हाउस पुलिङ कार्यक्रम अझै अलपत्र



ईश्वरराज ढकाल, काठमाडौं

काठमाडौं महानगरपालिकाले दुई वर्षअघि शुरू गरेको हाउस पुलिङ कार्यक्रम अलपत्र परेको छ। काठमाडौं महानगरपालिकाका तत्कालीन अधिकृत रुद्र सिंह तामाङको कार्यकालयमा शुरू गरिएको सो योजना अहिले अलपत्र परेको हो। सो योजना २०७२ साल वैशाख १२ गते गएको शक्तिशाली भूकम्पबाट क्षति भएका घरलाई लक्षित गरी तयार गरिएको थियो।

४ रोपनीमा फैलिएको यस क्षेत्रमा ५४ घरपरिवार छन्। २०७२ सालको भूकम्पबाट ३६ घर पूर्णरूपमा ध्वस्त भएका थिए। ती परिवारलाई सुरक्षित व्यवस्थापन गर्न भूकम्प प्रविधि राष्ट्रिय समाजले नक्सासमेत बनाइसकेको थियो।

एकीकृत बस्ती पुनर्निर्माणका लागि ०७२ सालमै मचाराजा महर्जनको संयोजकत्वमा १३ सदस्यीय उपभोक्ता समिति बनाइएको थियो। उक्त समितिका सदस्य एवम् नेवाः जागरण मञ्चका अध्यक्ष सुजिव वज्राचार्यले कामपाले ४ करोड रुपिँया बजेट छुटइएर पनि कुनै काम नगरेको आरोप लगाउनुभयो।

‘काम शुरू गरेको भए धैरै परिवर्तन भइसक्ने थियो, लामो समयपछि योजना तयार गर्दा समस्या देखिएको छ। अब नयाँ ढंगले अघि नबढे योजना सफल हुँदैन।’ –उहाँले दाबी गर्नुभयो।

स्थानीय जनताको सहकार्यमा गठित नेपाल मण्डल एकीकृत बस्ती निर्माण अभियानले २०७२ सालको असारमा अधिकृत तामाङलाई सयवटा लालपुर्जा बुझाएको थियो। १८ वडामा दम्बोचुं लोह गल्लीका ५३, छुवीननीका ५०, विज्यापुका ५०, लंपोका ४५ र २६ वडाको सुचीकार गल्लीका ६४ स्थानीयले लालपुर्जा बुझाएका थिए। साथै तःलाछी, असन, कुनाटोल, महाबौद्ध, पांछेगल्ली, दमाइटोल, ब्रह्म टोल, वैद्य चोक, हेपुननी, दैसा, ओमबहाल, न्याखातः, पाछन्छे, महादेव मखनका स्थानीयले पनि हाउस पुलिङको माग गरेका थिए।

एक दामदेखि बढीमा दुई आनामा बनेका घरलाई हाउस पुलिङ गर्न शुरुआत गर्न लालपुर्जा बुझाएको दुई वर्ष बित्दा पनि कुनै काम हुन सकेको छैन।

कामपाले परियोजना सञ्चालन भएपछि लागतको २० प्रतिशत रकमले भौतिक संरचना निर्माण, ढल, खानेपानी, खुला क्षेत्र, बाटो, भूमिगत पार्किङ र आकाशेपानी संकलन गर्ने योजना बनाएको थियो। अहिले भने कामपा र वडा नम्बर १८ ले उक्त योजना कार्यान्वयन गर्न लागेको देखिएको छ। किलागलको दम्बचोकमा रहेको ५४ घरपरिवारलाई लक्षित गरी हाउस पुलिङ योजनाको अनुसन्धान भइरहेको वडा नम्बर १८ का वडाध्यक्ष न्युछेकाजी महर्जनले जानकारी दिनुभयो।

‘कसैले योजना कार्यान्वयन गर्नुपर्छ भनेका छन्, कसैले ढिलो भएकाले आफै घर बनाउँछौं भनेका छन्’, उहाँले भन्नुभयो– ‘तैपनि हामी योजना कार्यान्वयनको पक्षमा छौं।’

आदिवासी, जनजातिको मौलिकता देखिने गरी सुरक्षित, व्यवस्थित, सुविधाजनक र आयमूलक बस्ती विकासको नमुना बनाउने लक्ष्यका साथ सो योजना पुनः शुरू गरिएको वडाध्यक्ष महर्जनले बताउनुभयो।

महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले गत मंसिर १० गते उक्त बडाको किलागल डब्वः ननीस्थित प्रस्तावित एकीकृत बस्ती विकास क्षेत्रको स्थलगत भ्रमण गरी तत्काल योजना शुरू गर्ने बताउनुभएको थियो।

उहाँले अब योजनाअनुसार काम अघि बढाइने बताउँदै भन्नुभयो– ‘सबै सरोकारवालासँग छलफल गरेर योजना लागू गर्न लागिपरेका छौं।’१८ वडाका अध्यक्ष महर्जनले एकै ढिक्कामा सबै घर बनाउने कि एक–एक वटा छुट्टाछुट्टै बनाउने भन्ने विषयमा छलफल गर्न बाँकी रहेको जानकारी दिनुभयो। ५४ घरपरिवार मात्रै सो योजनामा सहभागी हुने सहमति दिएको बताउँदै उहाँ पुनर्निर्माण प्राधिकरणले चासो नदिँदा झन् समस्या बढेको दाबी गर्नुभयो।

उपभोक्ता समितिका सदस्य वज्राचार्यले भूकम्पपीडितको कार्ड पाएकालाई सहुलियत र नपाएकालाई कामपाले बैंक र वित्तीय संस्थासँग ऋण उपलब्ध गराउन पहल गर्नेबारे छलफल गर्ने योजना भइरहेको बताउनुभयो।

ढल, खानेपानी, बिजुली र बाटोको व्यवस्था कामपाले गर्ने भए पनि घर बनाउन स्थानीयसँग रकम नभएकाले थप समस्या हुने देखिएको छ। कामपाको २६औं नगरपरिषद्ले हाउस पुलिङ परियोजना सञ्चालन गर्न १ करोड रुपियाँ विनियोजना गरेकेको थियो। करिब ३ सय वर्ष पुराना शहरको अस्तित्व जोगाउने हाउस पुलिङ परियोजना ल्याइएको थियो। राजधानीको भित्री शहरका करिब ७० प्रतिशत घरहरू अहिले पनि कामै नलाग्ने गरी भत्किएका छन्। तीमध्ये अधिकांश घर टेकोको सहारामा अडिएका छन्।

एक तथ्याङ्कअनुसार वडा १८ मा ३ सय ७७ मध्ये १ सय १७ घर आंशिक र बाँकी पूर्णरूपमा ध्वस्त भएका थिए। यस्तै वडा नम्बर १५ मा क्षति भएकामध्ये ७ सय ५० घर पूर्ण र १ हजार ३ सय ५० आंशिक, वडामा २६ मा २ सय ९० पूर्ण र १ सय ५० आंशिक तथा २७ वडामा २ सय घर पूर्णक्षति भएका थिए।

प्रतिक्रिया दिनुहोस्