‘महंगो’ हुनेभो भुकम्पपीडितका घर



नानीराम नेपाल, सिन्धुपाल्चोक ।

  • एक वर्ष अगाडी नै घर बनाउन पाएको भए सस्तोमै बन्ने रहेछ, अब त रड सिमेण्ट किन्नै नसकिने भइयो । गिटी, बालुवा नै मीटरको पच्च्सि सय पर्नथाल्यो अब घर कसरी बनाउने होला ?
  • पहिले नै घर बनाउनका लागि कामदार पाइएन, अहिले सामानको भाऊ बढ्यो । सरकारले घर बनाएनन् मात्र भन्छ, हामीलाई महंगीको मार परिरहेको देख्दैन ।

    निर्माण सामाग्रीको अवभाविक मुल्य वृद्धि भएसँगै गाउँबस्तिमा पुग्दा भुकम्पपीडितका यी यस्तै गुनासा सुनिन थालेका छन् । एकातिर पुननिर्माणको ‘डेटलाईन’ छ, अर्कातिर निर्माण सामाग्रीको मुल्य आकासिएको छ । भुकम्पको साढे दुई वर्षपछि पुननिर्माणमा जुटेका भुकम्पपीडितहरुलाई बढ्दो महंगीले थप मारमा पारीदिएको छ ।

    नीजि आवास पुननिर्माणमा जुटेका उनीहरु यतिबेला महंगीको चर्को मारमा परेका छन् । गाउँबस्तिमा एकसाथ पुननिर्माण सुरु हुँदा निर्माण सामाग्रीको मुल्य आकासिएपछि भूकम्पपीडितहरुको घर ‘महंगो’ हुने देखिएको छ ।६ महिनाअघि प्रति केजी ७६ मा खरीद बिक्रि हुँदै आएको रडको मुल्यले यतिबेला ९० नाँघेको छ । ६ महिना अघि प्रतिबोरा ८ सय हाराहारी मुल्यमा पाइने सिमेण्टको भाऊ एघार सय पुगेको छ । जस्तापातामा पनि मुल्य अस्वभाविक रुपमा आकासिएको छ । पछिल्लो ६ महिनाको अवधिमा जस्तापातामा प्रति वण्डल ५ सय भन्दा बढि मुल्य बृद्धि भएको छ ।

    ६ महिनाअघि सम्म प्रति वण्डल ८ हजारमा पाइने जस्तापाता प्रतिवण्डल ९ हजार हाराहारी पुगेको छ । प्रति मिटर पन्ध्र सयमा पाइँदै आएको गिट्टी, बालुवालाई यतिबेला २५ सयसम्म तिर्नुपर्ने देखिएको छ । जसरी पनि समयसीमा भित्रै पुननिर्माण सम्पन्न गर्नुपर्ने बाध्यताले मुल्यवृद्धिको मार सहँदै भुकम्पपपीडितहरु घर बनाइरहेका छन् । निर्माण सामाग्रीको भाऊ आकासिएसँगै पुननिर्माणमा जुटेका भुकम्पपीडितलाई प्रत्यक्ष मार परेको छ । ‘छ महिनामै महंगी बढ्यो, सामान्य किसिमको घर बनाउन नै दश लाख घटिले नपुग्ने अवस्था आयो’, बलेफी –४ फुल्पिङडाँडाका लोकनाथ पौडेल भन्छन्, –‘सामानको भाउ छोइसक्नु भएन, अब बन्ने घर महंगो हुने भए ।’

निर्माण सामाग्रीको मुल्यवृद्धि त एकातिर छँदैछ, हार्डवेयर पसलहरुबीच नै मुल्यमा एकरुपता छैन । अर्कातिर हार्डवेयर पसललेले ग्राहकै पिच्छे फरक फरक मुल्यमा निर्माण सामाग्री विक्रि गरिरहेका छन् । बजारै पिच्छे निर्माण सामाग्रीको मुल्य फरक फरक हुँदा भुकम्पीडित थप अन्योलमा परिरहेका छन् । ‘पसलमा भाऊ पनि एउटै भन्दैनन, मान्छे हेरेर घटी बढि भाऊ गर्छन्’, बाह्रविसे बजारमा भेटिएका बाह्रविसे नगरपालिका ७ घुम्थाङका धनबहादुर गुरुङ भन्दैथिए, –‘झुत्रे झाम्रे भएर आउनेलाई झन बढि भाऊ लगाउँदा रहेछन् ।’

चाडपर्वका बेला जिल्ला प्रशासनले बजार अनुगमन गर्ने गरेको भएपनि अरु समयमा बजार अनुगमन हुन सकेको छैन । मुल्य बृद्धि नियन्त्रणमा स्थानीय प्रशासनले केहि गर्न नसकेपनि निर्माण सामाग्रीको बजार भाऊमा एक रुपता हुनेथियो ।

प्रतिक्रिया दिनुहोस्