वित्तीय अनुशासन कायम गर्ने नवनियुक्त अर्थमन्त्रीको प्रतिबद्धता



नेपाल समाचारपत्र
काठमाडौं
केन्द्रीय सरकारको अर्थमन्त्रीमा डा. युवराज खतिवडा नियुक्त हुनु भएको छ। राष्ट्रियसभा सदस्यमा मनोनित हुनु भएका खतिवडालाई सांसदको सपथ खुवाउन सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको भोलिपल्ट उहाँलाई प्रधानमन्त्री केपी शर्मा ओलीले अर्थमन्त्रीमा नियुक्त गर्नुभएको हो।

राष्ट्रियसभाको यात्रामा तत्कालका निम्ति बाधा उत्पन्न भए पनि डा. खतिवडा छ महिनाका लागि ढुक्क अर्थमन्त्री हुनु भएको छ। मन्त्री नियुक्त हुँदा सांसद नभए पनि मन्त्री भएको छ महिनाभित्र सांसद चयन हुनुपर्ने कानुनी व्यवस्था रहेको छ। नेपाल राष्ट्र बैंकमा लामो समय जागिर गर्नु भएका खतिवडा गभर्नरबाट अवकाश पाउनु भएको थियो। त्यसका अलवा पटक–पटक राष्ट्रिय योजना आयोगको सदस्य र उपाध्यक्षसमेत बन्नु भएका उहाँ पछिल्लोपटक नेकपा एमालेको घोषणापत्र निर्माण र वर्तमान सरकार प्राथमिकता तय गर्ने कार्यदलमा रहनु भएको थियो।

दिल्ली स्कुल अफ इकोनमिक्सबाट मौद्रिक अर्थशास्त्रमा विधावारिधी गर्नुभएका डा. खतिवडाले सोमबार पद तथा गोपनीयताको सपथ लिनु लिनुका साथै पदभारसमेत सम्हाल्नु भएको छ। सोमबार पदभार ग्रहणपश्चात उहाँले मान्छेको क्षमता संकटको बेलामा पहिचान हुने बताउँदै आफ्नो कार्यकालमा पाँच वटा एजेन्डामा रहेको बताउनुभयो।
राज्यले निदिषर््ट गरेको नीति तथा सिद्धान्तमा रहेर वाम गठबन्धनले जारी गरेको प्रतिबद्धता पूरा गर्न बताउनुभयो। उहाँले केही नयाँ कुरा बाहेक हिजोकै कुरालाई नै निरन्तरता दिने उल्लेख गर्नुभयो। देशको आर्थिक नीति कस्तो हुन्छ भनेर अब बहस गर्नु पर्दैन। संविधानमा व्यवस्था भएअनुसारकैे आर्थिक नीतिमा चल्ने भन्दै उहाँले अहिले अर्थतन्त्रमा विकृति देखिएको छ, वित्तीय अनुशासन कायम छैन, आर्थिक क्षेत्रमा अनुशासन कायम राख्ने नै मेरो प्रतिबद्धता हो भन्नुभयो।

नवनियुक्त अर्थमन्त्री खतिवडाले भन्नुभयो–‘हामीले राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा केही प्रतिबद्धता गरेका छौं, विकाशील राष्ट्रमा लैजाने हाम्रो प्रतिबद्धता छ, त्यसलाई हामीले पूरा गर्ने छौं। सरकारले संविधान अनुसारको काम गर्नेछ। संविधानले आर्थिक विकासको लागि राज्य निजी क्षेत्र र सहकारी क्षेत्रको साझेदारीमा अगाडि बढ्ने भनेको छ त्यो अनुसार हामीले काम गर्ने हो। सरकारको केही भूमिका हुन्छ, सुरक्षा दिने काम राज्यले गर्नेछ।’

अर्थिक वृद्धिदरको इन्जिन निजी क्षेत्र हो। आन्तरिक र बाह्य लगानी परिचालन गरी अगाडि बढ्ने उल्लेख गर्दै उहाँले लगानी बढाउनको लागि लगानी बोर्डलाई क्रियाशील बनाउनुपर्ने धारणा राख्नुभयो।

‘हामीले जतिसुकै जे भने पनि अन्तर्राष्ट्रिय सहयोग र लगानीबिना उल्लेख्य प्रगति गर्न सक्दैनौं। त्यसका लागि त्यस्ता अन्तर्राष्ट्रिय सहयोग र प्रविधिलाई हाम्रो राष्ट्रिय स्वार्थ अनुकूल भित्र्याएर उपयोग गर्नुपर्छ। ऋण तिर्न सक्ने र क्षमता विकास गर्न सक्ने तथा हाम्रो अन्तर्राष्ट्रिय साख बढाउने गरी काम गर्छाै।’ खतिवडाले भन्नुभयो–‘आजै धेरै कुरा नगरौं, हामीले योजना बनाउने हो र सबैसँगै मिलेर देश बनाउने बाटोमा अघि बढ्ने हो।’

प्रतिक्रिया दिनुहोस्