उम्मेदवारको अन्तिम नामावली प्रकाशन, आठवटा नमुना मतपत्र सार्वजनिक



नेपाल समाचारपत्र
काठमाडौं
माघ २४ गते हुने राष्ट्रियसभाको निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको छ। करिब एक महिनादेखि तयारी थालेको आयोगले प्रदेश प्रमुखको नियुक्ति भएसँगै आफ्नो तयारीलाई तीव्रता दिएको हो।
आयोगले सोमबार उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन गरेको छ। अन्तिम नामावली प्रकाशनपछि सोमबार अपराह्न ४ बजे उम्मेदवारलाई चुनाव चिह्न वितरण गरेको आयोगका प्रवक्ता नवराज ढकालले नेपाल समाचारपत्रलाई जानकारी दिनुभयो। नामावली सार्वजनिक गर्नुअघि नेकपा एमाले र माओवादी केन्द्रको समर्थनमा बेदुराम भुसालको उम्मेदवारी फिर्ता लिने निर्णय गरेको थियो।

मनोनयनमा ९ राजनीतिक दलबाट समूहगत रूपमा महिला २६, अन्य समूहका २८, दलित १४ र अपांगता भएका व्यक्ति वा अल्पसंख्यक समुदायबाट १५ उम्मेदवारको मनोनयन दर्ता परेको थियो। यसैबीच आयोगले हिजो सोमबार नै नमुना मतपत्र सार्वजनिक गरेको छ। आयोगले समूहगत रूपमा मतदान गर्नुपर्ने मतपत्रका आठवटा नमुना सार्वजनिक गरेको हो।

यसमा महिला सदस्य निर्वाचित गर्नका लागि स्थानीय तहका प्रमुख र उपप्रमुख वा अध्यक्ष र उपाध्यक्षले मतदान गर्ने, महिला सदस्य निर्वाचित गर्नका लागि प्रदेशसभा सदस्यले मतदान गर्ने रहेका छन्। त्यसै गरी दलित सदस्य निर्वाचित गर्नका लागि स्थानीय तहका प्रमुख र उपप्रमुख वा अध्यक्ष र उपाध्यक्षले मतदान गर्ने, दलित सदस्य निर्वाचित गर्नका लागि प्रदेशसभा सदस्यले मतदान गर्ने मतपत्रको नमुना रहेका छन्।यस्तै अपांगता भएका वा अल्पसंख्यक समूदायका सदस्य निर्वाचित गर्नका लागि स्थानीय तहका प्रमुख र उपप्रमुख वा अध्यक्ष र उपाध्यक्षले मतदान गर्ने, अपांगता भएका वा अल्पसंख्यक समुदायका सदस्य निर्वाचित गर्नका लागि प्रदेशसभा सदस्यले मतदान गर्ने नमूना मतपत्र रहेका छन्।

अन्य सदस्य निर्वाचित गर्नका लागि स्थानीय तहका प्रमुख र उपप्रमुख वा अध्यक्ष र उपाध्यक्षले मतदान गर्ने र प्रदेशसभा सदस्यले मतदान गर्ने मतपत्रको नमूना आयोगले सार्वजनिक गरेको हो। निर्वाचनबाट तीन महिला, एक दलित, अपांगता भएका व्यक्ति वा अल्पसंख्यक समुदायबाट एकसहित प्रत्येक प्रदेशबाट आठजनाका दरले राष्ट्रियसभा सदस्यमा निर्वाचित हुनेछन्। ५९ सदस्यीय राष्ट्रियसभामा तीन जना भने सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनयन हुने संवैधानिक व्यवस्था छ।

प्रतिक्रिया दिनुहोस्