वित्तीय जागरणका लागि बुटवलमा बैंकिङ एक्स्पो



यमलाल भुसाल, बुटवल ।
वित्तीय जागरण मार्फत उद्यमशीलताको विकास गर्ने उद्देश्यले बुटवलमा पहिलोपटक बैंकिङ एक्स्पो आयोजना हुने भएको छ ।

मिडिया इन्टरनेसनल काठमाडौंको आयोजना, नेपाल राष्ट्र बैंकको प्रवद्र्धन तथा वीमा समिति र धितो बोर्डको सहयोगमा शुक्रवार देखि बुटवलमा दुई दिने बैंकिङ एक्स्पो हुन लागेको हो ।

कालिकानगरस्थित कालिका मानव ज्ञान माविको प्रांगणमा हुने एक्स्पोमा विभिन्न वाणिज्य बैंक,विकास बैंक,लघु वित्त वित्तीय संस्था, फाइनान्स कम्पनी, वीमा कम्पनी र शेयर कारोबार गर्ने संस्थाहरुका ५० बढी स्टलहरु रहने आयोजक संस्थाका अध्यक्ष माधव निर्दोषले जानकारी गराउनु भयो ।

विहिवार बुटवलमा आयोजित पत्रकार सम्मेलनमा जनाईए अनुसार एक्स्पोमा बैंकहरुले आफ्ना प्रोडक्ट, ब्याज दर, सेवा लगायतका विषयमा अवलोकनकर्ताहरुलाई प्रत्यक्ष जानकारी गराउने छन् ।

मेला अवधिमै बैंकिङ,पूंजी बजार र वीमा सम्बन्धी विज्ञहरुको सहभागितामा अन्तरक्रिया समेत सञ्चालन गरिने र कर्जा लिएर सफल उद्यमी बनेका व्यक्तिहरुका विषयमा तयार पारिएका डकुमेन्ट्री र नाटकहरु प्रदर्शन गरिने अध्यक्ष निर्दोषले जानकारी दिनु भयो ।

एक्स्पोको नेपाल राष्ट्र बैंकका गर्भनर चिरन्जीवी नेपालले उदघाटन गर्नु हुने कार्यक्रम रहेको छ । अझै पनि कूल जनसंख्याको आधा भन्दा बढी जनता बैंकिङ पहुंचबाहिर रहेकाले वित्तीय साक्षरता बढाउन एक्स्पोको आयोजन गरिएको बताईएको छ । पत्रकार सम्मेलनमा डेभलपमेन्ट बैंकर्स एशोसियसनका केन्द्रीय उपाध्यक्ष प्रकाश पौडेलले एक्स्पोवाट उद्यमशिलताको विकास गरी बैदेशिक रोजगारीमा जाने युवाहरुलाई नेपालमै रोजगारीको व्यवस्था गर्न टेवा पुराउनु नै मुख्य उद्देश्य रहेको बताउनु भयो ।

कृषिको विकास एवं ग्रामीण क्षेत्रमा लघु उद्यमशीलताको विकास गर्ने म्यानेजमेन्ट अध्ययनरत विद्यार्थीलाई उद्यमशिलताको वाटो देखाएर उनिहरुलाई स्वदेशमै बैंकिङ कर्जा मार्फत उद्यमी बनाउने उद्देश्य रहेको वितिय संस्थाका अर्जुन ज्ञवालीले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्