काठमाडौसँग जोडियो कर्णाली, सुर्खेत–काठमाडौ नियमित उडान



तस्वीरः सुर्खेत विमानस्थलमा अवतरण गदै बुद्ध एरको जहाज । प्रकाश पन्त, नेपाल समाचारपत्र, सुर्खेत

प्रकाश पन्त, बीरेन्द्रनगर ।

नयाँ वर्ष २०७५ सुरुसँगै कर्णाली प्रदेशको राजधानी सुर्खेतबाट राजधानी काठमाडौमा नियमित हवाई सेवा सुरु हुने भएको छ । आउँदो बैशाख महिनादेखि सुर्खेत काठमाडौं सिधा हवाई उडान सुरु भएको हो । बुधवार सुर्खेतमा बुद्ध एयरको ४७ सिटे मध्य जहाजले सफल परीक्षण गरेसगै सुर्खेत काठमाडौं नियमित हवाई उडानको ढोका खुलेको हो । पहिलो पटक सुर्खेत विमानस्थलमा ठूलो जहाजको अवतरण गरेको हो ।

धावनमार्गसहित अन्य प्राविधिक दृष्टिले ४७ सिटे जहाजहरु सहजतापूर्वक अवतरण हुने भएकोले बुद्ध एयरले बैशाख १ गतेदेखि सुर्खेत काठमाडौं नियमित सिधा उडान गर्ने जनाएको छ ।

बुधवार विहान १० बजे बुद्ध एयरको ४७ सिट विमान प्राविधिक तथा विज्ञसहितको टोलीले सुर्खेत विमानस्थलको अवलोकन गरेको थियो । अवलोकनपछि विमानका फलाइट इन्जिनियर उदयकृष्ण श्रेष्ठले परीक्षण उडान सफल भएकोले नियमित उडान गर्न कुनै कठिनाइ नभएको जानकारी दिनुभयो ।

क्याप्टेन रञ्जनकुमार शर्माले उडानमा कुनै प्राविधिक समस्या नदेखिएको बताउनुभयो । ४७ सिटेभन्दा अझ ठूलो जहाजका लागि धावनमार्ग विस्तार गर्नुपर्ने उहाँले उल्लेख गर्नुभयो । विमानस्थल प्रमुख विनोदकुमार पन्तले बुद्ध एयरको परीक्षण उडान सफल भएपछि नियमित उडान हुनेमा आशावादी भएको बताउनु भयो ।

बुद्ध एयरको ४७ सिटे परीक्षण उडान सफल भएपछि सुर्खेतका उद्योगी व्यवसायीहरुले स्वागत गरेका छन । कर्णाली प्रदेश सरकारका मन्त्रीहरुले विमानस्थलमै पुगेर बुद्ध एयरका चालकसहितलाई स्वागत गर्नुभएको थियो ।

आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वाला, आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारी, भौतिक पूर्वाधार विकास मन्त्री खड्कबहादुर खत्री, वीरेन्द्रनगर नगरपालिका प्रमुख देवकुमार सुवेदी, उपप्रमुख मोहनमाया ढकाललगायतले स्वागत गर्दै प्रदेश राजधानीदेखि संघीय राजधानीको सिधा सम्पर्क जोडिएकोमा खुशी व्यक्त गनुभयो ।

प्रतिक्रिया दिनुहोस्