केयूकेएलमा मनपरी,महाप्रबन्धकलाई कारबाही गर्न मन्त्रालयले अख्तियार गुहार्यो



सन्तोष खनाल, काठमाडौं
काठमाडौं उपत्यका खानेपाली लिमिटेडका महाप्रबन्धक महेश भट्टराईले संस्थामा गरेका अनियमितताहरू बाहिरिन थालेको छ। विदेश जाँदा गरेको अनियमितता र संस्थामा भएको अनियमितता गरेको भन्दै खानेपानी तथा सरसफाइ मन्त्रालयले त्यसको छानविन गर्न समेत अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई अनुसन्धान गरिदिन आग्रह गरेको छ।
काठमाडौं उपत्यकाको खानेपानी वितरणको ठेक्का लिएको काठमाडौं उत्पत्यका खानेपानी लिमिटेडका महाप्रबन्धक भट्टराईले नियमविपरीत लाखौं रुपियाँ खर्च गरेको भन्दै अख्तियारलाई पठाएको पत्रमा उल्लेख गरेको छ। उपत्यकामा खानेपानीको वितरण र व्यवस्थापन गर्ने जिम्मा पाएको केयूकेएलमा महाप्रबन्धकले गरेको अनियमितता सार्वजनिक हुँदासम्म यसअघि मन्त्रालय चुप लागेर बसेको थियो। मन्त्रालयको मातहतमा चल्ने निकायका महाप्रबन्धकले अनियमितता गर्दा पनि आफूले कानुनी दायरामा ल्याउनुको साटो अख्तियारलाई पत्र काटेर रकम कारबाही गर्न मन्त्रालयले आग्रह गरेको छ।

नेपाल समाचारपत्रले प्राप्त गरेको खानेपानी तथा सरसफाइ मन्त्रालयले अख्तियारमा पठाएको पत्रमा महाप्रबन्धक भट्टराईले करिब २३ लाख हिनामिना गरेको उल्लेख छ। भट्टराईले २०७३ जेठ २१ गते ५० हजार, असार ५ गते ३० हजार र करिब साढे २२ लाख संस्थालाई व्ययभार थपेर करिब २३ लाख अनियमितता गरेको खानेपानी तथा सरसफाइ मन्त्रालयले अख्तियारमा पठाएको पत्रमा उल्लेख गरिएको छ। मन्त्रालयका सूचना अधिकारी उपेन्द्रकेशर खनालले मन्त्रालयले पत्र केही समय पहिले पठाएको बताउनुभयो। ‘मन्त्रालय आफैंले कानुनी कारबाही गर्नुपर्ने थियो’ –उहाँले भन्नुभयो।

खानेपानी तथा सरसफाइ मन्त्रालयले गठन गरेको केयूकेएल छानविन समितिको प्रतिवेदनमा समेत भट्टराईले अनियमितता गरेको कुरा उल्लेख गरिएको छ। पुल्चोक इन्जिनियरिङ कलेजका प्राध्यापकसमेत रहनुभएका काठमाडौं उपत्यका खानेपानी लिमिटेडका महाप्रबन्धक भट्टराईले केयूकेएललाई भद्रगोल अवस्थामा पुर्याएको भन्दै विभिन्न क्षेत्रबाट विरोधसमेत हुँदै आएको छ।

काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डमार्फत् मेलम्चीको पानी काठमाडौंमा ल्याउन दातृ निकाय एसियाली विकास बैंकले लगानी गर्दै आएको छ। सर्वोच्च अदालतले पहिलो प्रतिस्पर्धीलाई अयोग्य घोषित गरेपछि माथिको ठाडो निर्देशनमा भट्टराई केयूकेएलको महाप्रबन्धक भएको बताइन्छ।

मन्त्रालयका सूचना अधिकारी खनालका अनुसार केयूकेएल अहिले बेकामजस्तै भएको छ। भट्टराईले केयूकेएलमा करिब १० बटा प्राइभेट कम्पनीलाई भित्र्याएर परामर्शदाताका रूपमा काम दिएको खुलेको छ।

मन्त्रालयले कारबाहीका लागि २ महिना पहिले पठाएको पत्रका बारेमा अख्तियारले चासो नदिनुमा रकमी चलखेल भएको हुन सक्ने स्रोतको दाबी छ। यसअघि प्रधानमन्त्री शेरबहादुर देउवाले प्रक्रिया मिचेर केयूकेएलमा प्रतिनिधित्व गर्ने सहसचिव रामचन्द्र देवकोटा र उपसचिव डोलराज उपाध्यायलाई हटाएर मन्त्रालयका सचिव भीम उपाध्याय र खानेपानी विभागका महानिर्देशक तेजराज भट्टलाई नियुक्ति दिएका थिए। काठमाडौं उपत्यका खानेपानी लिमिटेडले स्थापना भएको नौ वर्षसम्म पनि कम्पनी रजिस्ट्रार कार्यालयमा वार्षिक विवरणसमेत बुझाएको छैन।

लिमिटेडले कार्यालयमा हरेक वर्ष बुझाउनुपर्ने लेखा परीक्षण प्रतिवेदन, वार्षिक साधारणसभाको निर्णय, शेयर लगत र सञ्चालक लगत आव २०६३÷२०६४ पछि नबुझाएको भेटिएको हो। विसं २०६३ पुसमा दर्ता भएको कम्पनीले एक वर्षको विवरण बुझाएपछि कुनै विवरण बुझाएको छैन। आजसम्म लेखा परीक्षण प्रतिवेदनलगायत विवरण पेस नगरिएकाले सञ्चालक समितिबाट गरिएका सबै निर्णय अवैध मानिने सरोकारवाला बताउँछन्। ४५ करोड अधिकृत पुँजी र २.५ करोड चुक्ता पुँजी रहेको लिमिटेडमा वार्षिक रूपमा २० करोड घाटामा छ।
यता केयूकेएलमा महाप्रबन्धक भट्टराईले त्यहाँ कार्यरत कर्मचारी युनियनका नेताका शाखा सन्तानलाई जागिर दिएर राखेको पनि आरोप लागेको छ। केयूकेएलमा कर्मचारी युनियनका नेताका श्रीमती, सालासाली र भाइबहिनीसम्मले जागिर खाएका छन्।

पहुँचका आधारमा जागिर खुवाइएको स्रोतले बताएको छ। स्रोतका अनुसार ट्रेड युनियन कांग्रेसका केन्द्रीय सदस्य एवं युनियनका पूर्वअध्यक्षसमेत रहनुभएका तेजेन्द्र कार्कीले आफ्नी दिदी र सालीलाई जागिर खुवाएको बताइएको छ। ७÷८ वर्ष जापान बसेर फेरि जागिर जोड्न सफल उहाँले महाप्रबन्धक भट्टराईको सहयोगमा आफू निकट एक कर्मचारीलाई लेखा प्रमुख बनाएको स्रोतको दाबी छ। त्यसै गरी कार्यालयका कर्मचारी एवं केयूकेएलमा कार्यरत कांग्रेस निकट कर्मचारी संघका नेता सन्त बोहराले आफ्नी श्रीमती र बहिनीलाई जागिरमा लगाएका छन्।

लेखापाल दुर्गा बस्नेतले श्रीमतीलाई जागिर लगाउन सफल भएको बताइएको छ। उहाँले चावहिल र गौशालाका होटलहरूमा खानेपानीको बक्यौता महसुल उठाउँदा होटलवालासँग रकम असुल्ने गरेको समेत होटल स्रोतले बताएको छ। त्यसै गरी विष्णु अर्यालले आफ्नी श्रमती, राजेन्द्र गौतमले साली, ओम अधिकारीले सालो, श्याम खतिवडाले भाइ र सालीलाई केयूकेएलमा जागिर खुवाउन सफल भएका छन्।

प्रतिक्रिया दिनुहोस्