सेञ्चुरी बैंकले दुई संस्था गाभ्यो



नेपाल समाचारपत्र
काठमाडौं
सेञ्चुरी कमर्सियल बैंकले अल्पाइन डेभलपमेन्ट बैंक र सेती फाइनान्सलाई प्राप्ति (एक्विजिसन) गरी एकीकृत कारोबार शुरू गरेको छ। आइतबार नेपाल राष्ट्र बैंकका गर्भनर डा. चिरञ्जीवी नेपालले एकीकृत कारोबारको शुरूआत गर्नुभएको थियो।

एकीकृत कारोबारको शुरूआत कार्यक्रममा बोल्दै गभर्नर नेपालले वाणिज्य बैंकहरूको चुक्ता पुँजी ८ अर्ब कायम गर्दा असहमति जनाउनेहरू नै अहिले चुक्ता पुँजी दोब्बर गर्नुपर्ने माग गरिरहेको बताउनुभयो। विगतमा नेपाल राष्ट्र बैंकले ८ अर्ब चुक्ता पुँजी पुर्याउँदा बढी भयो भन्नेहरू नै अहिले १६ अर्बको रुपियाँको चुक्ता पुँजीको माग गरिरहेको बताउनुभयो।

उहाँले चुक्ता पुँजी वृद्धिको योजना कार्यान्वयनमा आएपछि नेपालीको बैंक तथा वित्तीय क्षेत्रमा पहुँच ४० प्रतिशत रहेकोमा बढेर ८५ प्रशित पुगेको बताउनुभयो। उहाँले अब स्थानीय तहमा १५० वटामा मात्रै वाणिज्य बैंक खोल्न बाँकी रहेको बताउनुभयो।

चुक्ता पुँजी वृद्धिले सकारात्मक प्रभाव देखाउन रहेकाले समयअनुसार बढ्दै लाने योजना रहेको डा. नेपालले बताउनुभयो। उहाँले मुलुककको कुल गार्हस्थ्य उत्पादन २६ खर्बको रहेको र नयाँ मापदण्डले त्यसलाई बढाएर ३० अर्ब पुर्याउने योजनाअनुसार गृहकार्य भइरहेको बताउनुभयो। दुई संस्थालाई प्राप्ति गरेपछि बैंकको चुक्ता पुँजी ७ अर्ब ६८ करोड रुपियाँ पुगेको छ। बैंकले निक्षेप ४९ अर्ब रुपियाँ संकलन गरी ४५ अर्ब रुपियाँ कर्जा लगानी गरेको जनाएको छ । बैंक अध्यक्ष राजेश कुमार श्रेष्ठले अब बैंकको ८५ वटा शाखा कार्यालय पुगेको र भविष्यमा सयभन्दा बढी शाखा विस्तार गर्ने बताउनुभयो। उहाँ अब अपुग पुँजी बैंकले बोनस शेयर जारी गरी पुर्याउने योजना रहेको जनाउनुभयो।

अल्पाइनको एक सय कित्ताबराबर सेञ्चुरीको ९३ कित्ता तथा सेती फाइनान्सको एक सय कित्ता शेयर बराबर सेञ्चुरीको ७० कित्ता स्वाप रेसियो हुने गरी प्राप्ति गरेको छ। बैंक्ले चालू आर्थिक वर्षको पहिलो तीन महिनामा १० करोड ५७ लाख रुपियाँ नाफा कमाएको छ।

प्रतिक्रिया दिनुहोस्