चीन सीसीटिभीको निगरानीमा



बेइजिङ, (एजेन्सी)
चीनको सडकमा तपाईं निस्कनुभयो भने तपाईंका सबै गतिविधि सीसीटिभी क्यामराको निगरानीमा हुनेछ। केही मिनेटभित्रै प्रहरीले तपाईंको विषयमा सबै कुरा पत्ता लगाइसक्नेछ।

चीनले विश्वका सबैभन्दा ठूलो र सबैभन्दा जटिल भिडियो सर्विलेन्स नेटवर्क बनाइरहेको छ। चीनले हाललाई १४ करोड सीसीटिभी क्यामरा देशभरि जडान गरिसकेको छ। यसले देशका १ अर्ब ३० करोड नागरिकमाथि निगरानी राख्ने काम गरिरहेको छ।

आगामी तीन वर्षमा देशव्यापी ४० करोड सीसीटिभी क्यामरा थप जडान गर्ने योजनामा काम भइरहेको छ। तीमध्ये कयौं क्यामरा आर्टिफिसियल इन्टेलिजेन्स टेक्नोलोजीमा आधारित छन्। अर्थात् ती क्यामराले अनुहार पहिचान गर्न सक्छ, व्यक्तिको उमेर अन्दाज गर्न सक्छ।

क्यामराले दृश्य कैद गर्ने मात्र नभई क्यामरामा देखापरेका व्यक्ति पुरुष वा महिला पनि छुट्याउन सक्छ। यसले व्यक्तिको नस्ल पनि खुलाउन सक्छ। यसले सरकार सीसीटिभीको निगरानीमा परेका व्यक्तिको तस्वीरबाट उसको पहिचान गर्ने दस्तावेज र अन्य जानकारीसम्म पुग्न सक्छ र उसको गतिविधिमा निरन्तर निगरानी राख्न सक्छ।

सीसीटिभी प्रणालीले कुनै अनुहारलाई संदिग्धका रूपमा पहिचान गरेमा त्यसले एक कन्ट्रोल रुमसम्म त्यसको सूचना पठाउँछ र त्यसको जानकारी प्रहरीसम्म पुग्छ। बीबीसीका संवाददाता जोन सुडोर्थले चीनको गुयांग शहरमा उक्त सीसीटिभी सिस्टमको क्षमता बुझ्नका लागि एक प्रयोग गरेका थिए। उनको यो प्रयोग शुरू भएको सात मिनेटमा प्रहरी उनी भएको ठाउँमा पुगिसकेको थियो।

चीनको हांगजोस्थित एक कम्पनी दाहुआ टेक्नोलोजीका उपाध्यक्ष यिन जुनले भने– ‘हामी तपाईंको गाडीबाट तपाईंको अनुहार पहिचान गर्न सक्छौं। तपाईंको नातेदार र तपाईं कसको सम्पर्कमा रहनुभएको छ, उसको पहिचान गर्न सक्छौं। यदि धेरै क्यामरा लगाइएको छ भने, तपाईं कोसँग प्रायः भेट्नुहुन्छ, तिनीहरूको बारेमा पनि बताउन सक्छौं।’

सरकारले यसलाई अपराध नियन्त्रणका लागि प्रभावकारी हुने बताइरहेको भए पनि आम नागरिकमा यसप्रति गुनासो र चिन्ता रहेको देखिन्छ। यदि प्रहरीको मानसिकता परिवर्तन नहुने हो भने सरकारप्रति फरक विचार राख्नेहरूप्रति निगरानी बढ्न सक्छ। ह्युमन राइट्स वाचजस्ता मानवअधिकार संगठनले भने चीनको डाटा संकलन नीतिलाई प्राइभेसीको उल्लंघन बताएका छन्।

प्रतिक्रिया दिनुहोस्