इन्टरनेटको पहुँचमा सिउँरुङ होमस्टे



नेपाल समाचारपत्र
लमजुङ ।
लमजुङको पर्यटकीय गाउँ सिउँरुङका होमस्टेहरूमा इन्टरनेटको पहुँच विस्तार गरिएको छ । सिउँरुङ गाउँमा पुग्ने पर्यटकलाई गाउँमै सरल र सहज तरिकाले इन्टरनेट सेवा प्रदान गर्ने उद्धेश्यले सो सेवामा पहुँच बढाइएको हो ।

मस्र्याङ्दी गाउँपालिका– ३ को पर्यटकीय गाउँ सिउँरुङमा पहिलो पटक वाईफाई सहितको इन्टरनेट सेवा विस्तार गरिएको हो । पहिलो चरणमा सबै होमस्टेमा वाईफाइ सहितको इन्टरनेट सेवा विस्तार गरेको सिउँरुङ पर्यटन विकास समितिका सचिव उमर गुरुङले बताउनु भयो । उहाँका अनुसार एक सय २० घरधुरी रहेको पर्यटकीय सिउँरुङ गाउँमा हाल १५ घरमा होमस्टे सञ्चालनमा छन् । इन्टरनेट सेवा विस्तारका लागि लमजुङ उद्योग वाणिज्य संघले सहयोग गरेको गुरुङले बताउनुुभयो । उहाँका अनसार एउटा होमस्टेमा इन्टरनेट जडान गर्न १८ हजार रुपैँया खर्च भएको छ । सेवा सहज, सरल र सबल होस् भनेर प्रत्येक होमस्टेमा छुट्टा छुट्टै रूपमा इन्टरनेट सेवा विस्तार गरिएको गुरुङको भनाई छ । उहाँले भन्नुभयो, धेरै समयदेखि नेट जडानका लागि गरेको प्रयास बल्ल सफल भयो ।’

सिउँरुङ गाउँ पर्यटकीय दृष्टिकोणले निकै रमणीय छ । पछिल्लो समय सिउँरुङ जाने पर्यटकको संख्यामा समेत बृद्धि हुँदै गएको छ । हिमश्रृङ्खलाको मनमोहक दृश्यसंगै विहानीको मिर्मिरेपछि ओछ्यानबाटै सुर्योदयको दृश्यावलोकन, सिउरुङको बर्णन गरेर साध्य छैन ।

सिउरुङ गाउँका गुरुङसेनीका मीठा र विनम्र व्यवहारले पाहुनाहरूको मन फुरुङ्ग हुन्छ । जब पाहुना गाउँमा पुग्छन् तब गाउँलेहरु खुशीभई परम्परागत पोशाकमा स्वागत गर्दछन् । चिया नास्ता वा खाना सयम अनुकुलना अनुसार लिएपछि गीत संगीत तथा पौराणिक नृत्य प्रस्तुत गर्छन् । गाउँमा करिब तीन सयजना अट्ने सामदायिक भवन छ । जहाँ साँझ खानाखाएपछि सबै जम्मा हुन्छन् र नाचगान गर्छन् । उहिल्यै गुरुङ समुदायको गाउँगाउँमा पाईने तर अव लोप भइसकेको रोधिँ संस्कृति पनि सिउरुङ गाउँमा देख्न सकिन्छ ।

यसका लागि खुदी गाउँपालिका, जिल्ला विकास समिति लमजुङ, लमजुङ उद्योग वाणिज्य संघ र राष्ट्रिय प्रकृति संरक्षण कोष (अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप), सहयोग गर्दै आएका छन् । आरामदायी बिजुलीको उज्यालोमा सुत्ने कोठा, शौचालय, नुहाउनको लागि बाथरुम र जाडोयाममा नुहाउन लागि पनि छुट्टै घरको व्यवस्था छ ।

स्थानीय स्तरमा उत्पादन भएका प्रायः अर्गानिक खानाको रूपमा चामल, तरकारी, मासु लागयतका खाद्य वस्तुहरू भोजनको रूपमा दिन्छन् । लोकल कुखुराको मासु, कोदोको ढेडो, टिमुरको अचार र साँधेको गुन्द्रुकको स्वादले मन अझै लोभ्याउन्छ ।

ग्रामीण पर्यटन प्रवद्र्धन गरी स्थानीय कला संस्कृतिको संरक्षण गर्न तथा गाउँको प्रचार प्रसारका लागि सिउरुङबासीहरूले २०६२ सालदेखि हरेक वर्ष महोत्सवको आयोजना पनि गर्दै आएका छन् ।

समुन्द्री सतहदेखि एक हजार आठ सय चउन्न मीटरको उचाईमा रहेको सिउरुङ गाउँ पुग्ने धेरै पैदल बाटाहरू छन् । लमजुङ सदरमुकाम बेसीशहर झरेर चार घण्टाको पैदल यात्रापछि पुग्न सकिने सिउरुङ यतिवेला मोटर पुगेका कारण भने कच्ची सडक सुचारु भएका कारण करिब दुई घण्टा जीपको यात्राबाट पुग्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्