‘वडाका मुद्धा वडामै टुङ्गो लगाउनुपर्छ’



–मचाराजा महर्जन
वडाध्यक्ष २३ वडा काठमाडौं महानगर

काठमाडौंको प्राचिन बस्ती र धेरै प्राचिन सम्पदाले ढाकिएको वडा हो काठमाडौं महानगरपालिकाको २३ वडा । स्वदेशी÷विदेशी पर्यटकको चहल–पहल भइरहने यो क्षेत्रमा धेरै साँघुरा गल्ली र बाक्लो जनघनत्वले वडा व्यवस्थित देखिदैन ।

तर स्थानीय तहमा निर्वाचित प्रतिनिधीले जिम्मेवारी सम्हालेसँगै धेरै समस्या समाधान उन्मुख भइरहेको र केही वर्षभित्रै वडाले स्वरुप बदल्ने सो वडाका वडाध्यक्ष मचाराजा महर्जन बताउँछन् । उनै महर्जनसँग नेपाल समाचारपत्रले गरेको कुराकानीको सारसंक्षेप ।

एक वर्षको अवधिमा स्मरणीय काम के के भए ?
वडाको जिम्मेवारी सम्हालेको एक वर्ष पुरा भएको छ । खास गरी चुवावको समयमा गरेको वाचा र प्रतिवद्धतालाई मुख्य प्राथमिकतामा राखेको छु । निर्वाचनको समयमा विभिन्न ३७ वटा विषयमा प्रतिवद्धता जनाएको थिए, त्यस मध्ये २८ वटा जति कार्यान्वयन भइसकेका छन् । वडाबासीको माग र चाहना अनुसार वडाका सामाजिक विषय र विकास निर्माणका कामलाई प्राथमिकता दिइएको छ । ढल निकासको समस्या एक वर्षमा ५०÷६० प्रतिशत सम्पन्न भएको छ, बाँकी यही आर्थिक वर्षमा सम्पन्न हुँदैछ ।

सामाजिक सुधारका लागि वडाका महिलाको क्षमता अभिवृद्धि, बालबालिकाको शैक्षिक गुणस्तर सुधार्न र जेष्ठ नागरिकका लागि ‘डे केयर’को व्यवस्था सहित धार्मिक स्थलको भ्रमण गराउने काम गरेका छौ । डे केयरको सुविधा अहिलेलाई वडा कार्यालयमा व्यवस्था गरिएको छ, धार्मिक प्रवचन, स्वास्थ्य परीक्षण जस्ता सुविधा उपलब्ध हुन्छ ।

धार्मिकस्थलको भ्रमण कहाँ गराउनुभयो ?
बुढानिलकण्ठ, डोलेश्वर, बज्रबराही र काठमाडौं आसपासका धार्मिक स्थलको भ्रमण गराउने गरेका छौ । ७० वर्ष भन्दा माथिका जेष्ठ नागरिकलाई निशुःल्क सवारी र अन्य सुविधा सहित धार्मिक भ्रमण गराउने व्यवस्था गरिएको छ । हरेक ३÷३ महिनामा धार्मिक भ्रमण लाने गरिएको छ, जेष्ठ नागरिकहरुलाई काठमाडौं उपत्यका बाहिर लान व्यवहारिक नहुने भएकाले टाढा लगिएको छैन ।

जनगुनासो कस्ता विषयमा बढी हुन्छ ?
सामाजिक विषयको गुनासो बढी हुन्छ । सडक र टोल सरफाई, सडक वत्ति र ढल निकासको समस्या भयो भन्ने वडाबासीको गुनासो हुन्छ । केही दिन अघिदेखि सरकारले कर बढाएको विषयमा पनि गुनासो बढेको छ, के–के शीर्षकमा बढ्यो, किन बढ्यो, कति तिर्नुपर्ने हो भन्नेमा उहाँहरुको चासो छ ।

करको बारेमा खासगरी फेसबुक जस्ता सामाजिक सञ्जालबाट नकारात्मक सन्देश सम्प्रेषण भइरहेको छ, यसबारेमा वडाबासीलाई यसबारेमा सम्झाउने र प्रष्ट्याउने काम भइरहेको छ । २ आना वा सो भन्दा कम क्षेत्रफलमा भएका घर जग्गामा करको व्यवस्था विगतमा भन्दा कम छ । यति सानो क्षेत्रफलमा घर भएका वडाबासी धेरै हुनुहुन्छ, त्यस्ता व्यक्तिहरुका लागि करको बोझ बढेको छैन । २३ वडा भित्र अहिले एकै स्थानमा मात्रै फोहोर संकलन हुँदैछ, कसरी भित्री चोक र गल्लीमा त्यसलाई व्यवस्थित गर्न सकिन्छ भन्ने बारेमा पनि काम गरिरहेका छौ ।

तपाईको वडाबासीको पहिचान विवरण तयार छ ?
यस अघि २०५२मा यस्तो प्रोफाइल बनेको थियो, त्यसैलाई आधार बनाएर नयाँ प्रोफायल तयार हुँदैछ । यो काम यही वर्ष शुरु हुँदैछ । यसो गरियो भने सम्पन्न, मध्यम र विपन्न परिवार छुट्याउन, आर्थिक र शैक्षिक स्तर थाहा पाउन सजिलो हुन्छ । विपन्न र आर्थिक अवस्था कमजोर भएका घर परिवारलाई के कस्तो सहयोग गर्न सकिन्छ भन्ने योजना बनाउन सजिलो हुन्छ ।

२३ वडाको कार्यसम्पादन अन्य वडा भन्दा कुन रुपमा भिन्न छ ?
वडामा विभिन्न दलका सदस्य समेत हुनुहुन्छ, एक जना राप्रपा एक जना काँग्रेस र अन्य तत्कालिन एमालेबाट निर्वाचित प्रतिनिधी छौ । तर कसैलाई विभेद नगरी कामको बाँडफाँड गरिएको छ । सदस्यहरुलाई तोकिएको जिम्मेवारीमा हस्तक्षेप भएको छैन । अनि अर्को महत्वर्पूण काम भनेको मुद्धा मामिला अदालत पु¥याउने होइन, हामी वडास्तरमै समाधान गर्ने प्रयासमा छौ । विगत एक वर्षको अवधिमा यो वडाका ३०÷३२ मुद्धा मध्ये २८÷२९ वटा वडाको मेल मिलाप केन्द्रले टुङ्गो लगाएको छ ।

तपाईको कार्यकाल स्मरणीय र सफल बनाउने आगामी योजना के–के छन् ?
२३ वडा सम्पदाले भरिएको वडा पनि हो, भूकम्प र अन्य कारणले जिर्ण भएका, मर्मत संभार गर्नुपर्ने सम्पदा धेरै छन् । बसन्तपुर र हनुमानढोका भ्रमणमा आउने स्वदेशी÷विदेशी पर्यटकलाई वडाका अन्य सम्पदा समेत घुम्ने, अवलोकन गर्ने वातावरण बनाउन जुटेका छौ ।

वडाका सबै सम्पदालाई समेट्ने गरी सम्पदा प्रोफाइल बनाइरेका छौ, त्यो काम एक महिनाभित्रमा सकिन्छ । २३ वडामा १७ वटा जति वहाः र वही छन्, जोर गणेश, अट्को नारायण र कुमारीघर जस्ता ऐतिहासिक सम्पदा पनि यही छन् । त्यसैले समग्र सम्पदालाई समेटेर पर्यटकहरु सहज रुपमा वडा घुमफिर गर्न ‘निड एण्ड क्लिन’ सम्पदा मार्ग तयार हुँदैछ । स्थानीय स्तरका तालिम प्राप्त लोकल गाइडको पनि सुविधा उपलब्ध गराइने छ ।

२३ वडा भित्रैको झोछेँ त त्यति व्यवस्थित छैन भनिन्छ नि ?
केही हदसम्म यो कुरा सत्य हो । वर्षौ अघिदेखिको ‘फ्रीक स्ट्रिट’को पहिचान अझै छ, कहिले काहिँ त ‘लभ पोइन्ट’ जस्तै पनि देखिन्छ । को विदेशी को स्वदेशी पर्यटक छुट्याउँदै गाह्रो हुन्छ, पर्यटकलाई दुःख दिने जथाभावी पैसा माग्नेहरु पनि छन् । त्यस्तो गतिविधी नियन्त्रण हुनैपर्छ ।

टुरिष्ट गाइडले सत्य र विस्तृत सूचना नदिएको भन्ने गुनासो पनि आउने गरेको छ, त्यसैले तालिम प्राप्त स्थानीय गाइडको व्यवस्था हुनुपर्छ । वसन्तपुर र हनुमानढोका २३, २४, १९ र २० वडाले घेरिएको छ, झोछेँ र अन्य पर्यटक चहल–पहल हुने क्षेत्र व्यवस्थित बनाउन एक अर्को वडा वीच समन्वय जरुरी छ । झोछेँ र अन्य पर्यटकीय क्षेत्रलाई शान्त र सुरक्षित बनाउन के कसो गर्न सकिन्छ भनेर व्यवसायी र अन्तरवडा वीच छलफल पनि गर्ने गरेका छौ । पूर्वाधार सुधार गर्दै सम्पदा मार्गलाई लक्षित गरेर यही वर्षभित्र सम्पदा महोत्सव गर्ने तयारीमा छौ ।

झोछेँ लगायत आसपासका क्षेत्रमा हुने विकृति रोकथाम गर्न सीसी क्यामेराको व्यवस्था भएको छ, तर पर्यटक र नगर प्रहरीको पनि सहयोग चाहिन्छ । पर्यटक र नगर प्रहरीलाई सहयोग मागेका छौ, तर जनशक्ति अभावले होला त्यस्तो सहयोग प्राप्त भएको छैन ।

प्रतिक्रिया दिनुहोस्