प्रधानमन्त्रीज्यू ! दुई वर्ष बित्यो वन्यजन्तु र पशुपन्छी ल्याइएन त !!



पुष्कर बुढाथोकी, भक्तपुर
भक्तपुरको सुर्यबिनायक नगरपालिकामा बनाउने भनिएको राष्ट्रिय प्राणी उद्यान कार्य करिब ४ वर्ष पूरा हुन लाग्दासम्म बन्न सकेको छैन । प्राविधिक रुपमा समस्या नभए पनि सरकारी निकायमा फाइल रोकिंदा उक्त काममा ढिलाई भएको बताइन्छ ।

तत्कालीन प्रधानमन्त्री स्वर्गीय सुशील कोइरालाको कार्यकालमा २०७१ माघ १० गते मन्त्रिपरिषद्बाट उद्यान बनाउने निर्याय भएको थियो । वर्तमान प्रधानमन्त्री केपी ओलीले पहिलोपटक प्रधानमन्त्री हुँदा २०७३ असार ९ गते त्यसको शिलान्यास गर्दैै २ वर्षभित्र वन्यजन्तु तथा पशुपन्छी राखेर सञ्चालन गर्ने प्रतिवद्धता जनाउनुभएको थियो ।

सूर्यविनायक नगरपालिका –७ का वडाध्यक्ष रवीन्द्र सापकोटा उक्त उद्यान बनाउन आफूहरूले सक्दो सहयोग गरिरहेको बताउँदै भन्नुहुन्छ– यस कार्य थाल्नुअघि केी समस्या सल्ट्याउनु छ । उहाँका अनुसार २०३५ सालमा पहिरो जाँदा गाउँ पञ्चायतले चार घर परिवारलाई प्रतिपरिवार १० आनाका दरले जमिन दिन सिफारिस गरेको थियो । यद्यपि उक्त कार्य प्रशासनिक रूपमा नभएकाले ७ नम्बर वडाको मन्थलीमा सीमाङ्कनमा केही समस्या छ ।

अर्काेतर्फ केही स्थानको पानीको मुहान र केही जातिको कुलपूजा गर्ने स्थानसमेत प्राणी उद्यान घोषणा गरिएको क्षेत्रभित्र पर्छ । त्यसलाई पनि सम्बोधन गर्न कठीन भएको छ । सबैको राय लिएर निष्कर्षमा पुग्ने वडाध्यक्ष सापकोटाको विचार छ ।

राष्ट्रिय प्राणी उद्यानका निर्देशक नारायण रूपाखेती गुरुयोजना पास भएको मितिले पाँच वर्षभित्रमा उद्यान पूर्ण रूपमा सञ्चालनमा आउने दाबी गर्दै भन्नुहुन्छ–केही कारणले ढिला भए पनि गुरुयोजना पास भएको एक वर्षमा डीपीआर तयार पारी त्यसको पहिलो चरण तीन वर्षमा ५६ र दोस्रो चरणमा ४४ प्रतिशत काम गरिनेछ ।

यसका लागि करिब ७ अर्ब रूपैयाँ लाग्ने अनुमान गरिएको छ । केन्द्रले अहिले १६ किलोमिटरमध्ये १३ किलोमिटर सीमांकन गरी त्यसमा तारजालीले बार्ने र दुई ठाउँमा पानीको स्रोतका लागि डिपबोरिङ गर्ने काम भएको छ । प्राणी उद्यानको सचिवालय भवन २०७६ साल वैशाखभित्र तयार हुनेछ ।

उक्त उद्यान केन्द्रले १५ वर्षभित्र सबै लागत उठाइसक्ने लक्ष्य राखेको छ । प्रत्यक्ष रूपमा २ सय जना मानिसले रोजगारी पाउने र स्थानीय स्तरमा होमस्टेसमेत सुरु गर्ने तयारी छ । उद्यानभित्र पशुको उपचार केन्द्रदेखि सभाहलसम्म र गुरुयोजना अनुसार प्राणी उद्यानमा जीवजन्तुको कृत्रिम बासस्थान निर्माण हुने रुपाखेतीको भनाइ छ ।

सुरक्षित अवलोकन, जैविक पर्यटन र जीवजन्तुको खुल्ला चिडियाघर राखिने यस उद्यानमा करिब एक हजार मानिस अटाउने सभाहल समेत बनाइने छ । यस आर्थिक वर्षमा केन्द्रका लागि छुट्याएको बजेटले केन्द्रको भवन निर्माणमात्रै अगाडि बढेको छ ।

केन्द्रको भक्तपुरस्थित कार्यालयमा ३५ जना कर्माचारीको दरबन्दी रहेको छ । तर कार्यालयमा दरबन्दीअनुसारका कार्मचारी नहुँदा र भएका कर्माचरीलाई दोहोरो जिम्मेवारी दिँदा कामले गति लिन नसकेको केन्द्रको गुनासो छ ।
यस्तै वन तथा वातावरण मन्त्रालयले उद्यानको गुरुयोजना स्वीकृत नगर्दा यसवर्ष कुनै काम हुन नसकेको सरोकारवालाहरू बताउँछन् ।

भक्तपुरको तत्कालिन कटुन्जे, गुण्डु र सिपाडोल गाविस (हाल सूर्यविनायक नगरपालिका वडा नम्बर ६, ७ र ८) को भू–भाग यो उद्यानको सीमाभित्र पर्दछ । त्यसले ७ वटा सामुदायिक वनको २ सय ४५ हेक्टर क्षेत्रफल ओगटेको छ ।
बुधबार संसदमा बोल्दै वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले सूर्यविनायक क्षेत्रमा २४५.१५ हेक्टरमा उद्यान निर्माण प्रक्रिया शुरु भएको जानकारी दिनुभएको थियो । उहाँले त्यसको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयारी भइरहेको बताउँदै हात्तीलगायत वन्यजन्तुलाई केही समयभित्रै राखिने प्रतिवद्धता गर्नुभएको थियो ।

भक्तपुरका सांसद महेश बस्नेतले उद्यानका लागि रु आठ अर्ब खर्च हुने भए पनि अर्थ मन्त्रालयले बजेट विनियोजनमा कन्जुस्याइँ गरेको भन्दै आपत्ति जनाउनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्