गड्डाचौकी नाकाबाट नेपाल भित्रिने पर्यटकको संख्यामा बृद्धि, सुुदूरपश्चिम शून्य



मनोज भट्ट, महेन्द्रनगर ।
सुदूर पश्चिमकै सबै भन्दा ठुलो सीमा नाकाका रुपमा रहेको कञ्चनपुरको पश्चिमी सीमा नाका गड्डाचौकी हुँदै दैनिक ९÷१० जना प्रर्यटक नेपाल भित्रिने गर्छन् । नेपाल भ्रमण गर्न आउने प्रर्यटकहरुको संख्या तुलनात्मक रुपमा राम्रो नै भएपनि सुदूर पश्चिम तथा सुदूरका पर्यटकीय स्थलहरु भ्रमण गर्न आउने। पर्यटकहरुको संख्या भने शून्य रहेको छ ।

यो अग्रेजी बर्ष ०१८ को डिसेम्बर २० सम्ममा गड्डाचौकी सीमानाका हुदै नेपाल भ्रमण गर्न आउने प्रर्यटकहरुको संख्या २ हजार ९ सय १५ जना रहेको छ । गड्डाचौकी नाका हुँदै नेपाल भित्रिने पर्यटकहरुको प्रमुख रोजाईका शहरहरु भने पोखरा, काठमाडौं र बर्दिया नै रहेका छन् । काठमाडौं र पोखरा बाहेक लुम्बिनी र मुगु पर्यटकहरुको रोजाईमा पर्ने गरेको अध्यागमन कार्यालय गड्डाचौकीका प्रमुख पदमराज भट्टले बताए ।

यो बर्ष नेपाल भित्रिएका सबै भन्दा बढि पर्यटकहरु भने युएसए अमेरिकाबाट ३ सय सात जना रहेका छन् । त्यसैगरी संख्यात्मक रुपमा दोस्रोमा युके र तेस्रोमा अष्ट्रेलिया र इजराइल रहेका छन् । नेपाल भ्रमण गर्न आउने पर्यटकहरुको प्रमुख रोजाईमा काठमाडौं र पोखरा पर्नुको कारण भने देश विदेशमा भएको प्रचार प्रसारलाई र सेवा सुविधा नै भएको भट्टको ठहर छ ।

सुदूर पश्चिममा विभिन्न आकर्षक प्रर्यटकीय तथा धार्मीक स्थलहरु हुँदा हुँदै पनि प्रचार प्रसारको अभाव र सेवा सुविधाको पहुँच नहुदा पर्यटकहरुको गन्तव्य बन्न नसेको हो । कञ्चनपुरमा रहेको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज, झिलिमिला ताला, बेतकोट ताल र लिङ्गा क्षेत्र प्रचार प्रसार र उचित बाटोघाटो, सेवा सुविधा नहुँदा केहि व्याक्तिहरुले बोल्ने शब्दका रुपमा मात्रै सीमित भएका छन् ।

कैलालीको घोडाघोडी ताल, डडेल्धुराको उग्रतारा, बैतडीको पाताल भुमेश्वर, दाचुर्लाको यार्सागुम्बा र अपि नम्पा हिमालको सौन्दर्य पर्यटकहरुको गन्तव्यको केन्द्रबिन्दु बन्न सकेको छैन् । त्यसैगरी सुदूरपश्चिमकै सबैभन्दा उत्कृष्ठ सौन्र्दयको भण्डार खप्तड क्षेत्र र सुर्मासरोवर प्रचार प्रसारकै अभावमा शब्दमै सीमीत रहनु परेको छ । काठमाडौं र पोखरा जस्ता सहरहरु बाट त परको कुरा हाम्रो कञ्चनपुरकै पश्चिमी सीमानाका गड्डाचौकी हुँदै नेपाल भ्रमणमा भित्रिने पर्यटकहरुको रोजाईमा समेत हाम्रो क्षेत्र नपर्नु शुदूर पश्चिमेलीहरुका लागी दुखको कुरा हो ।

यो बर्षभरीमा सुदूर पश्चिमका कुनै पनि पर्यटकीय स्थलहरु घुम्नकै लागी भनेर कुनै पनि पर्यटक गड्डाचौकी सीमानाका हुँदै नेपाल नभित्रिएको कार्यालय प्रमुख भट्टले बताए । कहिले मासिक एक, दुई जना महेन्द्रनगर बास बस्ने गरेर आए भए मात्रै ‘नजिक कुनै घुम्न लायक ठाँउ छ रु’ भनेर सोध्ने गर्छन् । गन्तव्य अन्त जाने भएर आएका पर्यटकले पनि नजिकैको ठाँउ घुम्ने इच्छा जाहेर गरेमा शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज पठाउने गरेको भट्टले बताए ।

प्रतिक्रिया दिनुहोस्