नुभएन, हवाई सुरक्षा पहिलो प्राथमिकता हुनुपर्छ ।’

प्रतिक्रिया दिनुहोस्