प्रहरीसँग जनविश्वास बढ्नुपर्छ



पछिल्लो समय अपहरण, बलात्कार, हत्याहिंसा र डकैतीजस्ता घटनाको शृङ्खलाबद्धरुपमा समाचारका शीर्षक बनिरहँदा देशभर नै भयको वातावरण बनिरहेको छ । आमजनतामा प्रहरीप्रतिको जनविश्वास गुम्दै गएको छ भने दण्डहीनता अधिक बढेको छ । कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपश्चात् हत्या प्रकरणमा दोषी पत्ता नलाग्नु, प्रहरीकै अनुसन्धानप्रति गम्भीर त्रुटि देखिनु र जनसाधारणले राज्यप्रति भरोसा गर्न नसक्नुले फौजदारी अपराधका शृङ्खला पुनः शुरु हुन लागेको हो कि भन्ने आशंका पैदा भएको छ ।

देशमा जतिसुकै राजनीतिक परिवर्तन भए पनि आमजनताले राहतको अनुभूति गर्न सकेका छैनन् । अहिले राज्य कमजोर अवस्थामा छैन । राज्यका संयन्त्रहरु सक्रिय रहने हो भने राज्यमा कानुनी शासन स्थापित गर्न कठिन छैन । तर, देशमा बलियो सरकार भए पनि अपराधका शृङ्खला बढ्दा राज्यको कमजोर उपस्थिति देखिएको छ । जनतामा शान्ति सुरक्षाको बलियो प्रत्याभूति भएमात्रै लोकतन्त्र सुदृढ हुनुको साथै स्वतन्त्रताको सुनिश्चितता हुन्छ । दिनहुँ समाचारका शीर्षक बनेका बलात्कारका घटनाले राज्यको कमजोरी उदांगो हुनुका साथै राज्यका निकाय निरीहजस्तो बन्न पुगेको अनुभूति गरिएको छ ।

विगतका विभिन्न प्रकरणले प्रहरी प्रशासनको कमजोरी र कार्यशैलीप्रति प्रश्न उठाउने काम गरेको छ । यी सबै कमजोरीको जिम्मेवारी गृह मन्त्रालय र सिंगो सरकारले लिँदै अपराधलाई संयोगका रुपमा मात्र नलिई जवाफदेही हुनै पर्छ । राज्यको कमजोर उपस्थितिमा आपराधिक मानसिकताले हुर्कने र खेल्ने मौका पाउने भएकाले यस्ता प्रवृत्ति निरुत्साहित गर्नका लागि राज्यको संयन्त्र र समन्वय बलियो हुनै पर्छ ।

शृङ्खलाबद्ध अपराध बढ्दै गर्दा सिंगो प्रहरी संगठनप्रति नै जनविश्वास गुमेका कारण नै हुनुपर्छ, प्रहरी समुदाय साझेदारी कार्यक्रम देशभर लागू गरिएको जस्तो देखिन्छ । यसले समुदायसँग प्रहरीको विश्वास आर्जन गर्न सहज हुने अपेक्षा गर्न सकिन्छ । यसअघि पनि जनतासँग सम्बन्ध बलियो पार्न प्रहरीले मुस्कानसहितको ‘प्रहरी सेवा र प्रहरी मेरो साथी’ अभियान सञ्चालन गरेको थियो । केही ठाउँमा मुस्कानसहितको सेवा प्रदान गरे पनि अधिकांश ठाउँमा प्रहरीले समुदायलाई चिढाउने काम पनि ग¥यो । शान्ति सुरक्षा कायम गर्नका लागि प्रहरी र समुदायको उत्तिकै भूमिका रहन्छ । त्यसैले जनतालाई बर्दीविनाको प्रहरी भन्ने गरिएको हो । समाजलाई आतंकित बनाएर होइन, विश्वास जितेर प्रहरीले शान्ति सुरक्षा कायम गर्न सक्छ, सक्नुपर्छ ।

प्रहरीसँग समुदाय तर्सिने र प्रहरीको अभियानमा समुदायको असहयोग रहने हो भने कहिल्यै पनि शान्ति सुरक्षा कायम हुन सक्दैन । सत्यम्, सेवा, सुरक्षणम्को मूल नारा बोकेर देश र जनताको रक्षार्थ शपथ खाएका प्रहरीको भूमिका स्थानीयस्तरमा न्यायाधीशसरहकै हुन्छ । गम्भीर प्रकृतिका आपराधिक घटनालाई सामान्यीकरण गर्ने, फितलो अनुसन्धान गर्ने, लाभ र लोभमा प्रमाण लुकाउने, नष्ट गर्ने, अपराधीलाई उन्मुक्ति दिने, शक्तिको आडमा दोषीलाई छुट्कारा दिने, गलत आचरण गर्नेजस्ता प्रहरीका कमजोरीले जनतामा विश्वास गुम्न जान्छ । अपराध नियन्त्रणमा प्रहरीको कार्यशैलीप्रति प्रश्न उठिरहेको सन्दर्भमा प्रहरीले समुदायस्तरमा जुन कार्यक्रम ल्याएको छ, त्यो समय सान्दर्भिक छ । तर, समुदायसम्म पुग्ने यस अभियानलाई प्रभावकारी बनाउन पहिले प्रहरीले नै आफ्ना कमजोरी सुधार्नुपर्छ । जनतासँग सहकार्य गरेर अघि बढ्दा पक्कै पनि अभियान सफल हुनेमा शंका छैन ।

समाजलाई अपराधमुक्त बनाएर अमनचयन कायम गर्न जनता पनि उत्तिकै जिम्मेवार हुनुपर्छ । प्रहरीले राम्रो अभियान चलाए पनि केही गलत आचरण भएका प्रहरीका कारण सिंगो संगठन बदनाम हुँदै आएको छ । शान्ति सुरक्षा कायम गर्न गलत आचरण भएका प्रहरीलाई कारबाही र राम्रो काम गर्नेलाई पुरस्कृत गरेर प्रहरी समुदाय साझेदारी कार्यक्रम सार्थक तुल्याउनु जरुरी देखिएको छ ।
– सूचना कार्की, टोखा ।

प्रतिक्रिया दिनुहोस्