गिटी कुटेर जिउन बाध्य मनकलीहरूलाई के पत्तो नारी दिवस



धनवीर दाहाल, रुकुम
दिनभर गिटी कुटेर आफ्ना बालबच्चा पालिरहेकी रुकुम पश्चिम त्रिवेणी गाउँपालिका–३ की विना बादीलाई न अन्तर्राष्ट्रिय महिला दिवसबारे थाहा छ न त कुनै राज्यका औपचारिक कार्यक्रम नै। ७ वर्ष पहिला श्रीमान् गंगाराम अर्की श्रीमती लिएर भारत गएपछि छोराछोरी र आफ्नो छाक टार्न दिनभर यसरी गिटी कुट्न बाध्य छिन् उनी। छोराछोरीको पढाइको त कुरै छाडौं कसरी पाल्ने भन्ने चिन्ता मात्र उनीसँग छ। उनले १४ वर्षदेखि गिटी कुटिरहेकी छन्।

४ सन्तानकी आमा भइसकेकी विना दिनभर गिटी कुटेर साँझबिहानको छाकको जोहो गर्छिन्। विना मात्र होइन, त्रिवेणी–१ कै मनकली परियार पनि दिनभर गिटी कुट्नमै व्यस्त हुन्छिन्। मनकलीलाई कुनै दिवस र समारोहको पत्तै हुँदैन। आफ्नो हक अधिकारको पक्षमा कुन ठाउँमा के भइरहेको छ भन्ने उनले कहिल्यै थाहा पाइनन्। मनकलीलाई आफूले काम गरेको श्रमको मूल्य कति पाइरहेको छु भन्ने मात्र जानकारी छ। श्रम गरेअनुसार गिटीको मूल्य प्रतिट्याक्टर ५ हजार तथा प्रतिकठ्ठा ७० रुपियाँको दरले बिक्री गर्ने गरेको उनले बताइन्।

उनले भनिन्– ‘मलाई मेरो श्रमको मूल्य कसरी पाऊँ भन्ने चिन्ता छ कुनै दिवसबारे मलाई थाहै छैन।’ मुसिकोट नगरपालिका–४ की रत्ना खत्रीले महिला दिवस भनेर नारा जुलुस गरेको मात्र थाहा पाएको तर महिला दिवस किन र कसरी मनाइन्छ थाहा नभएको बताइन्। विना बादी, मनकली परियार र रत्ना खत्री त प्रतिनिधि पात्र मात्र हुन्।

दिनभर श्रम गरेर साँझबिहानको छाक टार्न धौ धौ हुने महिलाका लागि महिला दिवसको पत्तो छैन। नारी दिवसका लागि विभिन्न र्याली, सभा र समारोह आयोजना गरेर बजेट खर्च गरिन्छ। तर, साँच्चिकै श्रम गरेर गुजारा चलाइरहेका महिलाको समस्या ज्युँका त्युँ छन्।

दिनभर ज्याला गरेर साँझबिहान छाक टार्न बाध्य महिलालाई नारी दिवसको महत्व तथा नारी दिवस केका लागि हो भन्ने कुरासमेत थाहा नभएको महिलाहरू नै बताउँछन्। रुकुम पश्चिम जिल्लाका सबै स्थानीय तहमा नारी दिवस भव्यरूपमा मनाइएको भनिए तापनि विभिन्न र्याली र औपचारिक कार्यक्रममा मात्र सीमित देखिएको स्थानीयले बताएका छन्।

दिनभरको ज्याला मजदुरी गरेर छाक टार्न धौधौ हुने महिलाहरूको समस्या र उनीहरूको पीडाका बारेमा कसैको ध्यान नपुगेको गुनासो स्थानीय स्तरमा छ। समान कामको समान ज्याला व्यवहारमा कार्यान्वयन नभएको महिलाका पीडा छन्। नारी दिवसको दिन औपचारिक कार्यक्रम गरेर मात्र नारीको समस्या समाधान नहुने भएकाले विद्यमान महिलामाथि हुने गरेका हिंसालाई अन्त्य गर्न सरोकारवाला निकायहरू जुट्नुपर्नेमा महिला अधिकारकर्मीको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्