जनावरमा चिप्स जडानः कुकुरको सकियो, गाईको पालो



ईश्वरराज ढकाल, काठमाडौं
राजधानीका गाईबस्तु ट्रयाकिङ गरी चिप्स जडान गरिने भएको छ । महानगरक्षेत्रमा छाडा गाईबस्तुको संख्या बढ्दै गएपछि काठमाडौं महानगरपालिकाले सबै गाईबस्तुमा चिप्स जडान गर्न लागेको हो ।

गाईबस्तु पाल्ने र बूढो भएपछि सडकमै छाड्ने प्रवृत्ति बढेपछि सबै गाईबस्तुमा चिप्स जडान गर्न लागिएको कामपाले जनाएको छ । कामपा नगर प्रहरी महाशाखा प्रमुख डीएसपी धनपति सापकोटाले चालू आर्थिक वर्षभित्र सबै गाईबस्तुलाई ट्रयाकिङ गरी चिप्स जडान गर्ने बताउनुभयो । उहाँले भन्नुभयो– ‘पहिलो चरणमा गाईबस्तुको संख्या यकिन गरी ती गाईबस्तुमा चिप्स जडान गर्ने योजना बनाएका छांै । तथ्यांक संकलन गर्न सबै वडा र परामर्शदातको सहयोग लिने तयारी भएको छ ।’

राजधानी वरिपरिका गाईपालकले गाईले बाच्छा जन्माए वा गाई बूढो भए बाटोमै छाड्ने प्रचलन छ । छाडा गाईबस्तुको कारण सवारी दुर्घटना बढ्न थालेपनि नयाँ प्रविधि प्रयोग गर्न लागेको हो । यसअघि कामपाले राजधानीको विभिन्न स्थानबाट गाई पक्रेर छिमेकी जिल्ला छाड्ने गरेको थियो । चिप्स जडान गरेपछि गाईधनीको नाम, कसले कहाँबाट गाईबस्तु बाटोमा छाडेको हो भन्ने विषयमा समेत सजिलै जानकारी हुनेछ । कामपाले यसअघि सिंहदरबारको कुकुरमा चिप्स जडान गरिसकेको छ ।

कामपाले विशेषज्ञसहितको टोलीले चिप्स जडान गर्नेछ । महाशाखा प्रमुख सापकोटाले गाईबस्तुलाई असर नपर्ने र विज्ञले देख्ने शरीरको भागमा चिप्स जडान गर्न लागेको हो । चिप्स जडान गर्नुअघि कामपाले सबै वडाका गाईबस्तुको तथ्यांक संकलन गर्ने भएको छ । कामपाको तथ्यांकअनुसार करिब ८ सयको हाराहारीमा गाईबस्तु रहेका छन् । तर यो तथ्यांक भरपर्दो नभएको कामपाकै भनाइ छ ।

कामपाका मेयर विद्यासुन्दर शाक्यले अधिकांश गाईबस्तु महानगरसँगै जोडिएका महानगर र नगरपालिकासँग सहकार्य गरी गाईबस्तुमा चिप्स जडान गर्ने विषयमा छलफल भइरहेको बताउनुभयो । ‘कामपाको सडकमा देखिएका अधिकांश गाईबस्तु कामपासँगै जोडिएका नगरपालिकाबाट आएको हुन सक्ने अनुमान गरेका छांै, छिमेकी नगरपालिकासँग समेत छलफल गरी उपत्यकाका सबै स्थानीय निकायको सहयोगमा गाईबस्तु व्यवस्थापन गर्ने योजना बनाएका छौं’ –मेयर शाक्यको भनाइ थियो ।

अब गाईले बच्चा जन्माएलगत्तै त्यसको जन्मदर्ता गर्ने व्यवस्था समेत गर्न लागिएको सापकोटाले बताउनुभयो । जन्मदर्ता भएलगत्तै गाईधनीलाई जन्मदर्ता प्रमाणपत्र दिने र सोही आधारमा चिप्स जडान गरिने सापकोटाको भनाइ छ । चिप्स जडान गरेपछि गाईको सम्पूर्ण रेकर्ड कामपासँग हुनेछ । चिप्स जडान गरेपछि उनीहरु कुन स्थानमा कस्तो अवस्थामा रहेका छन्लगायतका विषयमा समेत अनुसन्धान गरिनेछ । ‘यदि गाईबस्तुको जन्मदर्ता नगरे महानगरले उपलब्ध गराउने सुविधाबाट वञ्चित गर्ने गरी कडा व्यवस्था ल्याउन छांै’ –सापकोटाको भनाइ छ ।

गाईबस्तु पाल्ने अनि बूढो भएपछि सडकमा छाड्ने प्रवृत्तिको अन्त्य गर्न नयाँ व्यवस्था गर्न लागिएको कामपाले जनाएको छ । कामपा कृषि विभाग प्रमुख हरि भण्डारीले महानगर प्रहरीको सहयोगमा महानगरमा पालिएका सबै गाईको जन्म दर्ता गरी चिप्स जडान गर्ने विषयमा छलफल भएको जानकारी दिनुभयो ।

विभागीय प्रमुख भण्डारीले राजधानीका छाडा गाईबस्तुलाई अन्य स्थानमा व्यस्थापन गर्ने विषयमा पनि छलफल भइरहेको जानकारी दिनुभयो । कामपाका गाईबस्तु व्यवस्थापन गर्न चितवन र टोखाका गरी दुई संस्थाले आशयपत्र पेस गरेको विभागले जनाएको छ । योजनासहितको आशयपत्र मेयर सचिवालयमा पेस गरेको जानकारी गराउँदै उहाँले भन्नुभयो– ‘कस्तो निर्णय हुन्छ सोही आधारमा योजनासहित काम अघि बढाईनेछ ।

तर कामपाले राजधानीका गाईबस्तु व्यवस्थापन गर्न चिप्स जडान गर्ने प्रविधिमै जोड दिएको छ ।’ उपत्यकाका मेयरहरुको संगठन मेयर फोरमले काठमाडौं महानगरपालिकाको पहलमा उपत्यकाका सबै नगरपालिकाका गाईबस्तु व्यवस्थापन गर्ने योजना अघि बढाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्