संघीय संसद्मा ४ सय ३५ कर्मचारी



नेपाल समाचारपत्र
काठमाडौं
संसद् सचिवालयले संघीय संसद्मा ४ सय ३५ कर्मचारी रहने जनाएको छ। संविधानअनुसार संसद्का प्रतिनिधिसभा र राष्ट्रियसभालाई संघीय संसद् भनिन्छ। दुवै सदनमा गरी ३ सय ३४ सांसद रहनेछन्।

प्रतिनिधिसभामा २ सय ७५ र राष्ट्रियसभामा ५९ गरी दुवै सदनमा गरी ३ सय ३४ सांसद् रहनेछन्। संसद् सचिवालयका तत्कालीन सह–सचिव सोमबहादुर थापाको संयोजकत्वको समितिले संगठन तथा व्यवस्थापन (ओएनएम) सर्वेक्षण गरी संसद् सचिवालयलाई कर्मचारीको संख्यासम्बन्धी आवश्यक विवरण बुझाएको थियो।

अर्थ मन्त्रालय र सामान्य प्रशासन मन्त्रालयका प्रतिनिधिको सहभागितामा सचिवालयले अध्ययन गरेको थियो। यसैका आधारमा सचिवालयले कर्मचारी पदपूर्ति र व्यवस्थापन गर्दै आएको छ। कर्मचारी प्रशासन शाखाका शाखा अधिकृत नेत्रप्रसाद भुसालका अनुसार अझै पनि पदपूर्ति हुन बाँकी छ। ‘लोकसेवाले नै परीक्षा लिने भएकाले प्रक्रिया चलिरहेको छ, प्राविधिक कर्मचारी नियुक्ति हुन बाँकी छ’, भुसालले भन्नुभयो– ‘बैठक बस्ने बेलासम्ममा सबै कर्मचारी आवश्यक भएकाले त्यहीअनुसार काम भइरहेको छ।’

संसद् सचिवालयमा यसअघि ३ सय ३४ जनाको दरबन्दी थियो। २०७३ को साउन १८ गते सचिवालयका महासचिवस्तरीय निर्णयले संसद् सचिवालयका सह–सचिव तथा प्रवक्ता डा. भरतराज गौतमको संयोजकत्वमा १२ सदस्यीय संघीय संसद् एवम् सचिवालय र प्रदेशसभा एवम् सचिवालयसम्बन्धी अध्ययन समिति गठन गरेको थियो। समितिले तयार पारेको प्रतिवेदन २०७४ असार ३० मा महासचिवलाई बुझाइयो।

समितिलाई दिइएको जिम्मेवारीअनुसार जनशक्ति व्यवस्थापन, चालू खर्च, संगठन संरचना, भौतिक संरचनालगयातको अध्ययन गरेर प्रतिवेदन बुझाइएको गौतमले बताउनुभयो।

सहसचिव थापाले तयार पारेको संगठन तथा व्यवस्थापन (ओएनएम) सर्वेक्षणलाई नै आधार मानेर समितिको प्रतिवेदनमा कर्मचारीको संख्या निर्धारण गरिएको प्रशासन महाशाखाका सह–सचिव सुरजकुमार दुराले जानकारी दिनुभयो। महासचिव १, सचिव४, सहसचिव १३, जना उपसचिव ५१ शाखा अधिकृत ७५ १ सय २९ जना नायब सुव्वा र २९ जना खरिदार, श्रेणीविहीन पद ६७ (सवारी चालक २० र कार्यालय सहयोगी ४७) रहेका छन्।

संसद् सचिवालय कर्मचारी प्रशासन नियमावली २०६५ को नियम (११) अनुसार, सिर्जना गरिएको पद वा रिक्त रहेको पद एक वर्षसम्म पदपूर्ति नभए स्वतः खारेज हुने व्यवस्था छ।

प्रतिक्रिया दिनुहोस्