‘जापान फर्केर विश्वलाई पढाइरहेको छु’



ईश्वरराज ढकाल, काठमाडौँ
समाचारको शीर्षक पढ्दैमा तपाईँ–हामीलाई एक खालको विद्रोह भाव पैदा गर्छ । हो, प्राकृतिक सौन्दर्यले हराभरा र विश्वकै धनी देश नेपाल सुन्दरताका हिसाबले जति महिमा गाउनयोग्य छ तर यहाँका सबै मानिस राम्रा भने छैनन् ।

यहाँ यस्ता प्रतिभाहरूलाई फस्टाउन दिइदैँन तर तिनै प्रतिभाहरू अवसर पाएपछि नेपाललाई विश्वमै चिनाउन सफल हुन्छन् । यस्ता प्रतिभा कति होलान् कति यो देशमा तर तीमध्ये एक प्रतिनिधि पात्र हुनुहुन्छ ललितपुरका प्रा.डा. केशवलाल महर्जन ।

२०३२ सालमा नेपाल सरकारकै छात्रवृत्ति कोटामा जापान पुग्नुभएका उहाँ भन्नुहुन्छ– ‘२०४६ सालमा सरकारी जागिर खान नेपाल आएको थिएँ । अधिकांशले जापान पढेपछि नेपालमा जागिर खान मुस्किल पर्छ उतै फर्क भने । जापानै फर्केर विश्वभरका विद्यार्थीलाई पढाइरहेको छु । प्रोत्साहन गर्नुको साटो हतोत्साहित बनाइन्छ यहाँ ।’

हुन पनि सन् १९९० देखि नै जापानको रहेको पाँचौं ठूलो सरकारी विश्वविद्यालय हिरोसिमामा कृषि र ग्रामीण विकास, दक्षिण एसियाली अध्ययन, ग्रामीण अर्थशास्त्र, अन्तर्राष्ट्रिय विकास र साझेदारी अध्ययन, सांस्कृतिक विविधता, जलवायु परिवर्तन, ग्रामीण भेगको जीविकोपार्जन रणनीतिलगायतका विषयमा स्नातकोत्तर र विद्यावारिधिका विद्यार्थीलाई पढाउँदै आउनुभएका प्राडा महर्जनले अहिले प्राध्यापनलगायत अन्य ठूलै जिम्मेवारी पाउनुभएको छ ।

उहाँले टोकियो विश्वविद्यालयबाटै स्नातकदेखि विद्यावारिधिसम्मको अध्ययन पूरा गर्नुभएको हो । जापान सरकारले नेपाललाई सहयोग गर्दा उहाँसँगै महत्वपूर्ण सल्लाह लिने गरेको छ । जापान सरकारले सार्क राष्ट्रसहित एसियाका करिब दुई दर्जन राष्ट्रलाई सहयोग गर्दै आएको विषयगत अध्ययनमा उहाँ नै जोडिनुभएको छ । नेपाल सरकारले समेत जापान सहयोग नियोग (जाइका), एसियाली विकास बैक र विश्व बैंकमार्फत सो विश्वविद्यालयमा छात्रवृत्तिमा अध्ययन गर्न आउने विद्यार्थी छनोट गर्ने अधिकार उहाँलाई नै दिएको छ ।

कहलिएको सो विश्वविद्यालयमा ६८ मुलुकका विद्यार्थीले स्नातकोत्तर र विद्यावारिधिमा अध्ययन गरिरहेका छन् । उहाँ आफूलाई नेपालसहित दक्षिण एसियाका भारत, बंगलादेश, भुटान, इन्डोनेसिया, फिलिपिन्स, थाइल्यान्ड, किर्किस्तान, उज्वेगस्तान, चीन, श्रीलंकाका कृषि र ग्रामीण विकास विषयमा अध्ययन गरी सरकारलाई सहयोगको सिफारिस गर्ने जिम्मा दिइएको बताउनुहुन्छ ।

उहाँ भन्नुहुन्छ– ‘कुन देशलाई कस्तो सहयोग गर्ने भन्ने विषयमा मसहित विश्वविद्यालयको समूहले तयार पारेको प्रस्ताव अध्ययन गरी जापान सरकारले सहयोग गर्दै आएको छ ।’


केही दिनका लागि नेपाल आउनुभएका प्राडा महर्जन नेपाल समाचारपत्रसँग खुल्नुहुन्छ– ‘छात्रवृत्तिमा पढिरहेका देशका विद्यार्थीकै सहयोगमा नीति बनाई सरकारलाई पेस गर्ने हो । यसका लागि हाम्रो समूह तत्तत् देश पुग्ने गरेको छ ।’
उक्त विषयमा करिब एक दर्जनभन्दा बढीले पीएचडी गरिसकेका छन् । उहाँले आफ्नो सुपरिवेक्षणमा विभिन्न देशका २८ विद्यार्थीलाई पीएचडी गराइसक्नुभएको छ ।

‘नेपाली छोरा भएर पनि हिरोसिमा विद्याविद्यालयको शिक्षा विकास तथा सांस्कृति र क्षेत्रीय अध्ययन केन्द्रको प्रमुख हुन पाउँदा गर्व लागेको छ’ –उहाँ नेपाल समाचारपत्रसँग खुल्नुभयो । जापानी र अंग्रेजी भाषाको विज्ञका रुपमा समेत चिनिनुहुने प्राडा महर्जन कृषि र ग्रामीण विकास विषयमा पीएचडी गरी जापानमा प्राध्यापनरत पहिलो नेपाली हुनुहुन्छ ।

खुसी हुँदै उहाँ थप्नुहुन्छ– ‘एसियाका देशको विकासका लागि नीति बनाएर सल्लाह दिन पाएको छु, कहिलेकाहीं त प्रधानमन्त्री र सरकारसँग नेपालको विषयमा जानकारी दिने मौका पाउँछु । म र मेरो राष्ट्रप्रति यही नै गौरवको कुरा हो ।’

६५ वर्षपछि आफू अवकास हुने भएकाले कार्यकाल ५ वर्ष बाँकीे रहेको बताउँदै प्राडा महर्जन योजना सुनाउनुहुन्छ– ‘यो समयमा नेपालसहित एसियाका विभिन्न मुलुकमा अध्ययन हुने ग्रामीण विकास र कृषि विषयमा अरू नयाँ विषय खोजी गर्नेछु ।’ जापान सरकारले नागरिक दिन चाहेको भए पनि अझै नेपाली नागरिकता नत्यागी पाँच वर्षपछि नेपालकै विकासमा सहयोग गर्ने सोच राख्नुभएको उहाँले बताउनुभयो ।

सशस्त्र द्वन्द्वपछि नेपालमा शान्ति स्थापना गर्दा समेत आफूले योगदान गरेको उहाँको भनाइ छ । यसक्रममा आफूले सन् २०१२ मा नेकपा (एमाले) का तत्कालीन महासचिव माधवकुमार नेपाल, नागरिक अगुवा पद्मरत्न तुलाधर, दमननाथ ढुंगाना, तत्कालीन माओवादी नेता जनार्दन शर्मा, पूर्वप्रधानसेनापति रुग्माङ्गद कटवालदेखि विभिन्न तहका नेतालाई जापानमा बहस गराएको उहाँ बताउनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्