लार्के र यांग्री डिजाइनमाथि छलफल



काठमाडौं, (नेस)

लार्के र यांग्री खोलाबाट पानी ल्याउने सम्बन्धमा तयार भएको डिजाइनमाथि छलफल थालिएको छ।

सुरुङ खन्ने प्रविधि, आयोजना सञ्चालन र ठेकेदार छनोटमा अघि बढ्ने जस्ता विषयमा छलफल केन्द्रित भएको बताइएको छ। छलफलमा सुरुङ खन्दा टनेल बोरिङ मेसिनको प्रयोग गर्ने र सक्षम निर्माण कम्पनी छनोट गर्ने बारेमा एक मत देखिएको छ।

स्पेनी परामर्शदाता इप्टिसाले तयार पारेको उक्त विस्तृत डिजाइनको ड्राफ्ट ६ महिनाअघि मेलम्ची खानेपानी विकास समितिमा बुझाइएको थियो। इप्टिसाले सन् २०१७ जनवरीबाट डिसेम्बरसम्म सम्पन्न गर्ने गरी डीपीआरको काम थालेको थियो। तर निर्धारित समयभित्र डीपीआर तयार नभएपछि आयोजनाले ६ महिना समय थप गरेको थियो।

मेलम्चीपछिको दोस्रो चरणमा आउने भनिएको उक्त योजना ल्याउँदा नयाँ प्रविधि अपनाउनेजस्ता विषयमा छलफल भइरहेको बताउँदै समितिका सिनियर डिभिजनल इन्जिनियर राजेन्द्र पन्तले भन्नुभयो– ‘किनकि इप्टिसाले मेलम्चीको सुरुङ खन्न प्रयोग गरेको डीपीआरको ड्राफ्टमा पुरानै प्रविधि अपनाउने उल्लेख गरेको छ।’

उक्त डिजाइनमा एसियाली विकास बैंकले समेत नयाँ प्रविधि अपनाएर सुरुङ खन्न सुझाव दिएको थियो।

समितिले मेलम्चीपछि लार्के र यांग्री खोलाको पानी काठमाडौं ल्याउन तीव्र तयारी थालेको छ। समितिले दुवै खोलाको पानी सुरुङ मार्ग हुँदै दैनिक १७÷१७ करोड गरी ३४ करोड लिटर ल्याउन तयारी गरेको हो।

यांग्री खोलाबाट मेलम्ची खोलामा पानी खसाल्न ९ किलो मिटर सुरुङ र लार्के खोलाबाट यांग्रीमा पानी खसाल्न २ किमि गरी जम्मा ११ किमि सुरुङ खन्नुपर्ने प्रारम्भिक अध्ययनले देखाएको छ। मेलम्चीको २७ किमि सुरुङ ड्रिल एन्ड ब्लास्ट प्रविधिबाट खनिएको थियो। यो प्रविधिको विकल्पमा छिटो छरितो तरिकाले सुरुङ खन्न टनेल बोरिङ मेसिन प्रयोग उचित मानिएको छ।

प्रतिक्रिया दिनुहोस्