कीर्तिपुरले ८६ प्रतिशत रकम विकासमा खर्च गर्यो



नेपाल समाचारपत्र
काठमाडौंं
कीर्तिपुुर नगरपालिकाले चालू आर्थिक वर्षको वैशाख मसान्तसम्ममा कुल आयको करिब ८६ प्रतिशत रकम नगरको समग्र विकासमा खर्च गरेको पाइएको छ।नगरपालिकामा जनप्रतिनिधि बहाल भएको एक वर्ष पुगेको अवसरमा बिहीबार आयोजित पहिलो वर्षको प्रगति सार्वजनिकिकरण कार्यक्रममा प्रमुख रमेश महर्जनले सो जानकारी दिनुभयो।

वैशाखसम्मको यर्थाथ आय ३८ करोड ३६ लाख १२ रहेकोमा सो सम्ममा समग्र विकासमा ३२ करोड ६२ लाख ७८ हजार रूपैयाँ खर्च गरिसकेको जानकारी दिनुभयो। स्थानीय तहमा काम अनेक असहजताका बाबजुद सबैको प्रयासमा काम गर्न सकेको उहाँले बताउनुभयो।

नगरपालिकाले चालू आर्थिक वर्षको असारसम्ममा ५७ करोड १५ लाख ५३ हजार आय अनुमानित गरिएको छ। सो अवसरमा एक वर्षमा भए गरेका मुख्य कार्यको पनि जानकारी दिइएको थियो। नगरपालिकाको आन्तरिक स्रोतबाट उच्च रक्तचाप तथा मधुमेहपीडित सामाजिक सुरक्षा भत्ता प्राप्त गरी रहेका १ हजार १ सय ६३ जना नगरबासीलाई १५ सय रूपैयँँका दरले मासिक औषधि खर्च भत्ताका रूपमा उपलव्ध गराउँदै आएको छ।

त्यसैगरी नगरपालिकाले प्लाष्टिक झोलामुक्त कीर्तिपुर नगर अभियान, २ सय ५० वटा कम्प्युटर अनुदान, पर्यटन, स्वास्थ्य लगायत विभिन्न क्षेत्रगत गुरुयोजना तथा दीर्घकालीन नीति निर्माण गरिरहेको नगरपालिकाले जनाएको छ।

त्यस्तै भूकम्पका कारण जीर्ण बनेका महत्वपूर्ण धार्मिक सम्पदाहरु आदीनाथ, जलविनायक, चिलन्चो विहारलगायतका मन्दिर, पाटी पौवा जिर्णोद्धार, ६ हजार लिटर क्षमताको पानी ट्यांकर खरिद गरिएको बताइएको छ। सो अवसरमा उपप्रमुख सरस्वती खड्काले केन्द्र र प्रदेशको कानुन अन्योलले गर्दा जनताको चाहना अनुसार काम गर्न निकै कठिनाई भएको धारणा राख्नुभयो।

प्रतिक्रिया दिनुहोस्